अमेरिकाद्वारा जासुस बेलुनको भग्नावशेष चीनलाई फिर्ता गर्न अस्वीकार

२०७९ माघ २५ गते, बुधबार


काठमाडौ । ल्याटिन अमेरिकाको आकाशमा गत शुक्रबार देखिएको ‘जासुसी बेलुन’ को भग्नावशेष चीनलाई फिर्ता गर्न अमेरिकाले अस्वीकार गरेको छ ।शुक्रबार ल्याटिन अमेरिकामा देखिएको बेलुन आफ्नो भएको स्वीकार्दै चीनले त्यसलाई विशुद्ध मानवीय प्रयोजनका लागि छाडिएको जनाएको थियो । चीनले बेलुनको भग्नावशेष उनीहरूलाई फिर्ता गरिदिनुपर्ने बताउँदै आएको छ । उक्त बेलुनको भग्नावशेष चीनलाई अमेरिकाले फिर्ता गर्न अस्वीकार गरेको बीबीसीले जनाएको छ ।
अमेरिकी सेनाले बेलुनको भग्नावशेष संकलन गरिरहेको जनाएको छ । यो बेलुन गत हप्ता अमेरिकाको मोन्टानाबाट साउथ क्यारोलिनासम्म उडिरहेको थियो । सोही विषयमा अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले देशका राष्ट्रपति जो बाइडेनको निर्देशनमा खसालिएको बताएका थिए । उनले एक विज्ञप्ति जारी गर्दै शनिबार दिउँसो अमेरिकी उत्तरी कमाण्डको लडाकु विमानले चीनले पठाएको उच्च उचाइमा रहेको निगरानी ‘जासुस बेलुन’ लाई सफलतापूर्वक खसालेको बताएका थिए । अमेरिकाले चीनमाथि यी बेलुनमार्फत जासुसी आरोप लगाएको थियो । त्यसपछि यसको निगरानीमा अमेरिकाले फाइटर जेट परिचालन गरेको थियो ।
यो बेलुन प्रकरणपछि अमेरिका र चीनबीच एक नयाँ कूटनीतिक विवाद सतहमा आएको छ । यसअघि यी दुई देशबीच आर्थिक र व्यापारिक मुद्दालाई लिएर शीत युद्ध चल्दै आएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु