पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

२०७९ माघ २२ गते, आईतवार


काठमाडौँ । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको आइतबार निधन भएको छ । ७९ वर्षको उमेरमा मुसर्रफको निधन भएको बीबीसीले जनाएको हाे । एमिलोइडोसिस रोगबाट पीडित मुसर्रफ लामो समयदेखि अमेरिकन अस्पताल दुबईमा उपचाररत थिए । मुसर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति थिए । सन् १९४३ अगस्ट ११ मा दिल्लीमा जन्मिएका मुसर्रफले सेन्ट प्याट्रिक्स हाइ स्कुल कराँचीबाट अध्ययन सुरु गरेका थिए भने लाहोरस्थिति क्रिस्चियन कलेजबाट उच्च शिक्षा हासिल गरेका थिए ।
सन् १९९९ मा रक्तपातविहीन सैनिक ‘कू’ गरेर सत्ता हत्याएका मुसर्रफलाई दुई वटा हत्याको अभियोग समेत लागेको थियो । सन् २००१ को जुनमा उनले सैन्य प्रमुख रहँदै आफूलाई राष्ट्रपति घोषणा गरेका थिए । सन् २००२ अप्रिलमा एक विवादास्पद जनमत संग्रह गराउँदै मुसर्रफ पाँच वर्षको लागि पाकिस्तानको राष्ट्रपति बनेका थिए । सन् २००७ को अक्टोबर–नोभेम्वरमा मुसर्रफले पुनः राष्ट्रपतिको चुनाव जितेका थिए । तर उनले गराएको चुनावलाई सर्वोच्चले चुनौती दियो ।
त्यसपछि उनले देशमा संकटकाल लागू गरेका थिए । उनले मुख्य न्यायाधीश जस्टिस इफ्तिखार चौधरीको ठाउँमा एक नयाँ मुख्य न्यायाधीश नियुक्त गरेका थिए । जसले उनको चुनावलाई वैधानिकता दिएकाे थियाे । सन् २००८ अगष्टमा मुसर्रफले राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । मुसर्रफमाथि पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो र रेड मस्जिदका धर्मगुरुको हत्याको अभियोग पाकिस्तानी अदालतमा रहेको छ । राजद्रोहको मुद्दामा मृत्यु दण्डको सजाय सुनाइएका मुसर्रफ पछिल्लो समय निर्वासनमा बस्दै आएका थिए।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु