भुल्न नसकिने केही पीडादायी अतितहरु

खगेन्द्र छन्त्याल २०७९ माघ २२ गते, आईतवार

कम्युनिस्ट पार्टीको सदस्य हुनुभनेको निरन्तर क्रान्तिमा सहभागी हुनु हो । एउटा क्रान्तिकारीको निम्ति क्रान्तिको स्वार्थभन्दा माथि अरु कुनै पनि स्वार्थ हुँदैन । तसर्थ निरन्तर क्रान्तिमा सहभागी हुनु भनेको व्यक्तिगत खुसी, इच्छा र चाहनाहरुलाई तिलान्जली दिनु पनि हो । एउटा क्रान्तिकारीले यी सबै बुझेको हुन्छ । तथापि मानवीय संवेदनाको कारण आफ्ना खुसी, इच्छा र चाहनाहरुलाई क्रान्तिको हितमा जवर्जस्त दवाउनु पर्दा कहिलेकाहीँ उसलाई अंशत पीडाबोध हुनु अनौठो कुरा होइन । क्रान्तिमा लामबद्ध हुँदा क्रान्तिले मागेको कोटा चुक्ता गर्ने क्रममा हजारौँ, लाखौँ क्रान्तिकारीहरुले भयङ्कर डरलाग्दा पीडा झेल्नु परेको कैयाँै उदाहरणहरु हाम्रा सामु छन् । ती सबको तुलनामा मैले भोगेका, व्यहोरेका र बोध गरेका पीडाहरु अत्यन्तै नगन्य छन् ! फेरि पनि “गाईलाई गाईकै सिङ भारि, भैँसीलाई भैँसीकै सिङ भारी” भनेझैँ आपूmले गरेको दुःख, त्याग र ब्यहोरेको पीडा सानै भए पनि आफ्नो निम्ति भारी नै हुँदोरहेछ । र, त्यसलाई जीवनभर भुल्न नसकिने रहेछ ।

०४५ सालमा तत्कालिन अखिल नेपाल युवक संघको बाग्लुङ्ग जिल्ला सदस्य थिए म । जिल्ला पार्टीले बाग्लुङ्ग कै मध्य क्षेत्रमा जिल्ला स्तरीय एक हप्ते शारीरिक बन्द प्रशिक्षण आयोजना ग¥यो । प्रशिक्षार्थीको छनौट जिल्ला पार्टीले ग¥यो, म पनि प्रशिक्षार्थीको रुपमा उक्त बन्द प्रशिक्षणमा सहभागी हुनुपर्ने भयो । मैले उक्त प्रशिक्षणको निम्ति १० दिन घर छोड्नु पर्दथ्यो । युवक संघको सदस्यता प्राप्त गरेको २ वर्ष पुगे तापनि त्यतिन्जेलसम्म पार्टी सदस्यता प्राप्त गरेको थिइन् मैले । जवसको सामान्य जिल्ला सदस्यले पूर्णकालीन बनेर हिँडिहाल्ने स्थिति पनि थिएन त्यतिबवेला । १० दिन पार्टी कामको निम्ति घर छोडेर हिँड्नु त्यतिबेला मेरो निम्ति ठूलो कुरा त थिएन । तर, ठीक त्यही १० दिन भित्रै गाउँमा आउने घुम्टे आँखा शिविरमा मेरो बाबाको आँखाको अप्रेशन निश्चित गरिएको थियो । मलाई गाह्रो भयो, के गर्ने ? के नगर्ने ? जाउँ यता बाबाको अप्रेशन, नजाउँ पार्टीको निर्देशन । एकाघरको बाबाको अप्रेशन छाडेर हिँड्नु सामान्य कुरा भएन । त्यस्तै त्यतिबेला पार्टीको निर्देशनलाई हिजोआज जस्तो हल्का ढंगले लिने स्थिति पनि थिएन । घरमा बाबा, आमा र म तीनजना मात्र थियौँ, हाम्रो पसल थियो । आमा र ममध्ये एकजनाले बाबाको रेखदेख गर्नुपर्ने र अर्को एकजनाले पसल हेर्नुपर्ने ठिक्क हुन्थ्यो । २० वर्षे लक्का जवान मबाट पार्टीले थुप्रै आशा गरेको थियो । प्रशिक्षित बनेर मैले मेरो एरियामा प्रशिक्षण चलाउनु पर्ने थियो । अन्ततः मैले प्रशिक्षणमा जाने निर्णय गरें । बाबा, आमासँग सल्लाह गर्दा बाबाले खुशीरहित सहमति जनाउनुभयो तर आमाले असहमति व्यक्त गर्नुभयो । मैले आफ्नो निर्णय परिवर्तन गरिन निर्धारित समयमै आमाको चाहना बिपरित अमिलो मन लिएर म प्रशिक्षण स्थलतिर गएँ । असहज महसुस गर्दै १० दिन पछि घर फर्किएँ । बाबाले नराम्रो भाव प्रकट गर्नु भएन तर आमाले साह्रै चित्त दुखाउनुभयो । लामो समयसम्म आमाले यो विषयमा गुनासो गरी रहनुभयो, दुखेसो पोखिरहनुभयो । आज मसँग बाबा–आमा हुनुहुन्न तर जव बाबा–आमाको याद आउँछ त्यो घटनाले मलाई निक्कै पिरोल्ने गर्दछ ।

०४६ सालको जनान्दोलनको उभारको बेला म मेरो व्यक्तिगत कामको निम्ति काठमाडौँँ जानुपर्ने भयो । पार्टीमा कुरा राख्दा काठमाडौँँमा पार्टीको सम्पर्कमा रहेर आन्दोलनमा सक्रिय हुनुपर्ने निर्देशन भयो । काठमाडौँँ पुगेर आफ्नो कामको सम्पर्कमा जानु अघि म पार्टीको सम्पर्कमा पुगें । आन्दोलनमा सहभागी हुँदै आर्क कमान्डरको अनुमतिमा आफ्नो काम पनि गर्दै गर्दा करिव ८–१० दिनमा मेरो व्यक्तिगत काम सकियो । अब म घर फर्कनु पर्दथ्यो किनकि ठिक त्यही समयमा मेरी श्रीमती सुत्केरी हुनेवाला थिइन् । त्यहीअनुसारको समय व्यवस्थापन गरी म काठमाडौँँ हिँडेको थिएँ । अस्पतालको व्यवस्था हुन नसकेको हाम्रो गाउँघरमा त्यतिबेला महिलाले आफ्नै घरमा सुत्केरी बेथा सहनु हुनुपर्दथ्यो । साह्रो–गाह्रो परेमा सुत्केरी हुँदा महिलाले अकालमा ज्यान गुमाउनु पर्दथ्यो । यो सम्झेर म छिट्टै घर फर्कन चाहन्थें । तर, आन्दोलनको राप र तापमा आर्क कमाण्डरले मलाई सकेसम्म घर नजानुस् भने । म संकटमा परें, यता पार्टी र आन्दोलनको जिम्मेवारी उता पारिवारिक जिम्मेवारी र श्रीमती माथि श्रीमान्को कर्तब्य ।

गाउँघरको स्थिति त्यसैमा मेरी श्रीमतीको पहिलो पटकको सुत्केरी बेथा । मनमा चिन्ता र पीडा निक्कै थियो तर पनि मैले आपूmलाई सम्हाल्दै आन्दोलनमै खट्ने तुरुन्तै घर नफर्कने निर्णय गरें । घरतिर बाबा, आमा र श्रीमतीलाई काम नसकिएकोले अझै २–३ हप्ता घर फर्कन नसक्ने व्यहोराको पत्र लेखी हुलाकबाट रजिस्ट्री गरें । मैले अनुमान गरेजस्तै घरतिर पत्र लेखेको करिव ३ हप्तामा आन्दोलन वारपारको अवस्थामा पुग्यो । कांग्रेस र वाम मोर्चाको संयुक्त संघर्ष समिति र हाम्रो पार्टी सम्मिलित संयुक्त राष्ट्रिय जनान्दोलनको घटक आन्दोलनमा थिए । चैत्र २४ गते संयुक्त राष्ट्रिय जनान्दोलनले आमहड्तालको घोषणा ग¥यो, लाखौँ मान्छे सडकमा आए । वास्तवमा त्यही कार्यक्रम नै पंचायतलाई परास्त गर्नको निम्ति आन्दोलनकारीहरुको अन्तिम मुक्का बन्यो, पंचायत ढल्यो । थप १–२ दिन काठमाडौँँको विजयोत्सवहरुमा सहभागी भएर म घरतिर लागें । घरतिर फर्कदै गर्दा बाटोमा छोरो जन्मिएको र आमा र बच्चा दुवै सकुशल रहेको खबर सुनें । आफ्नो कर्तब्य पूरा गर्न नसकेकोमा घरपरिवार र छरछिमेकदेखि लज्जित भएँ म ! त्यो दिन सम्झँदा आज पनि मलाई अत्यन्तै नरमाइलो अनुभूति हुन्छ ।

नेपालमा खुला वातारण बनेपछि जापानमा पनि हामीले खुला ढंगले पार्टीका गतिबिधि गर्न थाल्यौ । जापानमा तत्कालिन नेकपा (माओवादी) नजिकको दुई वटा फरक फरक खुला संगठन बन्यो । एउटा सबै गणतन्त्रवादीहरु सम्मिलित मोर्चा र अर्को माओवादी समर्थकहरुको मंच । प्रगतिशील नेपाली मंच, जापानको लगभग सवै काम मैलेनै गर्नु पर्दथ्यो । भेटघाट, छलफल, प्रशिक्षण, संगठन, निर्माण, बिस्तारदेखि बिबिध बौद्धिक तथा नेपालतिर सम्पर्क र समन्वय गर्ने काम मैलेनै गर्दथे । यही क्रममा मंचकै कामको निम्ति मैले एक हप्ता आपूmले काम गर्ने कम्पनीबाट छुट्टी लिनुपर्ने भयो । यद्यपि जापानमा बिदा लिने प्रचलन राम्रो मानिँदैन । तर, यस प्रकारको छुट्टी मैले त्यस अघि पनि पटक–पटक लिएको थिएँ । जापानमा प्रायः कामको तलव घन्टाको हिसावले पाउने भएको कारण महिनाभरि कुल कति घण्टा काम गरिन्छ, त्यही आधारमा तलव प्राप्त हुने गर्दछ । त्यसकारण कामबाट बिदा लिनुपर्दा एक काम गुमाउनुपर्ने सम्भावना एकदमै बढी हुन्छ भने अर्को आफ्नै तलव कटौती हुन्छ । फेरि पनि मंचको कामको निम्ति मैले बिदा लिनुनै पर्दथ्यो ।

मैले कम्पनीको साहुसँग कुरा गरें, उसले गाह्रो छ मात्र भनिरह्यो बढी बोलेन । अक्सर जापानी स्वभाव भनेको त्यही हो चित्त नबुझेको कुरा प्याच्च नबोल्ने, ब्यबहारबाट बोध गराउने । मैले बुझी हालें, यस पटक बिदा लियो भने मेरो निम्ति राम्रो हुँदैन । तथापि मलाई मंचको काम गर्नु नै पर्दथ्यो त्यसको निम्ति म बिदा बस्नुनै पर्दथ्यो । म बिदा बसें, मंचको कामको निम्ति गन्तब्यतिर लागें । एक हप्तापछि कम्पनी फर्केर साहूलाई भेट्न खोज्दा उसले मसँग भेट्न चाहेन । कम्पनीको म्यानेजरले एउटा बन्द खाम दियो, त्यसमा काम गरेर पाउनुपर्ने बाँकी रकम र सरी तपाईंको ठाउँमा अर्को मान्छे आइसक्यो लेखेको कागज थियो । जापानमा त्यतिबेला प्रायः बस्ने कोठाको व्यवस्था पनि कम्पनीले नै गर्ने भएको कारण काम गुम्ने बित्तिकै सेल्टर पनि स्वतः गुम्थ्यो । कम्पनीबाट निकालिएको या आफैँ निक्लेको अवस्थामा एक मिनेट पनि कम्पनीको कोठामा बस्ने अनुमति हुँदैनथ्यो । चिठ्ठी बुझेर सरासर कोठामा आई सामान पोको पारी बाहिर निक्लिवरि कोठामा चावी लगाई पुनः कम्पनी गएर म्यानेजरलाई चावी बुझाई म साथीको कोठातिर लागें । जंगलमा हराएको सियो खोजेझैँ गरी जापानमा काम खोज्नुपर्ने परिस्थितिमा मैले सहजै काम पाउने कुरै भएन । त्यतिबेला करिब ३ महिना म पूर्ण बेरोजगार भएँ । कहिलेकाहीं त्यो घटनाको सम्झनाले पनि मलाई झसङ्ग बनाउँछ ।

०७४ सालको स्थानीय चुनाव देजमोको तर्फबाट उपयोग गर्ने निर्णय पार्टीले गरेको थियो । त्यो समय म पूर्वी काठमाडौँँको कमाण्ड ईन्चार्ज थिएँ । पूर्वी काठमाडौँँमा पाँच नगरपालिका पर्दथे । ती पाँचवटै नगरपालिकाहरुको निर्वाचन परिचालनको नेतृत्व पनि मैले नै गर्नु पर्दथ्यो । हामीले टोखामा देजमोको नगर कार्यालय उद्घाटन तथा नगरपालिकाको उम्मेदवार घोषणा कार्यक्रम राख्यौँ । पार्टी महासचिवबाट नै उद्घाटन गराउने भन्ने जोड स्थानीय साथीहरुको रह्यो । जिल्ला कार्यालयसँग समन्वय गरेर सबै चाँजोपाँजो मिलाइयो । महासचिव कमरेड किरणको उपस्थितिमा हुने तथा स्थानीय चुनावसम्बन्धी देशभरकै पहिलो कार्यक्रम भएको कारण त्यसलाई शानदार ढंगले सम्पन्न गर्नु होम्रो कर्तब्य थियो । एक हप्ताको जोडदार पहलमा राम्रै तयारि भयो ।

छिमेकमा मेरो आफ्नै काका (बाबाको भाइ) सिकिस्त बिरामी हुनुहुन्थ्यो कार्यक्रमको चापले त्यतातिर ध्यान जान सकेको थिएन । कार्यक्रमको दिन बिहान सवेरैदेखि म कार्यक्रम स्थलमा सक्रिय रहेँ । कार्यक्रममा उपत्यकाभित्र रहेका स्थायी समिति, पोलिटब्युरो र केन्द्रिय समितिका सबै नेताहरुको उपस्थिति हुने भयो । हामीले कार्यक्रमको स्वरूप तयार ग¥यौँ, कार्यक्रम संचालन मैलेनै गर्नुपर्ने भयो । त्यसबीच घरबाट फोन आयो काका रहनुभएन । साह्रै नरमाइलो भयो के गरौँ ? के नगरौँ ? कार्यक्रम छोडेर जाउ त कसरी ? नजाउ त कसरी ? अन्ततः मैले कार्यक्रम छोडेर नजाने निर्णय गरें । कार्यक्रमस्थलमा कसैलाई केही भनिन्, उता भाइ (काकाको छोरा) लाई मेरो बाध्यता सुनाएँ । भाइले मेरो बाध्यता बुझ्यो र उसले यताको पीर नगर्नुस् त्यताको काम गर्नुस् भन्यो मैले त्यही गरें । मन भित्रको पीडा र जलनलाई लुकाएर मैले कार्यक्रम संचालन गरें । कार्यक्रम सभ्य र भब्य भयो त्यसले काठमाडौँँ मात्र होइन देशभर एउटा तरंग पैदा ग¥यो । काकाको परिवारसँग भेटघाट हुँदा हिजोआज सधै मलाई त्यो घटनाको सम्झनाले पिरोलिरहन्छ साथै अत्यन्तै लज्जाबोध पनि !

करिव चार वर्ष अघि पार्टीले सांस्कृतिक प्रतिरोध दिवस अनेकोट जहाँ जनयुद्धकालमा राज्यद्वारा जनकलाकारहरुको निर्मम हत्या गरिएको थियो मा नै मनाउने निर्णय ग¥यो । त्यतिवेला म काठमाडौँँ देजमोको अध्यक्ष थिएँ । काठमाडौँँबाट हामीले दुई गाडी साथीहरुको नेतृत्व गरेर जानुपर्ने थियो । ठीक कार्यक्रम कै दिन मेरो ससुराको अप्रेशन गर्ने कुरा अस्पतालले अघिल्लो साँझ जानाकारी ग¥यो । राति के गरौँ ? के नगरौँ कै बीच म निदाएँ ! बिहान सवेरै जिल्ला इन्चार्जले फोन गरेर मेरो कुरा भन्न नपाउँदै उहाँले भन्नुभयो म मेरो छोरीलाई पढाउनु पर्ने भएकोले अनेकोट जान सकिन, सेक्रेटरीले पनि जान नभ्याउनेरे ल तपाईंलेनै काठमाडौँँको टिमको नेतृत्व गरेर जानुपर्ने भयो । मैले आफ्नो कुरा नराखिकन ओके भनें । त्यसपछि मात्र मैले अनेकोट जाने निर्णय गरें, मन अमिलो हुँदै गएँ । जाने क्रममा बाटोमा थाहा भयो जिल्ला सेक्रेटरी पनि आउनु भएको रहेछ । सकेसम्म बेलैमा फर्केर अस्पताल पुग्ने इच्छा थियो । फर्कनेक्रममा बीच बाटोमा महासचिव कमरेड किरणको गाडी बिग्रेछ, हामी धेरै अघि थियौँ मलाई फोन आयो । म साथीको कारमा थिए, कार फर्काएर महासचिवको गाडी भएको ठाउँमा पुग्यौँ । साथीहरुले निक्कै मेहनत गरेर गाडी बन्यो र महासचिवलाई लिएर काठमाडौँँ फर्कियौँ । काठमाडौँँ आइपुग्दा रातिको बाह्र बजेको थियो । जसरी पनि त्यही दिन ससुराको अप्रेशन भएको अस्पतालमा पुग्ने मेरो चाहना पुरा भएन । कहिलेकाहीं सम्झदा यो घटनाले पनि नराम्रोसँग हृदय चिमोटी रहन्छ ।

प्रतिक्रियाहरु