त्रिवि चिकित्सा शिक्षामा राखिएको व्यारियर सिस्टम अवैज्ञानिक

२०७९ माघ १८ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष नरेन्द्र विकले दिव्या सिंह शाह आइओएमकी डीनमा नियुक्त हुने सिस्टम आफैंमा गलत रहेको ठोकुवा गर्दै अहिले त्रिवि चिकित्सा शिक्षामा राखिएको व्यारियर सिस्टम अवैज्ञानिक रहेको बताएका छन । चिकित्सा शिक्षा सुधार संघर्ष समितिले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष विकले सो कुरा बताएका हुन्। उपाध्यक्ष विकले त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थानको अवैज्ञानिक नीतिका कारण दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु पढाईबाट बाहिरिनुपर्ने अवस्था आएको बताउदै भने – ‘अहिले विद्यार्थीहरुलाई पढ्न रोक्ने कुरा गलत छ । अहिलेको व्यारियरको सिस्टम राखिएको छ–यो अवैज्ञानिक छ । यो खासगरी विद्यार्थीलाई पेल्नका लागि राखिएको छ । विद्यार्थी पास हुन, अगाडि बढुनभन्दा पनि विद्यार्थीलाई कसरी निकाल्ने भन्ने नियतले राखिएको छ । यो सिस्टम परिवर्तन गर्न जरुरी छ । ‘
उनले चिकित्सा शिक्षा सुधार संघर्ष समितिको आन्दोलन सही रहेको उल्लेख गर्दै आफूहरु सधैं आन्दोलनरत विद्यार्थीको पक्षमा रहेको पनि बताए ।
उक्त पत्रकार सम्मेलनमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका नेता गणेश भण्डारीले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीको समस्या समाधान नगरेर डीन शाहले विद्यार्थी राजनीति गर्ने संगठनको औचित्यमाथि प्रश्नचिन्ह खडा गरेको र आइओएमले विद्यार्थीको रंगको आधारमा शुल्क निर्धारण गरेको बताए । ‘आइओएमले विद्यार्थीहरुको रंग छुट्याउने काम गरेको छ । विद्यार्थीहरुको रंग छुट्याउने भनेर आइओएमको कुनै पनि विधानमा लेखिएको छैन । अर्को कुरा के छ भने विद्यार्थीसँग ६० लाख, ७० लाख देखि ८० लाखसम्म लिईएको छ । कि त सम्बन्धित मेडिकल कलेजलाई उहाँले पत्राचार गरेर पैसा फिर्ता गर्नुपर्छ, नत्र भने विद्यार्थीले पुरै कोर्स पढ्न पाउनुपर्छ भन्ने हो,’उनले भने ।डीन शाहले एमालेका गुण्डा लगाएर चिकित्सा शिक्षा अध्ययनका आन्दोलनरत विद्यार्थीको आन्दोलन दवाउन खोजेको आरोप लगाए ।
उक्त पत्रकार सम्मेलनमा चिकित्सा शिक्षा सुधार संघर्ष अभियानका प्रवक्ता धनबहादुर तमाङले आफूहरुले सरकारसँग ठूलो कुरा नमागेर सहज रुपमा पढ्न देउ भनेर मागेको बताए । विभिन्न विश्वविद्यालयबाट उत्पादित जनशक्ति र त्रिविबाट उत्पादित गुणस्तरमा ख्याल गर्दै सहज रूपमा अध्ययनको वातावरण मिलाउन पनि उनले सरकारसमक्ष माग गरे । चिकित्सा शिक्षा सुधारका सन्दर्भमा डिन कार्यालय र सरकारसँग विभिन्न समयमा भएका सहमति अक्षरश कार्यान्वयन हुन आवश्यक रहेको उनले आंैल्याएका छन् । त्रिविले गुणस्तरको कुरा जोडेर चिकित्सा शिक्षा अध्ययनमा विभिन्न विद्यार्थीलाई बन्देज गरेको उनको आरोप छ । साथै, चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलनमा रहेको विद्यार्थीलाई प्रहरीले धरपकड गरेकोमा उनले आपत्ति जनाए ।
त्यसैगरी, नेविसंका स्ववियु चुनाव प्रचारप्रसार संयोजक डा. सन्तोष उपाध्यायले अहिले विद्यार्थीहरुले परीक्षा दिन पाउनुपर्छ भनेर राखेको माग तत्काल सम्बोधन हुन आवश्यक रहेको बताएका छन् । गुणस्तरको कुरा उठाएर चारवटा परीक्षामा पास भएमात्रै पढ्न पाउने नियम आफैं अव्यवहारिक रहेको र अहिलेको डिनले विद्यार्थीको समस्या नबुझेको बताए ।
यसैगरी , उक्त पत्रकार सम्मेलनमा अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीका अध्यक्ष एटम विद्रोही डीन शाहले सहमति कार्यान्वयलाई बेवास्ता गरेर सहमतिलाई कुल्चिएको आरोप लगाए । विद्यार्थी संगठन एकजुट भएर आएको अवस्थामा डीन एक दिन पनि कुर्चीमा बस्न नसक्ने उनको ठोकुवा छ । उनले अहिलेको शिक्षामन्त्री शिशिर खनालले समेत आफूहरुको माग सुन्न नचाहेको भन्दै विद्यार्थीको माग सम्बोधन गर्न नसक्ने भए डीन शाह र मन्त्री खनाललाई पदमा बसिरहन कुनै नैतिक अधिकार नभएको र विद्यार्थी संगठन अब संयुक्त रुपमा आन्दोलनमा जानुको विकल्प नरहेको बताए ।

कार्यक्रमका अर्का वक्ता अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले सहमति कार्यान्वयन नहुनु आइओएम डिनको बदमासी भएको बताएका छन् । चिकित्सा शिक्षा अध्ययन संस्थाहरुको सबैको एउटै नीतिको आवश्यकत्ता रहेको उनको भनाइ छ । राज्यले मुलूकको कसरी विकास गर्न सकिन्छ र कसरी युवायुवतीलाई रोजगार दिन सकिन्छ भनेर सोच्नुको सट्टा आफ्नो भागबण्डामा रुमलिएको उनको आरोप छ । आफूहरुले पटक–पटक भीसीलाई विद्यार्थीको समस्या सुनाएपनि उनी समस्या समाधानको लागि तयार नभएको पनि गजुरेलको आरोप छ । आज शिक्षा र स्वास्थ्य क्षेत्र माफियाहरुको कब्जामा रहेको उनको आरोप छ । शिक्षा र स्वास्थ्यमा निजीकरण हुँदै माफियाहरु हाबी भएको उनको आरोप छ । आन्दोलनरत विद्यार्थीहरुको आन्दोलनमा साथ दिन आफूहरु तयार रहेको उनले प्रष्ट पारे ।
अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष मिलन राईले आन्दोलनरत विद्यार्थीहरुलाई आफ्नो संगठनबाट समर्थन रहेको बताए । डीन शाहले तानाशाही प्रवृत्ति लादेर महारानी बन्न खोजेको उनको आरोप छ ।
यसैगरी, उक्त पत्रकार सम्मेलनमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) की डिन डा. दीव्या सिंह शाहले विद्यार्थीहरुको माग सुन्न नचाहेको बताए । उनले डीन शाहले बालकोटको आशिर्वादमा विद्यार्थीको समस्या समाधान गर्नुको सट्टा धम्क्याउने काम गरेको बताउदै भने – ‘जबरजस्त ढंगले विद्यार्थीको माग सुन्न नचाहने डिन जो मान्छे छन्, बेलाबेलामा आई लभ यु बा भनेर टिकिरहेकीछन् उनी । उनीबाट बालकोटको आशिर्वादमा विद्यार्थीको समस्यालाई समाधान नगरेर विद्यार्थीलाई धम्क्याउने जुन कर्म भएको छ, त्यसको हाम्रो विद्यार्थी संगठन घोर भत्र्सना गर्दछ। ‘
उनले विद्यार्थीको समस्या नसुन्नेहरु विश्वविद्यालयको प्रशासक भएर कुर्चीमा बस्न नसुहाउने भन्दै डाक्टरलाई जनताले भगवान ठानेका र भगवानका उपमा पाएका मान्छेको समस्या समाधानमा सम्बन्धित निकाय जिम्मेवार नहुँदा भगवान भनेका मान्छे नै राक्षस बन्ने गरेको टिप्पणी गरे । ‘डा. दीव्या सिंहले जुन ढंगले विद्यार्थीलाई पीडित बनाइरहेकी छन्, जुन ढंगले विद्यार्थीको समस्यालाई नजरअन्दाज गरिरहेकी छन् । त्यसका विरुद्धमा संयुक्त विद्यार्थी संगठनका तर्फबाट हामी गतिलो झापड हान्न तयार छौं,’उनले भने । ठूला मान्छेको आडमा विद्यार्थीको समस्या सुन्न नचाहनेलाई आफूहरुले डीनको रुपमा हेर्न नचाहेको उनको भनाई छ । चिकित्सा शिक्षाका क्षेत्रमा रहेका समस्या समाधानका लागि उनले सरकारसमक्ष आग्रह गरे । चिकित्सा शिक्षा सुधारको आवाज उठाएर आन्दोलित भएका विद्यार्थीमाथि प्रहरीको दमन भएको भन्दै उनले त्यसमा पनि आपत्ति जनाए । ‘म विश्वविद्यालयका भिसी धर्मकान्त बाँस्कोटालाई पनि भन्न चाहन्छु, टुलुटुलु हेरेर बसेर किर्तीपुरको हावा खाएर तपाईं बस्न पाउनुहुन्न । त्यो चिसो हावामा अब तातो मिसिँदैछ । तपाईंले ख्याल गर्नुहोला,’उनले भने । विद्यार्थीको समस्या समाधान गर्न बाहिर बोलेको जस्तो सहज नभएको भन्दै उनले नवनियुक्त शिक्षामन्त्री शिशिर खनाललाई चिकित्सा शिक्षाको सुधारमा ध्यान दिन आग्रहसमेत गरे ।
‘म दिव्या सिंहलाई अनुरोध गर्न चाहन्छु, तानाशाही राज्य व्यवस्था हटेको उहिल्यै हो । तपार्इँ महारानी बन्ने प्रयत्न नगर्नुहोस । ज्ञानेन्द्रको अस्तित्व आज नामेट छ । तपाईंको पनि अस्तित्व नामेट हुनसक्छ,’उनले भने ।
साथै, विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्न उनले डीन शाहलाई आग्रह गरे । व्यारियर सिस्टम विद्यार्थीमा लाग्दै गर्दा पढाउने प्राध्यापकलाई पनि त्यो सिस्टम लागु हुनुपर्ने उनको माग छ ।
सो कार्यक्रममा प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष एवं रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले चिकित्सा शिक्षाको समस्या समाधान गर्नको लागि विद्यार्थी संगठनहरुको भूमिका प्रभावकारी नभएको भन्दै यसमा उनीहरुपनि चुकेको टिप्पणी गरे । ‘तपार्इंहरु किन संयुक्त रूपमा विद्यार्थी उतार्न सक्नुहुन्न? तपार्इंहरुले सहमति कार्यान्वयन गराउन जसरी पत्रकार सम्मेलन गरिरहनुभएको छ । यो पत्रकार सम्मेलन गरेरमात्र हुँदैन । एक्सनमा उत्रिनुहोस। डिन कार्यालयमा जानुस्। डिनले मानेनन् भने एउटा विकल्प खोज्नुस् न । विद्यार्थीको माग ठूलो होइन । हाम्रो राज्य संयन्त्रको सबैभन्दा ठूलो कमजोरी सम्झौता गर्ने अनि भएको सम्झौता कार्यान्वयन नगर्ने, सहमति गर्ने कार्यान्वयन नगर्ने परम्पराले तपाईहरु यहाँ आएर आक्रोश पोखिरहनुभएको छ,’ उनले भने ।
तत्कालीन् माओवादी र सरकारबीच भएको १२ बुँदे सम्झौतादेखि अहिलेसम्मका कुनैपनि सम्झौता पूर्णरुपमा कार्यान्वयन नभएको उनको दाबी छ । धमलाले चिकित्सा शिक्षा सुधारका लागि सहमतिपत्रमा सहस्ताक्षर गरेका सबै विद्यार्थी संगठनलाई संयुक्त रुपमा डिन कार्यालयमा गएर वार्ता गर्नको लागि आग्रह गरेका छन् । वार्ताको लागि सरोकारवाला निकाय समहति नभए आन्दोलनको घोषणा गर्न पनि उनको सुझाव छ । चिकित्सा शिक्षा सुधारको लागि आफूले सञ्चालन गर्दै आएको जनता जान्न चाहन्छन् कार्यक्रममा बहस गर्न तयार रहेको धमलाको भनाई छ । आफू चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलनरत विद्यार्थीलाई साथ दिन तयार रहेको उनको भनाई छ । चिकित्सा शिक्षा सुधारका लागि डीनलाई भेटेर आग्रह गर्ने पनि उनले जनाए । डीन शाहलाई तत्काल विद्यार्थीको माग सम्बोधनका लागि पनि उनले आग्रह गरे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु