समाजवादी सत्ता र अधिनायकत्वबारे

२०७९ माघ १७ गते, मंगलवार

प्रत्येक क्रान्तिको आधारभूत प्रश्न राज्यसत्ताको प्रश्न हो । यो प्रश्नलाई बुझिएन भने क्रान्तिमा बुद्धिमतापूर्ण सहभागिता हुन सक्दैन, क्रान्तिको अगुवाई गर्ने त कुरै छोडौँ ।

– भी. आई. लेनिन, द्वैध सत्ता, छानिएका रचनाहरू, भाग २

शिलु सी

जो क्रान्तिदेखि डराउँछन् र सत्ता प्राप्त गर्नको लागि सर्वहारावर्गको नेतृत्व गर्न चाहँदैनन्, तिनीहरूका लागि क्रान्तिमा सर्वहारावर्गका सहयोगीहरूको प्रश्न चासोको प्रश्न बन्न सक्दैन, तिनीहरूको लागि सहयोगीको प्रश्न बेवास्ताको प्रश्न रहन्छ, कुनै तत्कालिक महत्वको नभएको प्रश्न रहन्छ ।

– स्टालिन, लेनिनवादका आधारहरू

जब आदिम साम्यवादको पतन भयो र निजी स्वामित्वको उदय भयो, त्यही समयदेखि निजी स्वामित्वको रक्षाको लागि दमनका औजारहरू आवश्यक भयो । शासक वर्गले आफ्नो हैकम कायम गर्न तहगत कर्मचारीतन्त्र, अर्थव्यवस्था, दर्शन र प्रविधिमा विकास ग¥यो । हजारौँ वर्षको क्रममा राज्यसत्ताको आधुनिक स्वरूप खडा भयो । त्यसका विरुद्ध अर्थात् सत्तारुढ वर्गका विरुद्ध शोषित–उत्पीडित वर्गले कहिले सुषुप्त, कहिले खुल्लमखुल्ला त कहिले शान्तिपूर्ण र कहिले हिंसात्मक सङ्घर्ष गर्दै आयो । त्यसैले कार्ल माक्र्सले भन्नुभयो, “अहिलेसम्म अस्तित्वमा रहेका सबै समाजको इतिहास वर्गसङ्घर्षको इतिहास हो” कार्ल माक्र्स–फ्रेडरिक एंगेल्स, संकलित रचना सँग्रह भाग १, चार खण्डमा, खण्ड १, ऐरावती प्रकाशन, काठमाडौँ, पृष्ठ ४७ ।

विश्व इतिहासमा सत्तारुढ वर्गको विरुद्ध विभिन्न विद्रोहहरू हुँदै आएका छन् । ती विद्रोह र क्रान्तिहरूले राज्यसत्तालाई नष्ट पार्नुको सट्टा झन् बलियो बनाए । समुदायहरू, पार्टीहरू, शक्तिहरूबीचका सङ्घर्षहरूले एकले अर्कोलाई उछिन्दै अर्कोमाथि प्रभुत्व कायम गर्न सङ्घर्ष गरे । त्यसो गर्नु नै उनीहरूको एक मात्र लक्ष्य हुन्थ्यो । राज्यसत्तालाई अर्थात् दमनको यन्त्रलाई नष्ट गर्ने उद्देश्य उनीहरूको थिएन । त्यस प्रकारको सङ्घर्षमा कहिले सङ्घर्ष गर्ने पक्षहरू नष्ट हुन्थे अथवा समाज एक कदम अगाडि बढ्थ्यो र नयाँ अन्तरविरोधहरू विकास हुन्थे । जहाँ कहिल्यै उत्पीडितमाथिको दमन–शोषण रोकिएन ।

सर्वहारा वर्गको उदयपूर्व मानवजातिको स्थिति कस्तो थियो त ? कार्ल माक्र्स भन्नुहुन्छ, “स्वतन्त्र नागरिक, घरानीया मानिस र साधारण प्रजा, सामन्त र भूदास, निपूर्ण कालिगढ र सिकारु कालिगढ अर्थात् संक्षेपमा उत्पीडक र उत्पीडित निरन्तर नै एक अर्काको विरोधी रहेका थिए । उनीहरू कहिले लुकिछिपी त कहिले खुला रूपमा परस्पर सङ्घर्ष गर्दै रहन्थे । यस्तो लडाइँ हरेक पटक कि पुरै समाजको क्रान्तिकारी पुनर्गठनद्वारा कि त सङ्घर्षरत वर्गहरूको पूर्ण विनाशद्वारा समाप्त हुन्थ्यो” (उही, पृष्ठ ४८) । पुँजीपति र सर्वहारा वर्गको बीचमा सङ्घर्ष साम्यवादीहरूको उपज वा देन होइन । यो त वर्गीय समाजको जन्मदेखि हुँदै आएको छ । अथवा पुँजीपति र सर्वहारा आजको पुँजीवादी युगका उत्पीडक र उत्पीडित वर्गहरू हुन् । यिनीहरूको बीचमा इतिहासमा सङ्घर्ष निरपेक्ष थियो । यस समाजको अन्त्य रक्तपातपूर्ण तरिकाले भयो र सामन्ती समाजको उदय भयो । सामन्तीसत्ता दास मालिकत्वको सत्ताभन्दा प्रगतिशील थियो । सामन्ती सत्ता र पुँजीवादी सत्ताको बीचमा पटक–पटक हिंसात्मक सङ्घर्ष भए । सामन्तवादको तुलनामा पुँजीवाद उत्पादक शक्तिको अनुकूल थियो । अन्ततः सामन्ती सत्ता ढल्यो र पुँजीवादी सत्ता सत्तारुढ भयो । त्यसैले वर्गीय सत्ता परस्पर विरोधीवर्गहरूबीचमा आपसी शत्रुतापूर्ण सङ्घर्ष समाज विकासको नियम हो । जसरी पुँजीवादी सत्ता युगको आवश्यकता थियो, त्यसरी नै समाजवादी सत्ता पनि अनिवार्य छ ।

पुँजीवादीहरू र संशोधनवादीहरूले समाजवादी क्रान्तिमा बल प्रयोगको सिद्धान्त र सर्वहारा अधिनायकत्वको विरुद्ध आक्रमण केन्द्रित गरेका छन् । तर, सत्तारुढ वर्गको जनदमनको यन्त्रको रूपमा रहेको सत्ता सधैँको लागि खारेज गर्न निश्चित संक्रमणकालबाट गुज्रनुपर्दछ । जुन समाजवादी सत्ता हो । समाजवादी सत्ताले पुँजीवादी सत्ता र अधिनायकत्वलाई फर्कने सम्भावनालाई सधैँको लागि अन्त्य गर्नेछ । त्यो चरणमा पुगेपछि सत्ताको आवश्यकता नै हुनेछैन र मानव समाज साम्यवादमा पुग्नेछ । कार्ल माक्र्सले आफ्नो प्रसिद्ध रचना ‘गोथा कार्यक्रमको आलोचना’मा भन्नुभएको छ, “पुँजीवादी र कम्युनिस्ट समाजको बीच एकबाट अर्कोमा क्रान्तिकारी रूपान्तरणको समय आउँछ । त्यसको साथसाथै राजनीतिक संक्रमणको समय पनि आउँछ, जसमा राज्यसत्ताको रूप सर्वहारा वर्गको क्रान्तिकारी अधिनायकत्वबाहेक अरु केही हुन सक्दैन ।”

महान् बहस, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको आमकार्यदिशामाथि भएको विचारधारात्मक बहसको मुख्य दस्तावेज, पृष्ठ २५, अन्तर्राष्ट्रिय प्रकाशन, १९९८, हिन्दी संस्करण, मुजफ्फर नगर

सन् १९०७ मा मेरिडले न्युजेइट ९ल्भगभशभष्त० नामक अखबारमा बेइडमेयरको नाममा लेखेको पत्रको सन्दर्भ उल्लेख छ । ५ मार्च १८५२ को सो पत्रमा माक्र्स भन्नुहुन्छ, “मेरो हकमा भन्ने हो भने आधुनिक समाजमा वर्गहरुको विद्यमानताको उद्घाटन गर्ने श्रेय मलाई छैन” न त यी वर्गहरुबीच पारस्परिक सङ्घर्षको उद्घाटन गरेको श्रेय नै मलाई छ । मैलेभन्दा धेरै पहिले नै पुँजीवादी इतिहासविद्हरुले यस्तो वर्गसङ्घर्षको ऐतिहासिक विकासक्रमको व्याख्या गरिसकेका थिए । पुँजीवादी अर्थशास्त्रीहरुले वर्गहरुको आर्थिक संरचना पत्तालगाई सकेका थिए । मैले थपेको नयाँ कुरा के छ भने– १) वर्ग सङ्घर्षको विद्यमानता मात्र उत्पादन विकासको निश्चित ऐतिहासिक चरणसँग सम्बन्धित छ । २) वर्ग सङ्घर्षले अनिवार्यत सर्वहाराको अधिनायकत्वतर्फ डो¥याउँछ । ३) यो अधिनायकत्व स्वंयम् सबै वर्गहरुको उल्मुलन तर्फको संक्रमण हो” ।

समाज विकासको द्वन्द्ववाद (ऐतिहासिक भौतिकवाद) अनुसार सत्ता निरंकुश सामन्तवादबाट पुँजीवादी लोकतन्त्र, पुँजीवादबाट सर्वहारा जनतन्त्र र सर्वहारा जनतन्त्रपछि लोकशाहीरहित वा अधिनायकत्व बिनाको सत्ता (साम्यवाद)मा मानव समाजको विकास हुन्छ । यो ऐतिहासिक कालखण्डमा सर्वहारा अधिनायकत्वले सर्वहारा सत्तालाई सुदृढ गर्दछ । माक्र्सवाद र त्यसपूर्वका सबै विद्रोह, क्रान्ति र विचारधाराले निजी स्वामित्वको उदयदेखि सुदृढ हुँदै आएको उत्पीडक सत्तामा आपूmलाई समायोजन गर्दै आए । सत्ताको आधारभूत चरित्र बदल्न सकेनन् । परिणाममा सत्ताको निरंकुश चरित्र झन् बढ्दै आयो । कार्ल माक्र्सले ‘लुइ बोनापार्टको अठारौँ ब्रुमेर’ मा भन्नुभएको छ, “सबै सत्ता परिवर्तनहरूले राज्ययन्त्रलाई नष्ट पार्नुको साटो यसलाई परिष्कृत तुल्याएका छन्”

कार्ल माक्र्स–फ्रेडरिक एंगेल्स, रचनासँग्रह, खण्ड १, पृष्ठ २४१, ऐरावती प्रकाशन प्रा. लि., काठमाडौँ ।

सन् १८४८–१८५१ को बीचमा फ्रान्समा भएको घटनालाई हेरेर माक्र्स यस्तो निष्कर्षमा पुग्नुभएको थियो । शोषक वर्गको हितको रक्षा गर्ने सत्ताले मुठ्ठीभर शोषक वर्गको स्वार्थ पूर्ति गर्छ र बहुसंख्यामा रहेका श्रमिक, किसान र जनताको शोषण–उत्पीडन गर्दछ । सर्वहारा वर्गको नेतृत्वको समाजवादी सत्ताले मजदुर, किसान र सबै उत्पीडित जनसमुदायका हितहरूको रक्षा गर्छ । त्यसैले समाज विज्ञानको कुरा गर्दा अथवा क्रान्तिको विषयमा बहस गर्दा सत्ताको प्रश्न आधारभूत प्रश्न हुन्छ । भी. आई. लेनिन भन्नुहुन्छ, “प्रत्येक क्रान्तिको आधारभूत प्रश्न राज्यसत्ताको प्रश्न हो । यो प्रश्नलाई बुझिएन भने क्रान्तिमा बुद्धिमतापूर्ण सहभागिता हुन सक्दैन, क्रान्तिको अगुवाई गर्ने त कुरै छोडौँ” ।

लेनिन, द्वैध सत्ता, छानिएका रचना, भाग २ ।

लेनिन अझ अगाडि भन्नुहुन्छ, “शोषकहरूको प्रतिरोधलाई कुल्चन र किसान, निम्न पुँजीपति र अर्धसर्वहाराको ठूलो जनसमुदायलाई समाजवादी अर्थतन्त्रको निमार्ण गर्ने काममा नेतृत्व गर्न दुवैको निम्ति सर्वहारा वर्गलाई एउटा केन्द्रित बलको सङ्गठन, एउटा हिंसाको सङ्गठनको रूपमा राज्यसत्ताको आवश्यकता पर्दछ”

विश्व सर्वहारा वर्गका महान्् गुरुहरूका उद्धरणहरू, पृष्ठ ८४, सम्पादन– नारायण गिरी

शोषक वर्गको प्रतिक्रान्तिलाई दमन गर्न र समाजवादी सत्ताको रक्षाको लागि सर्वहारा अधिनायकत्व अनिवार्य सर्त हो । यसको अभावमा समाजवादी सत्ता टिक्न सक्दैन । कार्ल माक्र्सले १८७१ को पेरिस कम्युन ढलेपछि त्यसको कारण खोजी गर्दै सर्वहारा वर्गको अधिनायकत्व नभएसम्म समाजवादी सत्ता टिक्न नसक्ने निचोड निकाल्नुभएको थियो । त्यसैले समाजवादी सत्ता कायम गर्न र त्यसको रक्षा गर्न पनि सर्वहारा अधिनायकत्व अनिवार्य छ ।

सर्वहारा सत्ताको स्वरूप समाज विकासको चरण र अवस्थाअनुसार फरक–फरक हुनसक्छ । क्रान्तिको नेतृत्व गर्ने वर्ग र क्रान्तिका सहयोगी शक्तिले त्यसको स्वरूपलाई छिनोफानो गर्छन् । सत्ताको स्वरूपको सन्दर्भमा लेनिनले सन् १९१९ मा ‘पूर्वका विभिन्न जातिहरूका कम्युनिस्ट सङ्गठनहरूको दोस्रो अखिल रुसी काँग्रेसमा भाषण’ लेखमा भन्नुभएको थियो, “उनीहरूका लागि यो जरुरी छ कि उनीहरूले आ–आफ्नो ठाउँहरूको विशिष्टताहरूलाई हेर्नुपर्छ, साम्यवादका आम सिद्धान्तहरू र व्यवहारमा भरोषा राख्दै आपूmलाई ती विशिष्ट परिस्थितिहरू अनुकूल बनाउनुपर्छ जो युरोपीय देशहरूमा पर्दैनन्”

चिनियाँ कम्युनिस्ट पार्टीभित्र दुई लाइन सङ्घर्षको इतिहास, पृष्ठ ११९, अनुवादक– देवेन्द्र तिम्ला ।

सोभियत सत्ताको निमार्ण इतिहासको पहिलो अनुभव थियो । रुस र चीनसहितका पूर्वीय देशहरूको विशेषताहरू फरक–फरक थिए । त्यसैले पूर्वीय देशहरूमा सर्वहारा सत्ताको स्वरूप त्यहीँका क्रान्तिकारीहरूले तयार गर्नुपथ्र्यो । लेनिनले त्यस्तो कामलाई ‘विश्वका कम्युनिस्टहरूले कहिल्यै सामना नगरेको कार्य’ भन्नुभएको थियो ।

चिनियाँ क्रान्तिको नेतृत्व सर्वहारा वर्गले गरेको थियो । तर उत्पीडित किसान र ग्रामिण सर्वहारा वर्ग मुख्य शक्ति थियो । देशभक्त र राष्ट्रिय पुँजीपतिको क्रान्तिमा ऐतिहासिक भूमिका थियो । अर्थात् सर्वहारा र जनवादी वर्गहरूको संयुक्त प्रतिरोध भएको थियो । त्यसैले रुसमा भएको सर्वहारा वर्गको नेतृत्वको समाजवादी सत्ताको स्थानमा चीनमा भने ‘जनताको जनवादी सत्ता’ भनियो । सो सम्बन्धमा माओ भन्नुहुन्छ, “चिनियाँ जनताले अनेकौँ दशकमा आर्जन गरेका सबै अनुभवहरूले हामीलाई के सिकाएका छन् भने हामीले जनताको जनवादी अधिनायकत्व लागू गर्नैपर्छ, अर्थात् प्रतिक्रियावादीहरूलाई राय प्रकट गर्ने हकबाट बञ्चित गर्नैपर्छ र जनतालाई मात्र यो हक दिनुपर्छ” ।

माओत्सेतुङ, चुनिएका रचनाहरू, भाग ४, अनुवाद खगेन्द्र सँग्रौला, प्रगति प्रकाशन, काठमाडौँ ।

सन् १९४९, ३० जुनमा माओले समाजवादी सत्ताको चिनियाँ ‘मोडेल’को विषयमा यो कुरा भन्नुभएको थियो । नेपालको क्रान्तिमा मजदुर, किसान, देशभक्त, बुद्धिजीवी र मध्यमवर्ग तथा सबै उत्पीडित समुदायको सहभागिता रहनेछ । त्यसैले नेपालको समाजवादी सत्ताको स्वरूप आफ्नै मौलिकताको हुनेछ ।

अधिनायकत्वको विषय निकै महत्वपूर्ण र गम्भीर विषय हो । अधिनायकत्व भन्नासाथ पुँजीपति वर्ग र सर्वहारा वर्ग दुवैलाई आवश्यक पर्दछ । वास्तविकता यही भए पनि अधिनायकत्वको विषयलाई सकारात्मक कोणबाट भन्दा नकारात्मक कोणबाट बढी हेरिन्छ । कम्युनिस्टहरूलाई अधिनायकवादी आरोप लगाइन्छ । वास्तविकता के हो त ? कस्तो अवस्थामा अधिनायकत्वको आवश्यकता पर्दछ ? अधिनायकत्व भनेको के हो ? सो सम्बन्धमा नेपाल कम्युनिस्ट पार्टी भन्छ, “अधिनायकत्वका हकमा पनि गलत प्रचार छ । अधिनायकवादी कम्युनिस्ट होइनन् । कम्युनिस्टहरूले वैज्ञानिक समाजवादको रक्षा गर्ने विषयलाई अधिनायकत्व भनेका हुन् । त्यो भनेको श्रमिक जनताको प्रश्न हो । वास्तविकतामा अधिनायकवादी पुँजीवादीहरू हुन्छन् । उनीहरूको शासन हो, मुठ्ठीभर शासकवर्गको शासन । समाजवादमा हरेक नागरिकको राजनीतिक, आर्थिक, शिक्षा, स्वास्थ्यको अधिकार हुन्छ । तर पुँजीवादमा हुँदैन । जनतालाई अधिकार नदिने तर शासन मान्नैपर्ने व्यवस्था पुँजीवादी अधिनायकत्व हो । बीसौँ शताब्दीमा यो मान्यतालाई पकड्ने र लागू गर्नेमा कमी भएको छ । तसर्थ हामीले समाजवादमा जनवाद र अधिनायकत्वको मान्यतालाई वैज्ञानिक विधिमा ढालेर लागू गर्नुपर्दछ । समाजवादमा श्रमिक जनताले शासन सञ्चालन गर्ने प्रतिनिधि प्रत्यक्ष निर्वाचनबाट चुन्न पाउँछन् भने वैज्ञानिक समाजवादलाई जनवादको बलमा संरक्षण गर्ने अधिनायकत्व विकास गरिनेछ । यसर्थ समाजवादलाई पुँजीवादसँग तुलना गर्नै नसकिने गरी जनवादी बनाउँछ ।”

नेपाल कम्युनिस्ट पार्टी, आठौँ महाधिवेसनमा प्रस्तुत एवं पारित राजनीतिक प्रतिवेदन, २०७३, पृष्ठ ५३ ।

यो व्याख्याबाट पनि हामी अधिनायकत्व र यसको महत्वलाई बुझ्न सक्दछौँ । वर्गीय समाजमा अधिनायकत्व आवश्यक मात्र नभएर अनिवार्य हुन्छ, प्रश्न केवल पुँजीपति वर्गको अधिनायकत्व कि सर्वहारा वर्गको अधिनायकत्व भन्ने मात्रै हो । नेपालमा दलाल पुँजीवाद र जनताबीचको अन्तरविरोध प्रधान बनेको छ । यहाँ बहुसंख्यक उत्पीडित–शोषित वर्गमाथि अल्पसंख्यक (शोषक) वर्गको अधिनायकत्व लागू भइरहेकोे छ । जसको कारण अन्याय, अत्याचार, शोषण र उत्पीडन बढिरहेको छ । जबसम्म दलाल पुँजीवादी व्यवस्था रहन्छ, यसप्रकारको स्थिति रहिरहन्छ ।

सर्वहारा वर्गको पहिलो सत्ता पेरिस कम्युन असफल भयो । त्यसका अनुभवहरू ऐतिहासिक महत्वका छन् । मानव जातिको इतिहासमा पेरिस कम्युनले जुन इतिहास रच्यो त्यसले सर्वहारा वर्गलाई उत्साह थप्यो र मार्गदर्शन ग¥यो । फेरि पनि त्यो धेरै दिन टिक्न सकेन । पेरिस कम्युनको असफलताका कारणहरूबारे कार्ल माक्र्सले भन्नुभएको छ–

“१) बुर्जुवाहरूमाथि सर्वहारा अधिनायकत्व लागू नगर्नु

 २) सेना निर्माण गर्न नसक्नु

 ३) बुर्जुवा वर्गको झुठो आश्वासनप्रति विश्वास गर्नु” ।

पेरिस कम्युनको पतन लगत्तै कार्ल माक्र्सले ‘फ्रान्समा गृहयुद्ध, अन्तर्राष्ट्रिय मजदुर संघको महापरिषद्को आह्वान’ कृतिमा भन्नुभयो, “मजदुर वर्गले राज्ययन्त्रलाई कब्जा गरेर आफ्नो उद्देश्य पूर्तिका लागि जस्ताको तस्तै त्यसको उपयोग गर्न सक्दैन” ।

कार्ल माक्र्स–फ्रेडरिक एंगेल्स, रचना सँग्रह, चार खण्डमा, खण्ड १, पृष्ठ ४१, ऐरावती प्रकाशन प्रा. लि., काठमाडौँ ।

पुरानो सत्ताको नोकरशाही यन्त्र (मूलतः सेना) विघटन नगर्नु र पुँजीपति वर्गमाथि अधिनायकत्व लागू नगरेर छोड्दा फ्रान्सभित्र र बाहिरका पुँजीपतिले प्रतिक्रान्ति गरेका थिए । सर्वहारा अधिनायकत्व अत्याधिक बहुसंख्याको अत्यन्त अल्पसंख्यक पुँजीपति वर्गमाथि अधिनायकत्व हो । जबकि पुँजीवादी अधिनायकत्व अत्याधिक बहुसंख्यामाथि मुठ्ठीभरका पुँजीपति वर्गको अधिनायकत्व हो । माक्र्स र एंगेल्सले कम्युनिस्ट पार्टीको घोषणापत्रमा भन्नुभएको छ, “पहिलेका सबै ऐतिहासिक आन्दोलनहरू अल्पमतका आन्दोलन थिए, अर्थात् अल्पसंख्यक जनताको हितमा थिए । सर्वहारा आन्दोलन अत्याधिक बहुमतको हितमा हुने सचेत र स्वतन्त्र आन्दोलन हो” ।

चिनियाँ कम्युनिस्ट पार्टीभित्र दुई लाइन सङ्घर्षको इतिहास, पृष्ठ ११९, अनुवादकः देवेन्द्र तिम्ला ।

कार्ल माक्र्सको समयमा पुँजीवाद साम्राज्यवादमा पतन भइसकेको थिएन । लेनिनले पुँजीवादको साम्राज्यवादी चरणको सामना गर्नुभयो । साम्राज्यवाद भनेको युद्धको स्रोत हो । साम्राज्यवाद पुँजीवादको मरणासन्न चरण हो । हामीले यसलाई उत्तर–साम्राज्यवाद भनेका छौँ । लेनिनले साम्राज्यवादको सिक्री कमजोर भएको एउटै देशमा पनि समाजवाद स्थापना गर्न सकिन्छ, भन्नुभयो । ‘रोटी, जमिन र शान्ति’ कार्यनीतिक नारा दिनुभयो । ‘सम्पूर्ण सत्ता सोभियतलाई’ नारा सत्ताको नारा थियो । त्यही नाराको नेतृत्वमा २५ अक्टुबर १९१७ मा रुसमा समाजवादी सत्ता स्थापना भयो । लेनिन र स्टालिनको नेतृत्वमा महान्् समाजवादी सत्ता सुदृढ गरियो । लेनिन भन्नुहुन्छ, “सर्वहारा वर्गको अधिनायकत्व भनेको पुरानो समाजको शक्ति तथा परम्पराहरूको विरुद्ध एक दृढ, रक्तपातपूर्ण तथा रक्तपातहीन, हिंसात्मक तथा शान्तिपूर्ण, सैनिक तथा आर्थिक, शैक्षिक तथा प्रशासनिक सङ्घर्ष हो । करोडौँ जनताको बानी–बेहोराको शक्ति एउटा ज्यादै भयंकर शक्ति हो । त्यसैले सङ्घर्षमा खारिएर इस्पातजस्तै बलियो बनेको पार्टीको अभावमा, एक खास वर्गको सारा इमान्दार तत्वहरूको विश्वासप्राप्त पार्टीको अभावमा आम जनताको मनोभावनालाई बुझ्न र त्यसलाई बदल्न सक्ने पार्टीको अभावमा सफलतापूर्वक त्यस्तो आन्दोलन चलाउन असम्भव छ” ।

माक्र्सवादी–लेनिनववादी–माओवादी सङ्गठनात्मक सिद्धान्त, पृष्ठ ५७, रक्तिम प्रकाशन, लेनिनका संकलित रचनाहरू, भाग २५, पृष्ठ १९० ।

सर्वहारा अधिनायकत्व स्थापना गर्न, कायम राख्न र विस्तार गर्न सर्वहारा वर्गको अग्रदस्ताको रूपमा कम्युनिस्ट पार्टी आवश्यक हुन्छ भन्ने लेनिनको निष्कर्ष थियो । किनकि कम्युनिस्ट पार्टी सर्वहारा अधिनायकत्व लागू गर्ने साधन थियो । सर्वहारा अधिनायकत्व सर्वहारा वर्गबाहेक अरु कुनै गैरसर्वहारा वर्गले गर्न नसक्ने एंगेल्सको पनि धारणा थियो । उहाँ भन्नुहुन्छ, “पेरिस कम्युन (सन् १८७१) सर्वहारा अधिनायकत्व स्थापना गर्ने पहिलो अनुभवले के सिद्ध गरिदिएको छ भने सर्वहारा क्रान्ति तबसम्म सफलतापूर्वक सम्पन्न गर्न सकिन्न जबसम्म वैज्ञानिक समाजवादका सिद्धान्तहरूले निर्देशित सर्वहारा पार्टीले त्यसको नेतृत्व गर्न सक्दैन” ।

फ्रेडरिक एंगेल्स, ड्युहरिङ मत–खण्डन, पृष्ठ ७, प्रगति प्रकाशन, मास्को, १९८०, हिन्दी संस्करण ।

पेरिस कम्युनको नेतृत्वकर्ताहरूमा आदर्शवादका समस्याहरू थिए । सत्ताको प्रश्नलाई ठिक ढंगले समात्न सकेनन् । अनुभवको समस्या त थियो नै । समाजवादी क्रान्तिको सन्दर्भमा क्रान्तिकारी पार्टी अनिवार्य सर्त हो ।

चीन अर्धसामन्ती र अर्धऔपनिवेशिक देश थियो । सोभियत संघको तरिकाले समाजवादी सत्ता स्थापना गर्न सम्भव थिएन । माओ त्से तुङले माक्र्सवादलाई यान्त्रिक ढंगले होइन चिनियाँ विशेषताअनुसार लागू गर्नुपर्नेमा जोड दिनुभयो । माओ भन्नुहुन्छ, “चीनको वर्तमान चरणका निम्ति बन्न लागेको व्यवस्था चीनको इतिहासको वर्तमान चरणको उपज हुनेछ र भविष्यमा निकै लामो समयसम्म चीनमा एउटा विशेष रूपको राज्य र राजनैतिक सत्ता रहनेछ । एउटा यस्तो रूप जो रुसी व्यवस्थाभन्दा एकदम बेग्लै खालको तर हाम्रा निम्ति भने एकदमै आवश्यक र तर्कसङ्गत अर्थात् जनवादी वर्गहरूको आपसी सहयोगमा आधारित नौलो जनवादी राज्य र राजनीतिक सत्ताको रूप हुनेछ ।”

माओ त्से तुङका संकलित रचनाहरू, भाग ३, पृष्ठ १८८, अनुवादकः खगेन्द्र सँग्रौला, सिर्जनशील प्रकाशन– २०५७ ।

सोभियत संघमा १९१७ मा समाजवादी क्रान्ति सम्पन्न भयो । जसमा सर्वहारा वर्गको अधिनायकत्व थियो । चीनमा मजदुर, किसान र राष्ट्रिय पुँजीपति वर्गसमेतको सत्ता थियो । जसलाई समाजवादी सत्तापूर्वको सत्ता अर्थात् जनवादी वर्गहरूको सत्ता भनियो । जसलाई ‘नौलो जनवादी राज्य’ भनिएको थियो । क्रान्तिमा भाग लिएका वर्गहरूको सर्वहारा वर्गको नेतृत्वमा नयाँ प्रकारको संक्रमणकालीन सत्ताको परिकल्पना गरियो । माओले सर्वहारा क्रान्ति गर्नु वा राजनीतिक सत्ता कब्जा गर्नु क्रान्तिको अन्त्य नभएर सुरुवात हो भन्नुभयो । रुसमा ख्रुश्चोभको उदय र चीनभित्रै संसोधनवादको जगजगी भइरहेको बेला सन् १९६६ मा माओले महान्् सर्वहारा साँस्कृतिक क्रान्ति सुरु गर्नुभयो । साँस्कृतिक क्रान्तिमा सर्वहारा अधिनायकत्व सुदृढ गर्न थालिएको थियो । सोभियत संघको पार्टी र राज्यभित्रका विकृतिलाई लिएर लेनिनले चिन्ता व्यक्त गर्नुभएको थियो । तर लेनिनको असामयिक निधन भएकोले क्रान्तिभित्र क्रान्ति अर्थात् निरन्तर क्रान्ति सम्भव भएन । त्यो अपुरो कामलाई माओले सुरु गर्नुभयो । सो सम्बन्धमा माओ भन्नुहुन्छ, “महान्् सर्वहारा साँस्कृतिक क्रान्ति सर्वहारा अधिनायकत्वलाई सुदृढ बनाउन, पुँजीवादको पुनस्र्थापनालाई रोक्न र समाजवादको निर्माण गर्न अति आवश्यक छ र अत्यन्त समयानुकूल छ” ।

चिनियाँ कम्युनिस्ट पार्टीभित्र दुई लाइन सङ्घर्षको इतिहास, पृष्ठ १०३, अनुवादकः देवेन्द्र तिम्ला ।

सर्वहारा वर्गको सत्ता प्राप्त भइसकेपछि पनि पुँजीपति वर्गले सत्ता हत्याउने प्रयास गरिरहन्छ । समाजवाद निर्माणको काममा अवरोध सिर्जना गरिरहन्छ । निजी स्वामित्व, वर्गीय अन्तरविरोध, पछौटे उत्पादन सम्बन्ध र पुरातन चेतनाले प्रतिक्रान्तिको आधार निर्माण गरिरहेका हुन्छन् । देशबाहिरको साम्राज्यवादी घेराबन्दी र उक्साहटले प्रतिक्रान्तिलाई उर्जा दिइरहेको हुन्छ । समाजवादी सत्ता र पुँजीवादी सत्तामध्ये कसले जित्ने ? यो प्रश्न बाँकी नै रहेको हुन्छ । त्यसैले निरन्तर क्रान्ति आवश्यक हुन्छ ।

उत्पादन सम्बन्धलाई न्यायपूर्ण र उत्पादक शक्तिको विकास अनुकूल बनाउन सर्वहारा सत्ता आवश्यक हुन्छ । कम्युनिस्ट पार्टीको घोषणापत्रमा माक्र्स–एंगेल्स भन्नुहुन्छ, “बुर्जुवा वर्गले उत्पादनका साधन, सम्पति र जनसंख्याको विकेन्द्रीकरण झन् झन् कमजोर पार्दै लैजान्छ । यसले जनसंख्यालाई एकै ठाउँमा एकत्रित गरेको छ, उत्पादनका साधनहरूको केन्द्रीकरण गरेको छ र सम्पत्ति थोरैको हातमा सङ्केन्द्रीत तुल्याएको छ । यसकोे अवश्यमभावी परिणाम हो– राजनीतिक केन्द्रीकरण” ।

कार्ल माक्र्स–फ्रेडरिक एंगेल्स, रचना सङ्ग्रह, चार खण्डमा, खण्ड १, पृष्ठ ५३ ।

उत्पादनका साधन र सम्पत्तिको केन्द्रीकरणले केही ठूला व्यापारिक र औद्योगिक शहरमा जनसंख्या एकत्रित हुन्छ । त्यसले गर्दा शहरमा भौतिक र मानसिक अस्तव्यस्तता चरम हुन्छ । अभाव र असुरक्षा बढ्छ । जनसंख्याको असन्तुलनका बहुआयामिक दुष्प्रभाव आउँछन् । बसाईं सराईंले अनेक समस्या ल्याउछन् । यो समस्याले देशको सीमा नाघेर भूमण्डलीकृत रूप लिन्छ । सम्पत्ति र उत्पादनका साधन केन्द्रित भएको वर्ग र भूगोलले अन्य व्यक्ति र भूगोलमाथि शासन र शोषण गर्दछ । त्यसप्रकारको राजनीतिक केन्द्रीकरणले जनतामा असन्तोष प्रकट हुन थाल्छ । नेपालमा त्यसप्रकारको समस्यालाई टालटुल गर्ने उद्देश्यले पञ्चायती व्यवस्थाको उत्तरार्धमा ‘स्थानीय स्वायत्तता’ नारा ल्याइयो । २०४६ सालपछि त्यही नारा दोहो¥याइयो । त्यसैको निरन्तरता र नयाँ रंगको रूपमा हिजोआज ‘संघीयता’ आएको छ । उत्पादनका साधन र सम्पत्तिको केन्द्रीकरण गरेर राजनीतिक स्वायत्तता हुनै सक्दैन । त्यसको लागि सम्पत्ति र उत्पादनका साधन जनताको हातमा आउनुपर्छ । त्यसका लागि समाजवादी सत्ता अनिवार्य सर्त हो । माक्र्सवादले अर्थतन्त्रलाई समाजको आधार मान्छ । आधारमा परिवर्तन नगरी अधिरचनामा परिर्वतन हुनै सक्दैन ।

आज उत्पादनका साधन र सम्पत्ति सात औद्योगिक देश (जि सेभेन) को हातमा अति केन्द्रीकरण भएको छ । अझ अमेरिकाका केही एकाधिकार पुँजीपतिको कब्जामा छ । त्यसैले राजनीतिको केन्द्रीकरण पनि तिनै देशहरूमा केन्द्रीत भएको छ । औपचारिक अर्थमा स्वतन्त्र भन्ने देशका शासकहरू आज्ञापालक कारिन्दा भएका छन् । यसरी देशहरू पराधीन भएका छन् । उद्योग र व्यापारको राष्ट्रियकरण तथा कृषिको सहकारी हुँदै सामुहिकीकरण नगरी राजनीतिक स्वायत्तता सुनिश्चित हुँदैन ।

समाजवादी सत्ता स्थापना हुनासाथ वर्गसङ्घर्ष समाप्त हुँदैन । त्यसले लामो समयसम्म सङ्घर्षबाट गुज्रनुपर्दछ र क्रान्ति जारी राख्नुपर्छ । १४ जुन १९६३ मा चिनियाँ कम्युनिस्ट पार्टीले रुसी कम्युनिस्ट पार्टीलाई ‘विश्व कम्युनिस्ट आन्दोलनको आम दिशा’ शीर्षकमा पठाएको चिठीमा भनेको छ, “सर्वहारा वर्गले सत्ता प्राप्त गरेपछि निकै लामो ऐतिहासिक कालसम्म वर्गसङ्घर्ष मानव इच्छाभन्दा स्वतन्त्र एउटा वस्तुगत नियमको रूपमा जारी रहन्छ र सत्ता प्राप्त गर्नुभन्दा पहिलेको तुलनामा मात्र त्यसको रूप बदलिन्छ” ।

महान्् बहस, पृष्ठ २७, अन्तर्राष्ट्रिय प्रकाशन, १९९८, मुजफ्फरनगर ।

वर्गसङ्घर्ष रहेसम्म अधिनायकत्व रहिरहन्छ । समाजवादी सत्ताको आवश्यकता भइरहन्छ । पुँजीवादी वर्गले सत्ता हत्याउने प्रयास गरिरहन्छ । त्यसैले सङ्घर्षको रूप बदलिन्छ तर सङ्घर्ष रहिरहेको हुन्छ । पुँजीवादी सत्ताले शोषण र उत्पीडन बढाएर लग्छ तर समाजवादी सत्ताले वर्गीय भेदहरू घटाउन पहल गर्छ । गाउँ र शहर, महिला र पुरुष, धनी र गरिब, मानसिक श्रम र भौतिक श्रम, उच्च जाती र तल्लो जाती, काला र गोरा, अनेक शोषण र विभेदका रूपहरूलाई घटाउँदै लैजान्छ । समाजवादमा ‘हरेकले आफ्नो क्षमताअनुसार काम, हरेकलाई उसको कामअनुसारको दाम’ नीति लागू गरिन्छ । यस्तो समाजमा दक्ष श्रमिक र अदक्ष श्रमिक, उच्च अधिकारी र तल्लो तहका कर्मचारीबीचको विभेद कायम रहन्छ । उत्पादक शक्तिको पूर्ण विकास भइसकेको हुँदैन । त्यसले गर्दा पुँजीवाद र साम्यवादको बीचमा संक्रमणकालीन व्यवस्थाको रूपमा समाजवादी सत्ता आवश्यक हुन्छ । माओ त्से तुङ भन्नुहुन्छ, “सर्वहारा वर्गको अधिनायकत्व वा जनताको अधिनायकत्वलाई सुदृढ पार्नु भनेको वास्तवमा सो अधिनायकत्वको उन्मुलनको लागि र सर्वहारा राज्य व्यवस्था निर्मुल हुने माथिल्लो चरणतर्फ बढ्नको लागि अवस्थाहरू तयार पार्नु हो” ।

माओ त्से तुङका चुनिएका रचनाहरू, भाग १, पृष्ठ २७१, अनुवादकः कृष्णदास श्रेष्ठ, विविध पुस्तक भण्डार, काठमाडौँ ।

मानव जाति विश्व साम्यवादमा पुग्नेछ, त्यसका लागि उत्पादक शक्तिको पूर्ण विकास हुनुपर्छ । समाजवादी सत्ताले त्यसको लागि अनुकूलता पैदा गर्दछ । ‘हरेकले क्षमताअनुसारको काम, हरेकलाई आवश्यकताअनुसार दाम’ लागू गर्नसक्ने भौतिक अवस्थामा समाज पुग्छ । शोषणरहित समाज निर्माण हुन्छ । त्यसबेला न शोषण रहन्छ न दमन गर्नुपर्ने कारण नै रहन्छ । जनताका सामुदायिक संस्थाहरूले व्यवस्थापनको जिम्मा लिन्छन् । श्रम कार्य अस्तित्वको पूर्वसर्त मानिन्छ । स्वेच्छिक श्रम, आदर्श र आदत बन्छ । अतितमाथि वर्तमानले शासन गर्छ । त्यस्तो अवस्थामा राज्यसत्ताको औचित्य रहन्न । त्यसरी सर्वहारा अधिनायकत्वले अपूmले आफैँँलाई निषेध गरेर शोषणरहित साम्यवादी समाज निर्माणको लागि भौतिक अवस्थाहरू निर्माण गर्दछ ।

– जनक्रान्तिबाट

प्रतिक्रियाहरु