गौतम बुद्ध विमानस्थलबाट पुनःउडान सुचारु गर्ने तयारी

२०७९ माघ १६ गते, सोमबार


काठमाडौँ । भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यहि माघ १९ गतेदेखि पुनःउडान सुचारु गर्ने तयारी भएको छ । आइएलएस प्रविधि सञ्चालन नहुँदा ठप्प भएको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आउने तयारी भएको हो । मौसमी प्रतिकूलताका कारण कम भिजिबिलिटी जहाज अवतरण गर्न नसकेपछि बन्द गरिएको अन्तर्राष्ट्रिय उडान मौसममा सुधार भएमा माघ १९ गतेदेखि पुनः सञ्चालनमा आउने विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।
गत डिसेम्बर १८ तारिखसम्म अन्तर्राष्ट्रियतर्फको नियमित उडान भएको थियो । त्यसपछि मौसमी प्रतिकूलताका कारण अन्तर्राष्ट्रिय तर्फको उडान बन्द भएको थियो । उडान बन्द हुनु अगाडि यो विमानस्थलमा कुवेतको जजिरा एयरवेजले हप्ताको ३ वटा उडान गर्दै आएको थियो । कम्पनीले हाल भैरहवाबाट टिकट काटेका यात्रुलाई बस सटल गरेर काठमाडौंबाट उडान सेवा दिँदै आएको छ ।
गत नोभेम्बर ३ तारिखबाट भैरहवाबाट मलेसिया उडान गरेको हिमालय एयरलाइन्सले पनि उडान बन्द गरेको छ । भारत सरकारले जडान भइसकेको आइएलएस प्रविधि प्रयोगका लागि आधिकारिक स्वीकृति नदिएका कारण यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको हो । गत जेठ २ गते सुरु भएको विमानस्थलमा सबै सुविधा नहुँदा समस्या परेको विमान कम्पनीहरूले बताउँदै आएका छन् ।

प्रतिक्रियाहरु