‘कमरेड’ शब्दको उत्पत्ति र अर्थ

२०७९ माघ १५ गते, आईतवार


मनबहादुर सहकारी


‘कमरेड’ शब्द स्पेनिश भाषाको कामाराडाबाट आएको हो । जसको शाब्दिक अर्थ कोठामा सँगै बस्ने साथी हुन्छ । कमरेड शब्दले राजनीतिक रङ फ्रान्सेली क्रान्तिबाट पायो । समाजवादी र मजदुरहरूबीच सम्वोधन गर्नका लागि प्रिय शब्द बन्यो– कमरेड । युरोपमा कमरेड शब्द उन्नाइसौँ शताब्दीमा निकै चल्तीमा थियो । समाजवादी आन्दोलनसँगै कमरेड शब्दको प्रयोग राजनीतिक वृत्तमा व्यापक भएको हो । भारतका नेहरूदेखि नेपाली काँग्रेसका संस्थापक विपी कोइरालाका लागि कामरेड आफ्नै जातको शब्द थियो । कमरेड शब्दको साइनो रुसी भाषासँग छैन । तर, यसको विश्वव्यापीकरण र कम्युनिस्टीकरणका लागि रुसी क्रान्तिको मुख्य हात छ । सोभियत क्रान्तिकारीहरू एकअर्कालाई सम्वोधन गर्न तबारिस शब्दको प्रयोग गर्थे । छोटकरीमा टोभ भनिन्थ्यो । सोभियत क्रान्ति सम्बद्ध लेख, रचना, दस्तावेज, भाषण आदिमा तबारिस शब्दको प्रयोग नभएको सायदै भेटिएला । कम्युनिस्टहरूको बन्न पुग्यो । आज विपीका अनुयायी कोही कँग्रेसजनलाई कमरेड भनियो भने उसको सामान्यतया जवाफ हुन्छ – म कमरेड होइन । अर्थात् म कम्युनिस्ट होइन । कमरेड शब्दको मूलमै फर्कौं । कोठामा सँगै बस्ने साथी अर्थात् आफ्नो सुख–दुःख निर्वस्त्र रूपमा देखेको मर्दा पर्दा सबैभन्दा बढी काम लाग्ने मित्र भन्ने अर्थ थियो, कमरेडको । राज्य व्यवस्थाअनुसार सम्वोधनका लागि विभिन्न शब्दको प्रयोग हुन्थ्यो वा हुने गर्छ । राजा र रैतीलाई गर्ने सम्वोधनमा फरक, धनी र गरिबका लागि गरिने सम्वोधनमा फरक, लिंगअनुसार सम्बोधनमा फरक अर्थात् सम्वोधनमै मान्छेको औकात झल्काउने शब्दको प्रयोग समाजमा थिए वा छन् । समाजवादी हुन् कि कम्युनिस्टहरू सम्वोधनमै हुने विभेद रुचाउँदैनथे । त्यसैले वर्ग, जात, औकात, लिंग केही नछुटाउने कमरेड शब्दलाई प्रगतिशीलले पछ्याए । ‘कमरेड’को सामान्य अर्थ साथी, दाँैतरी वा मित्र हो । विकासका क्रममा यस शब्दले विशिष्ट अर्थ वहन गरेकाले पछि आएर यो शब्द एउटै उद्देश्य र लक्ष्य बोकेर हिँडेका र कम्युनिस्ट पार्टीमा लागेका व्यक्तिलाई सम्बोधन गर्दा प्रयोग गर्न थालियो । कम्युनिस्ट पार्टीमा लागेका सबै सदस्य समान मानिने हुँदा एकअर्कालाई सम्बोधन गर्दा समानता बोधक शब्द कमरेड (साथी) को प्रयोग गरिएको हो । कम्युनिस्ट पार्टीमा केन्द्रीय कमिटीका अध्यक्षदेखि तल्लो कमिटीका सदस्यसम्मका सबै सदस्यलाई कमरेड भनेर सम्बोधन गरिन्छ । ‘कमरेड’ शब्दले समानता र सम्मान दुवै जनाउँछ । कम्युनिस्ट कम्युनिज्मको अनुयायीलाई कम्युनिस्ट भनिन्छ । ‘कम्युन’ बाट कम्युनिज्म र कम्युनिस्ट बनेको हो । ‘कम्युन’ भनेको साझा खेती–पाती, साझा उत्पादन, समान वितरण र उत्पादित वस्तुमा साझा स्वामित्व रहेको समुदाय वा जनपद हो । यस्तो समुदाय वा जनपद भएको सामाजिक विकासको उच्चतम अवस्था कम्युनिज्म हो । उत्पादनका साधनमाथि सार्वजनिक स्वामित्व रहने हुँदा यस व्यवस्थामा प्रत्येक व्यक्तिले क्षमताअनुसारको काम र आवश्यकताअनुसारको दाम पाउँछन् र त्यहाँ सबै खालको शोषण समाप्त भई साम्य स्थिति रहन्छ । कम्युनिज्ममा सर्वहारा वर्गको अधिनायकत्व, वर्गविहीन सामाजिक व्यवस्था, शारीरिक र बौद्धिक श्रमका बीच समानता एवं राष्ट्र–राष्ट्रका बीच बन्धुत्वको भावना रहन्छ । कम्युनिज्मलाई समाजमा स्थापित गर्न चाहने, शोषण, दमन र अन्याय–अत्याचार एवं निजी सम्पत्तिको विरोध गर्ने, सामूहिक उत्पादन पद्धति, सामूहिक जीवन र समानतामा विश्वास गर्ने, माक्र्सवादी लेनिनवादी वैज्ञानिक विचार धारामा दृढ रहेको, सर्वहारावर्गको पार्टीको सामूहिक अनुशासनमा रहने क्रान्तिकारीलाई कम्युनिस्ट भनिन्छ ।

प्रतिक्रियाहरु