अमेरिकी राष्ट्रपति बाइडेनका गोपनीय दस्तावेज जफत !

२०७९ माघ ८ गते, आईतवार


काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनको निवासबाट अमेरिकी न्याय मन्त्रालयको टोलीले थप दस्तावेज जफत गरेको छ । राष्ट्रपति बाइडेनको डेलावेयरस्थित घरबाट अन्य ६ गोपनीय दस्तावेज टोलीले फेला पारेको हो । गत शुक्रबार विलमिङ्टनस्थित बाइडेनको अर्को घरबाट पनि यस्तै केही दस्तावेज फेला परेको थियो । जफत गरिएका दस्तावेजहरू बाइडेन उपराष्ट्रपति र सिनेटर भएको समयको भएको जनाइएकाे छ ।अनुसन्धानमा खटिएका वकिल बब बावरका अनुसार फेला परेका दस्तावेजहरूमा राष्ट्रपति बाइडेन आफैंले लेखेका कागजात र अन्य महत्वपूर्ण सामग्री रहेका छन् । १३ घण्टा लामो छानविनका लागि राष्ट्रपति बाइडेनले अनुमति दिएपनि आफू भने उक्त समय घरमा नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
गत नोभेम्बर २ मा पेन बाइडेन सेन्टरमा यस्तै किसिमका अन्य दस्तावेज समेत मिलेको बाइडेनका वकिलको भनाइलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । गत डिसेम्बर २० र जनवरी १२ मा पनि विभिन्न दस्तावेजहरू फेला परेको थियो । राष्ट्रपतिको टिमका अनुसार फेला परेका दस्तावेज नेसनल अर्काइभ्स र न्याय मन्त्रालयलाई जिम्मा लगाइसकिएको छ ।
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पनि अहिले सयौं त्यस्ता गोपनीय दस्तावेजलाई गलत तरिकाले राखेको भन्दै अनुसन्धान सुरु गरिएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु