‘अबको ५ वर्ष नेपाली क्रान्तिका लागि महत्त्वपूर्ण समय’

२०७९ माघ ७ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अबको पाँच वर्ष समग्र नेपालको कम्युनिस्ट आन्दोलन, नेपाली क्रान्ति र नेपाल कम्युनिस्ट पार्टीका लागि महत्वपूर्ण समय हुने ठोकुवा गरेका छन् । सो पार्टीको मङ्गलवार शुरु भएको नवौँ केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकमा दस्तावेज प्रस्तुत गर्दै महासचिव विप्लवले सो ठोकुवा गरेका हुन ।

बैठकमा महासचिव विप्लवले ‘पार्टी योजनालाई कडाइपूर्वक लागू गरौँ, एकीकृत जनक्रान्तिलाई अगाडि बढाऔँ’ भन्ने शीर्षकको ११ पृष्ठलामो लिखित दस्तावेज प्रस्तुत गरेका थिए । उनले पार्टीको आवधिक योजनागत एजेन्डा प्रष्ट्याउँदै नेपालको आजको सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा देखिएको अराजकता र संकट कुनै व्यक्ति वा दल बिशेषको होइन भन्दै यो भनेको विद्यमान सत्ता संरचना र समग्र पुँजीवाद कै संकट भएको ठोकुवा गरेका थिए ।

बैठकमा महासचिव विप्लवले भने– “आगामी पाँच वर्ष नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन, पार्टी, क्रान्ति र मुलुकको राजनीतिक परिस्थितिका लागि निकै निर्णायक र महत्वपूर्ण हुनेछ, यो कुरालाई ठिक ढंगले बुझेर हामी अगाडि बढ्नु पर्छ । नेपालमा अहिले साम्राज्यवादले एमाले र माओवादी केन्द्रलाई पश्चिम बङ्गालको जस्तो र नेकपालाई पेरु र इन्डोनेशियाको क्रान्ति जस्तो बनाउने कोसिस गरिरहेको छ ।”

यसैगरी, महासचिव विप्लवले क्रान्तिको क्रममा बिगतमा पूर्णकालिन नेता कार्यकर्ता भन्नाले घर छोडेर पार्टीका लागि कुनै पनि ठाउँ र काममा आफ्नो सम्पूर्ण समय दिएर काम गर्ने कार्यकतालाई भनियो तर अहिले समय बदलिएकोले अब पूर्णकालिन नेता कार्यकर्ताको परिभाषा बदलिएको छ र आहिलेको क्रान्तिकारी आन्दोलनमा पूर्णकालिन भनेको कुनै न कुनै रुपमा आर्थिक उत्पादनसँग जोडिएर जनताको सेवा गर्ने भएको बताए ।

एक फरक प्रसङ्गमा महासचिव विप्लवले भने– “हामीले नेपाली समाजको सामाजिक, सांस्कृतिक बिभेद असमानता र उत्पीडनलाई अन्त्य गर्दै भेदभावरहित, न्यायपूर्ण र मानवताप्रेमी सभ्यताका लागि सी जाति निर्माणको गर्ने निष्कर्ष निकालेका छौँ । सी जाति निर्माण गर्ने कुरा सांस्कृतिक लडाई पनि हो । यसबारे अध्ययन र तथ्यको आधारमा बहस गर्न जरुरी छ ।’ उनले थपे– “नेपालको कम्युनिस्ट आन्दोलनमा जनचेतना र जनभावनालाई पक्रिनु पर्छ भन्ने नाममा पिछडिएको चेतनातिर फर्किएको देखियो ।’

महासचिव विप्लवले महाधिवेशनबाट निर्माण भएका कमिटीहरु कामयावि हुनुपर्छ भनेर आपूmले केन्द्रिय समिति बैठक अघि नै केन्द्रिय सल्लाहकार समिति र केन्द्रिय प्रतिनिधि समितिको समेत बैठक गरेर धारणा र सुझाव लिएको समेत बताए ।

स्मरणीय छ, गत कार्तिक २ गते कपिलवस्तुमा सम्पन्न भएको नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशनले नयाँ समाजवादी जनसत्ता र राष्ट्रिय स्वाधीनतको कार्यनीति प्रस्ताव पारित गरेको थियो । नवौँ महाधिवेशनमा पारित नयाँ समाजवादी जनसत्ता र राष्ट्रिय स्वाधीनतको कार्यनीतिमा पुँजीवादी व्यवस्थाको चुनाव भनेको सत्ताको असफलता र संकटलाई टालटुल पार्ने, निर्वाचनका नाममा पुराना पात्रका ठाउँमा नयाँ पात्र खडा गर्ने, एकथरी लुटेराको सट्टा अर्का लुटेराहरु अगाडि सार्ने, पुराना सम्बन्धहरुको स्थानमा नयाँ सम्बन्धहरु निर्माण गर्ने, श्रमिक जनतालाई पुँजीवादबाट पुँजीवादमै, चुनावबाट चुनावमै, संसद्बाट संसद्कै गोलचक्करमा घुमाउने अल्झाउने खेल भएको उल्लेख गर्दै देशमा संसदीय व्यवस्थाको दलालीकरण, बदनामी, टाट पल्टाई र असफल भएको ठोकुवा गरिएको थियो । यसैगरी, दलाल पुँजीवादी सत्ताको संसदीय व्यवस्थाको संघ र प्रदेशका चुनाव उपयोग, प्रयोग गर्नु उचित र सम्भव नभएको भन्दै जनतालाई राजनीतिक विचार, संघर्ष र प्रयोग सबैतिरबाट वैज्ञानिक समाजवादी सत्ताको विकल्प दिनुपर्ने उल्लेख गर्दै मंसिर ४ को संसदीय चुनावलाई सशक्त प्रकारले खारेज गरिने उद्घोष गरिएको थियो ।

यसैगरी, नयाँ समाजवादी जनसत्ता र राष्ट्रिय स्वाधीनतको कार्यनीतिमा दलाल पुँजीवादको स्थापनासँगै गाउँदेखि सहरसम्म मिटरव्याजे (चक्रिय व्याजी) फटाहाहरु उमारेको र मिटरव्याजले हजारौं किसान तथा साना व्यवसायीलाई उठिबास लगाएको ठोकुवा गर्दै मिटरव्याजेविरुद्ध सशक्त संघर्ष गर्ने प्रतिबद्धता जाहेर गरिएको थियो भने नेपाली जनताको चाहना र स्वीकृतिविना लादिएको राष्ट्रघाती एमसीसी सम्झौता जबर्जस्ती कार्यान्वयन गर्न खोजिएको उल्लेख गर्दै एमसीसी सम्झौतासँग जोडेर एसपीपी सैन्य सम्झौता लाद्ने र साम्राज्यवादी युद्धको खेल मैदान बनाउने षड्यन्त्र चलिरहेकोले उक्त राष्ट्रघाती सम्झौता खारेज गर्न माग गरेको थियो ।

यसकारण, नेपाल कम्युनिस्ट पार्टी नवौँ केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकले नवौँ महाधिवेशनले पारित गरेको नयाँ समाजवादी जनसत्ता र राष्ट्रिय स्वाधीनतको कार्यनीति प्रस्तावलाई ठोसरुपमा अगाडि बढाउने नीति र निर्णय लिने निश्चित देखिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु