एकतालाई शुभकामना ! छिट्टै एकता होस्

२०७९ माघ १ गते, आईतवार

दीर्घप्रसाद पाण्डे

आफैले क्रान्ति गरे भै हाल्यो, अरूको टिकाटिप्पणी किन गर्न पर्यो भन्ने कमेन्टहरू गरेको देखिन्छ । एक बहुला वा जड्याहाले गरेको क्रियाकलापले त समाजमा कति असर गर्छ भने राजैतिक पार्टी वा समूहहरूले गर्ने क्रियाकलापले समाजमा सकरात्मक वा नकरात्मक असर नगर्ने कुरा हुदैन । नचाहँदा–नचाहँदै पनि विभिन्न घटनाहरूमा चासो राख्न पर्ने हुन्छ । सन्दर्भ क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी मशाल र कम्युनिष्ट पार्टी बहुमतबीचको पार्टी एकताबारेको हो । समान विचार र धारणा हुनेहरूका बीचमा एकता हुनु सकरात्मक कुरा हो । केही समय पहिला नेपाल कम्युनिष्ट पार्टीबाट ७२ जनाको केन्द्रीय समितिबाट नौजना विभिन्न कारणले भागेर बनेको बहुमत नामको पार्टी र मसालबाट फुटेर बनेको नेपाल कम्युनिस्ट पार्टी मशालको एकता समायोजन समिति बनेको र अन्य समूह व्यक्तिहरूलाई पनि एकतामा आउन अनुरोध गरिएको छ । राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीको विज्ञापन गरे जसरी विज्ञापनको झल्को पाइन्छ । क्रान्तिकारी माओवादी पार्टी २०२८ सालदेखि निरन्तरतामा चलेको पार्टी हो र यसको नेतृत्व पनि निरन्तरतामा नै छ । यस्तो पार्टीले आफ्ना नीति कार्यक्रमसमेत बनाउन नसकेका केही ब्यक्तिको झुण्डलाई आफ्नो पार्टीसरहको मान्यता दिएर तीन पार्टीको संयुक्त बक्तव्य भन्नुले क्रान्तिकारी माओवादी पार्टीको नेतृत्वको शालीनता भद्रताको प्रशंसा गर्न सकिन्छ । सिद्धान्त, नीति कार्यक्रम मिल्ने भएको भए बहुमतवाला र मशाल क्रान्तिकारी माओवादीमा गएको भए हुन्थ्यो । छ महिनासम्म पनि पार्टी चलाउन नसकेकाहरूसँग कस्तो पार्टी एकता होला ? । यो भयो उहाँहरूको कुराहरू, त्यसमा अरूको चासोको विषय भएन । कुनै समूहहरूले यदि कम्युनिस्ट आन्दोलनलाई अघि बढाउनका लागि पार्टी एकता गर्छन् भने संगठन नीति कार्यक्रमहरू सारसंग्रहवादी हुनुहुँदैन भन्ने हो । कसैले पनि क्रान्तिको ठेक्का हाम्रो मात्र हो अरूको काम छैन भन्ने नीति गलत हुन्छ । रिस, डाह, आग्रह पूर्वाग्रहका आधारमा पार्टी एकता हुन्छ भने यसले सकरात्मक होइन नकरात्मक प्रभाव पार्दछ । यस्तो नहोस् ।

माओले च्याङ्कासाइबाट पार्टी बचाउन लामो अभियानमा पार्टीलाई लान बाध्य भए । लाखौँ क्याडरहरूको बाटोमै मृत्यु भयो । माओले अभियानबाट पार्टीलाई सुरक्षित स्थानमा पुराउन सफल भए । त्यहाँ पनि आक्रमण गर्न पाँच लाख सैनिक लिएर गएको च्याङ्ग आफ्नै सेनाकमाण्डर लिटिल मार्सलको बन्दी बन्न गए । यदि माओले प्रतिशोधको भावना लिएको भए च्याङ्गलाई मार्न सक्थे तर त्यही च्याङ्सँग कार्यगत एकता गर्दा जापानी साम्राज्यवादीहरूलाई हराउन सकिन्छ भन्ने अड्कल गरी च्याङ्गलाई मार्नु त परै जाओस् उसको इज्जतमा पनि कुनै कमी नहोस् भनेका थिए । ड्यास माओवादी फोडेर क. विप्लवले नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन गरेका थिए । क्रान्तिकारी माओवादी र नेपाल कम्युनिस्ट पार्टीबीच एक पटक रणनैतिक मोर्चा समेत बनेको थियो । अहिले नेपाल कम्युनिष्ट पार्टीबाट भागेका केही मानिस पाउँदा विप्लवसँग प्रतिशोध लिन भएको कार्यगत एकता पनि तोड्ने हर्कत के यो क्रान्तिकारी हर्कत हो ? । यस्ता गतिविधिहरू सामान्य प्राविधिक विषय मात्र होइनन्, सैद्धान्तिक विषयहरू हुन् ।

नेपाल कम्युनिस्ट आन्दोलनमा माक्र्सवाद लेनिनवाद माओ विचारधारालाई पार्टीको पथप्रदर्शक सिद्धान्त र नयाँ जनवादलाई न्यूनतम र समाजवाद साम्यवादलाई अधिकतम कार्यक्रम बनाएर २०२५सालमा राष्ट्रिय सम्मेलनद्वारा क. पुष्पलालले पार्टी पुनर्गठन गरेका थिए । उनलाई गद्दार घोषणा गरेर, राजालाई बिन्तिपत्र लेखेर, पार्टीले तत्कालिन राजाका सबै नियम, कानुन मान्ने प्रतिबद्धता स्वीकार गर्ने मनमोहनलाई महासचिव बनाएर केन्द्रीय न्यूक्लियर्स गठन गर्ने मोहनबिक्रम, चित्रबहादुर, मोहन वैद्य किरण जिउँदा इतिहास हुन् । केन्द्रीय न्यूक्लियर्सले पनि माक्र्सवाद लेनिनवाद माओ विचारधारालाई नै पथप्रदर्शक सिद्धान्त मानेको थियो । गद्दार घोषित क. पुष्पलालले नयाँ जनवादलाई न्यूनतम कार्यक्रम मानेका थिए । गद्दारले तय गरेको कार्यक्रम मोहन बैद्यहरूलाई जुठो भयो । देशभक्त र जनतान्त्रिक शक्तिहरूको सरकार न्यूनतम र नयाँ जनवाद अधिकतम कार्यक्रम तय भयो । पार्टीमा न्यूनतम कार्यक्रम नयाँ जनवादमा आउन बाह्र वर्ष लाग्यो । यो बाह्र वर्ष भित्रमा मोहनबिक्रम सिंह, निर्मल लामा, भक्तबहादुर श्रेष्ठ चित्रबहादुर केसी, मोहन बैद्य किरणहरू महासचिव भए । देशभक्त र जनतान्त्रिक शक्तिहरूको सरकारको नारा ठीक छैन भन्ने कुरा दश वर्षमा थाहा पाएका थिए, नयाँ जनवाद न्यूनतम कार्यक्रम हुन्छ भन्ने हो भने गद्दार पुष्पलालले भनेको भन्न भएन । त्यसैले पाँचौँ महाधिवेशनमा सत्ता जनतामा हस्तान्तरण गर भन्ने फेरि अर्को न्यूनतम कार्यक्रम बनेको थियो । मोहन वैद्यको कार्यकाल भर यही नारा थियो । मोहन वैद्यले २०४३ सालमा भएको सेक्टरकाण्डको जिम्मेवारी लिँदै महासचिव छाडे पछि प्रचण्ड महासचिव भएका थिए । क. पुष्पलालले तय गरेको नयाँ जनवादी न्यूनतम कार्यक्रम भन्ने नारा ग्रहण गर्न छवटा महासचिव अदलबदल भए पछि बल्ल प्रचण्डले पार्टीमा स्थापित गरेका थिए । यो प्रसङ्ग किन निकालिएको हो भने जसरी क. पुष्पलालको विरोधमा आपूmलाई क्रान्तिकारी पार्टी हौँ भन्ने पार्टी ब्यक्ति लागेका थिए अहिले ठिक त्यसरी नै नेपाल कम्युनिस्ट पार्टी र त्यसका नेता विप्लवका विरुद्ध लागेका छन् । विप्लवको दस्ताबेजमा उल्लेख भएका नीति कार्यक्रमलाई छलेर नीति कार्यक्रम बनाएर एकता गर्ने पार्टी कस्तो होला र तिनीहरूको नीति कार्यक्रम कस्तो होला ? यो कौतुहलताको विषय हो ।

जनयुद्ध कालमा जनवादभन्दा केन्द्रीयता प्रमुख थियो । केन्द्रको मुख्य नेतृत्वमा प्रचण्ड, बादल, मोहन वैद्य किरण, बाबुराम, सीपी गजुरेलहरू थिए । विप्लवहरूको नीति निर्माणमा पहुँच पुक्दैन थियो । प्रचण्ड प्राधिकार भैहाले त्यसपछिको नेतृत्वमा मोहन वैद्य किरण थिए । माओवादी पार्टी रातारात एकै दिनमा क्रान्तिकारीधारबाट प्रतिक्रान्तिकारी धारामा स्खलन भएको होइन । पार्टीले संसदीय धारामा २०५७को दोस्रो राष्ट्रिय सम्मेलनदेखि पाइला चालेको थियो । प्रचण्ड बाबुरामहरू सचेततापूर्वक संसदीय बाटोमा लागेका थिए भने किरणहरू अचेततापूर्वक लागेका थिए । गोलमेच सम्मेलन अन्तरिम सरकार संविधानसभाको चुनावको प्रस्ताप पार्टीमा आउँदा यसलाई प्रचण्ड विचारधारामा परिभाषित गरिनु पर्छ भन्ने क. किरण हुन् । प्रचण्डले एक्काइसौँ शताब्दीको जनवाद प्रस्ताव पेस गर्दा सबभन्दा खुसी कोही थियो भने किरण थिए । प्रचण्डपथका ब्याख्याता पनि किरण हुन् । प्रचण्ड किरण बाबुराम एक भए पछि अरू बोल्नुको कुनै अर्थ थिएन । बरू प्रचण्ड बादल, प्रचण्ड बाबुरामबीच लफडाहरू भए तर किरण र प्रचण्डबीच २०६४ को पहिलो संविधानसभाको चुनावसम्म कुनै खटपट थिएन, नङ र मासु जस्तै थिए । किरण पनि संविधान सभामा समानुपातिक कोटाबाट संसद बनेका थिए । खटपट त्यतिबेलादेखि सुरू भयो जब संसदीय दलको उपनेतामा बाबुराम गए । विप्लवलगायतका तत्कालिन बेलाका भुरे–टाकुरे केन्द्रीय सदस्यहरूको विरोधको आवाजको कुनै गुञ्जायस थिएन । संसदबाट फिर्ता भए पछि किरण बिद्रोही पक्षका नेता बने । बल्ल प्रचण्डका विरुद्ध बालाजु, खरिपाटी हुँदै पालुङ्गटारको भेलामा पुग्दा किरण केन्द्रमा आइपुगे । उनको जनयुद्धको जगमा जनबिद्रोह भन्ने प्रस्तावले बहुमत पनि प्राप्त गरे ।

माओवादी पार्टीमा किरणले तय गरेको जनयुद्धको जगमा जनबिद्रोहको कार्यनीति पास भए पछि किरणले नेतृत्वमा दाबी गर्नु ठिक हुन्थ्यो र आफ्नो नीतिअनुसार पार्टी चलाउनु पथ्र्यो तर त्यस भएन । बरू धोबिघाट भेलाद्वारा बाबुरामलाई प्रधानमन्त्री बनाएर प्रचण्डलाई पाखा पार्ने षड्यन्त्रपूर्ण गतिबिधि भए । षड्यन्त्रमा यिनीहरू प्रचण्डकासँग हात्तीका अघि मुसा बराबर थिए । प्रचण्डले बाबुरामलाई च्यापे पछि सबै सकियो । बादल, देवप्रसादहरूको मन्त्री बन्ने सपना चकनाचुर भए, किरण जिल्लराम परे । माओवादी जनयुद्धका सबै मूल्य–मान्याताहरू खतम भए । प्रचण्ड–बाबुरामहरू बिप्पा सम्झौता जस्ता सम्झौताहरू गर्दै पूरा साम्राज्यवादीहरूका पोल्टामा गए । बाँकी भनेको शिविरहरूमा जनसेनाहरू थिए । विप्लव जस्ता युवाहरूले जनसेनामा बिद्रोह गराएर माओवादी पार्टी बचाउन कोसिस गरेका थिए सरकारी सेना प्रयोग गरेर प्रचण्ड–बाबुरामले जनसेना बिघठन गरिदिए पछि सबै उपायहरू सकिए । पार्टी पुनर्गठन गर्नै पर्ने भयो र भयो पनि ।

पुनर्गठित ड्यास माओवादीमा किरणहरू जस्ता परम्परावादी तरिकैमा पार्टी सञ्चालन गर्न चाहने समूह, जे जसरी हुन्छ यही सत्तामा जान चाहने बादलहरूको समूह र क्रान्तिलाई अघि बढाउन चाहने विप्लवजस्ता युवाहरूको समूहहरू थिए । भेला सम्मेलन महाधिवेशन हुँदासम्ममा पनि किरणले एमाओवादमा जे–जस्तो नीति कार्यक्रम र नेतृत्व थियो, त्यसमा फेरबदल गर्न मानेनन् । बादलहरू प्रचण्डसँग एकता गर्न चाहन्थे । विप्लवजस्ता युवाहरू क्रियात्मक रूपमै क्रान्तिमा जान चाहन्थे । किरणले दुबैलाई मिलाएर जान खोज्थे । विप्लवको इच्छाअनुसार युवाहरूको नेतृत्व विप्लवलाई दिएर र बादलको इच्छाअनुसार पार्टी एकताको नेतृत्व बादललाई दिएर किरण आफू यथास्थितिमा रहन चाहन्थे । यो द्वन्द्ववाद बिरोधी काम थियो, सधैँ यस्तो रहिरहने हुँदैन थियो ।

विप्लवको पार्टीको नीति कार्यक्रममा खासै बिमति थिएन । जनयुद्धको जगमा जनबिद्रोहलाई नयाँ परिभाषित गरिनु पर्छ, विश्व परिस्थिति बदलिएको छ । देश अब अर्धसामन्त र अर्धऔपनिवेशिक अबस्थामा छैन, नवउपनिबेशमा गएको छ । नयाँ नयाँ वर्गहरूको उदय हुँदै गएको छ । हिजोको सामान्य किसानहरू पनि बैदेशिक रोजगारी सानातिना ब्यापार व्यवसायबाट मध्यम वर्गमा संक्रमण हुँदै छन् । अबको क्रान्ति केवल मजदुर किसानले मात्र गरेर सफल हुन सक्दैन । सीमित मानिसहरू नोकरशाही तरिकाले र केही मानिसहरू दलालीद्वारा असीमित धनी बनेका छन् । साम्राज्यवादको चरित्र फेरिएको छ । साम्राज्यवादले भूमण्डलीत पुँजीवादी स्वरूप लिएको छ । पहिला–पहिला जस्तो बजार मुनाफाका लागि प्रतिस्पर्दा गर्ने या युद्ध थोपर्ने मात्र नभएर आर्थिक, राजनैतिक, प्राबिधिक, साँस्कृतिक, कानुनी हरेक क्षेत्रबाट विश्वब्यापीरूपमा नियन्त्रण र प्रभुत्व थोपर्ने खालको छ । हाम्रो जस्ता कमजोर देशहरूलाई नवउपनिबेशमा बद्ली आफ्नो दलालहरूद्वारा सत्ता सञ्चालन गर्न गइरहेको छ । भूमण्डलीकृत पुँजीवादको नेतृत्व अमेरिकाले गरिरहेको छ त्यसको वरिपरी ब्रिटेन, युरोप, अष्ट्रेलिया, जापान, भारत आदि छन् । अहिले हाम्रो देशको सत्ता दलाल पुँजीवादीको हातमा गएको छ । नेपालको राजनीति अमेरिकार भारतले नेपालकै उनीहरूका दलालमार्फत् गरेका छन् । नेपाली क्रान्तिको निसाना दलाल पुँजीवादका विरुद्ध हुनु पर्दछ । मध्यम वर्गलाई समेत समेटेर गर्ने क्रान्तिलाई एकीकृत जनक्रान्ति भन्नू उचित हुन्छ । जनयुद्धको जग भनेको पार्टी सेना संयुक्त मोर्चा पनि हो । जनसेना निर्माणमा जोड दिनु पर्छ । सोभियतहरू गठन गर्दै जानू पर्छ । नेता–कार्यकर्ताहरूलाई उत्पादनमा जोड्नु पर्छ । जनसत्ताको अभ्यस गर्दै गर्नु पर्छ । अन्तिममा जनबिद्रोहद्वारा सत्ता कब्जा गर्नु पर्छ आदि थिए । किरणले यो प्रस्ताव पार्टीमा छलफल गर्नसमेत नदिए पछि विप्लवले युवाहरू लिएर पार्टी पुनर्गठन गरेर गए । ड्यास माओवादीमा अब प्रचण्ड वा अन्य समूहहरूसँगको एकताको पक्ष प्रधान बन्यो ।

जनयुद्ध कालमा नारायणकाजी श्रेष्ठको एकता केन्द्र र मसाल मिलेर एकता केन्द्र मसाल बनेको थियो । खुला परिवेशमा एकता केन्द्रका नेता नारायणकाजी श्रेष्ठ यहाँ खुम्चिएर बस्न चाहेनन् । मोहनबिक्रम र चित्रबहादुरको ब्यवहारबाट एक पटक मसालको नेतृत्व समेत गरेका रामसिंह श्रीस आजित भएका थिए । नारायणकाजी श्रेष्ठसँगै रामसिंहको समूह पनि मसालबाट बाहिरियो । नारायणकाजी माओवादीमा गए तर रामसिंहको समूह माओवादीमा जान मानेर झुट्टै नेपाल कम्युनिग्ट पार्टी (एकीकृत) गठन गरेर बसेका थिए । समग्र मसालको नीति कार्यक्रममा यिनको कुनै बिमति थिएन । बिमति थियो मोहनबिक्रम र चित्रबहादुरहरूको ब्यवहारमा । किरणले बादललाई जोसुकैसँग पनि एकता गर्ने सर्वाधिकार दिएका थिए । नीति सिद्धान्तमा कुनै चासो थिएन । एकताका लागि रामसिंह श्रीसहरूले राखेका यी प्रस्तावहरू, माओवादको सट्टा माओ विचारधारा पनि भन्न पाउनु पर्छ, माओवादी जनयुद्ध आतङ्कवादी ब्यालङकीवादी थियो भनेर बहस गर्न पाउनु पर्छ, सम्मेलन महाधिबेशनहरूमा दस्ताबेजका रूपमा पेस गर्न पाउनु पर्छ, ड्यास माओवादीको सट्टा क्रान्तिकारी माओवादी भन्न सकिन्छ आदि सबै प्रस्तावहरू मानेर बादलले पार्टी एकता गरेका थिए । पछि पार्टीमा बहुमत कायम गरी क्रान्तिकारी माओवादीको अध्यक्षसमेत भए । क्रान्तिकारी माओवादीको अध्यक्षको हैसियतले प्रचण्डसँग पार्टी एकता गरे । बादलसँग अल्पमतमा परेको समूह जो बादलसँगै प्रचण्डको पार्टीमा नगएको समूह हो, अहिलेको क्रान्तिकारी माओवादी पार्टी । यसभित्र पनि जनयुद्ध मान्ने र नमान्ने दुई समूहहरू छन् । सन्तबहादुर नेपालीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी मशालको पनि पूर्व मसालको नीति कार्यक्रममा कुनै खासै बिमति छैन बिमति हो मोहनबिक्रमर चित्रबहादुरहरूको ब्यवहारमा । त्यसैले रामसिंह र सन्तबहादुरहरूबीच मत मिल्छ । कञ्चनहरूको कुरै छाड्यौ, पद दिए मिल्छ फेरि आपत पर्ने समूह हो किरणको ।

एकता गर्दा यो माथिको पृष्ठभूमिलाई ध्यान दिन आवश्यक छ । बिगतको अध्ययनबाट बर्तमानमा नीति कार्यक्रमको निर्माण गर्नु र भबिष्य अङ्कलन गर्नु माक्र्सवाद हो । खोलो हिँडेको ठाउँमा चिसो रहिरहन्छ भनिन्छ क्रान्तिकारी माओवादीको ठूलो हिस्सा अझै बिगतको जनयुद्ध लडेका ब्यक्तिहरूको छ । यस पार्टी भित्रका युवाहरूमा क्रान्तिप्रति विश्वास आस्था दुबै छ । माओवाद कि माओ विचारधारा, जनयुद्धलाई कसरी व्याख्या गर्ने, विप्लवको पार्टीलाई के भन्ने, जातीय सङ्गठनहरू राख्ने वा नराख्ने, किरणको नेतृत्व सर्वमान्य भए पनि त्यस पछिको नेतृत्वको समस्याहरू कसरी हल गर्ने आदि हुनेछन् । देश जुनसुकै अवस्थामा भए पनि सबैको धारण अर्धसामन्तवाद र अर्धउपनिबेशिक रहेकोमा मत एक्यता छ, क्रान्तिको स्वरूप सशस्त्र जनबिद्रोहमा पनि सबैकोमा एक मत छ । भिन्न मत कञ्चनको हुन सक्छ तर उनको गन्ती हुने कुरै छैन । सबभन्दा पेचिलो बहस माओवाद र माओ विचारधारा, जनयुद्धलाई हेर्ने दृष्टिकोण र विप्लवलाई हेर्ने दृष्टिकोणमा हुनेछ ।

माओ विचारलाई सार्वभौम मान्दा माओवाद हुन्छ र यो विज्ञान हुन्छ । माओवाद मान्दा पार्टी सङ्गठन जनसेनासहितको हुन्छ, जनसेना, सोभियत सत्ताहरू, जनसरकार निर्माण गर्न धेरै दुःख–कष्ट बेहोर्न पर्ने हुन्छ, पार्टी भित्र उच्च नेतृत्वमा हुँदाहुँदै पनि जनताका माझ गुमनामका रूपमा बस्न सक्ने धैर्यता चाहिन्छ, शीघ्र सत्ताको लालच हुनुहुँदैन यस्ता धेरै बाधा–अड्चन भित्र रहेर मात्र क्रान्ति सफल गर्न सकिन्छ । यतातर्फ जान नसक्नेले मान्ने भनेको माओ विचारधारा हो । माक्र्सवाद लेनिनवाद माओ विचारधारा भन्यो, सशस्त्र जनविद्रोह भन्यो, सधैँ खुला क्रियाकलापहरू ग¥यो, भाषण ग¥यो, बिद्वुत्ताको प्रदर्शन ग¥यो, सधा क्रान्तिकारी पनि भइने दुःख, कष्ट गर्न पनि नपर्ने माओवादभन्दा माओ विचारधारा नै सजिलो बाटो छ सायद यो बाटो छाड्न मसालबाट आएका समूहहरूले मान्ने छैनन् । विगतको जनयुद्धलाई महान् भनेर स्वीकार्ने सम्भावना पनि त्यति देखिँदैन, विप्लवको पार्टीलाई नकार्ने कुरामा भने एकमत हुन सक्छ, जातीय प्रश्नमा प्राण गए पनि सितारामहरूले मान्ने छैनन् । यदि एकता भएछ भने पनि सारसंग्रहवादी खालको हुनेछ । यो बहसले वा एकताले एउटा राम्रो काम गर्नेछ । पार्टीहरूमा ध्रुबीयकरण हुनेछ । ‘भेडा भेडासँग, बाख्रा बाख्रासँग’ अवश्य बनाउने छ । क्रान्तिकारी माओवादीभित्रका क्रान्तिकारीहरू क्रान्तिकारी माओवादी नेपाल कम्युनिष्ट पार्टीमा ध्रुबीकृत हुने छन् भने नेपाल कम्युनिष्ट पार्टीबाट निक्लेको फोहरमैला एकताको नाममा किरणको आङमा सल्कनेछन् । यो एकताले अवश्य पनि ध्रुबीकरणमा बल पुराउने छ । छिटोभन्दा छिटो एकता होस् यसमा सबै क्रान्तिकारी र बिचलनवादी सबैको भलो हुनेछ । यो एकताले क्रान्तिको कित्ता छुट्ट्याइदिनेछ र क्रान्तिको बाटोलाई सहज बनाउने छ । शुभकामना छिट्टै एकता होस् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु