नेकपामा प्रवेश गर्नेको ओइरो

२०७९ पुष २६ गते, मंगलवार


काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी काठमाडौंले हालै आयाेजना गरेको ध्रुवीकरण कार्यक्रममा सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् । पुस २३ गते चन्द्रागिरीको सतुङ्गलमा भएको पार्टी ध्रुवीकरण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १ सय ७३ जना नेपाल कम्युनिस्ट पार्टी प्रवेश गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य माइला लामाले अहिलेको पूँजीवादी सत्ताले नेपालका छोरी चेलीहरुलाई भोग विलासको साधन बनाएको बताए। नेता लामाले नेपाली समाजको अहिलेको अवस्थामा बढ्दो र चरम समस्याको रूपमा रहेको महिला बेचविखनबारे बोल्दै नेपाली चेलीहरू संसारका विभिन्न देशहरूमा बेचिएको र यो पूँजीवादी व्यवस्थाले महिलालाई भोग विलासका लागि किनबेच गर्ने वस्तुको रूपमा प्रयोग गरिएको बताए । उनले अहिलेको राज्य व्यवस्था दलाल र निर्दयीहरूको रहेको भन्दै चुनावका बेला जनताका समस्याहरुलाई खोतली विभिन्न सपनाको भर्याङ बनाएर सत्तामा पुग्ने नेताहरु अबको ५ वर्षसम्म जनताकाे समस्या हेर्न पनि नफर्किने उनको भनाइ थियो ।
साथै जनाताले विश्वास गरेर जिताएका संसदवादी दलालहरूले जनताको विश्वासमाथि निरन्तर कुठाराघात गरिरहेको समेत उनले बताए ।
पूँजीवाद नाफामा टिकेको व्यवस्था भएको भन्दै यो व्यवस्थाले जनताको आवश्यकतालाई सम्बोधन नगर्ने र जनताकाे लागि राजनीति गर्छु भन्दै महलसम्म पुगेका व्यक्तिहरूले सडकका भोकानाङ्गा जनताको समस्या कहिल्यै नबुझ्ने उनको भनाइ थियो ।
अगाडि थप्दै नेता लामाले भने,“यो लोकतन्त्र होइन यो दलालहरुको व्यवस्था हो भन्ने कुरा जनताले बुझ्न जरुरी भएको छ र यो व्यवस्थाले देश र नागरिकलाई स्वतन्त्र र समृद्धिको जीवन बाँच्न दिँदैन त्यसैले वर्तमान व्यवस्थाको अग्रगामी निकास भनेको वैज्ञानिक समाजवादी व्यवस्था हो ।”
साथै नयाँ ध्रुवीकृत भएकालाई उनले स्वागत गर्दै नेकपा सधैं जनताको समस्यामा साथ रहने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।
कार्यक्रममा अध्यक्षता काठमाडौं जिल्ला पार्टी ‘सचिव राजेन्द्र सी’ को रहेको थियो भने अतिथिहरुमा क्षेत्र सि, ज्ञानु सि लगायत अन्य नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु