वितण्डावादीहरुको प्रीति–भोज

२०७९ पुष १८ गते, सोमबार
अनिल शर्मा

दलाल पुँजीवादका विरुद्ध सबै वामपन्थी र देशभक्त तथा प्रगतिशील शक्तिहरु एकतावद्ध हुनुपर्ने आवश्यकता छ । तर एकथरी तत्वहरु दलाल पुँजीवादको विरुद्ध लडिरहेको विप्लव नेतृत्वको विरुद्ध लडिरहेका छन् । यस्तो किन ? त्यसको प्रत्येक शक्ति र स्रोतको खोजि यो लेखको उपादेयता हो । जसलाई मनोवैज्ञानिक दृष्टिले पनि हेरिने छ ।

कतिपय व्यक्तिहरु आफूलाई अब्बल देखाउन लगातार झुट बोल्छन् । झुट उनीहरुको संस्कार बनिसकेको हुन्छ । झुटले संस्कारको रुप लिएपछि त्यो मनोरोगको रुपमा प्रकट हुन्छ । मनोवैज्ञानिक बासु आचार्य भन्छन्, “बिनाकारण र आधार झुट बोल्नुलाई मनोचिकित्सकहरुले ‘पर्सनल डिसअर्डर’ भन्छन् ।” त्यसकारण कञ्चन–सुदर्शनलगायत छुचुन्द्राका ताँतीहरुमा विछिप्तता देखा पर्दछ । आर्थिक विषयमा कञ्चनले १२औं बैठकमा आत्मालोचना गर्नु परेको थियो । सुदर्शन कारवाहीमा परेका थिए भने गुणराज र लालबहादुर बिसी चितवनको ‘विवेक शाह जग्गा प्रकरण’को विषयमा छानविनमा परेका थिए । व्यक्तिलाई लागेको र समितिमा छलफलमात्र भएका विषय नभएर ती विषय निर्णित विषय थिए । पाखण्डता उदाङ्गो भएपछि उनीहरु विछिप्त भएका छन् । सत्य र सद्गुण त्यागेका उनीहरुको चिन्तनको आधार वितण्डतावादको जगमा उभिएको छ । महर्षि चरक भन्छन्, “सत्य र सद्गुणजस्ता तत्वलाई त्याग्दा मान्छे अनेकौं–अनेकौं रोगको शिकार हुन्छ ।” महर्षि चरकले भनेझैं उनीहरुमा अस्वाभाविकता, बदलाभाव र वितण्डता देखा पर्दछ । नेकपाको विरुद्ध लुकेका दुश्मन (नरम दुश्मन)का रुपमा हाम्रो प्रगतिबाट चिढिएको, आफ्नो असफलताबाट कण्ठित भएको र पकट–पटकको परीक्षणमा असफल भइसकेको किरण प्रवृत्रि अग्रभागमा छ । त्यसैगरी वाम–खोल ओढेको कञ्चन–सुदर्शन रुपी दक्षिणपन्थी अवसरवाद छ । जसको चरित्र लुम्पेन सर्वहारा छ । माओले लम्पट सर्वहाराले या रुपान्तरण हुनुपर्छ अन्यथा पार्टी छोड्नुपर्छ भन्नुभएको थियो । नेपालका लुम्पेनहरु पार्टी छोडे वा कारवाहीमा परे ।

हाम्रो पार्टीको विरुद्ध भित्रबाट मात्र होइन, बाहिरबाट दलाल पुँजीवादी सत्ताको पनि आक्रण छ । प्रतिबन्ध वारेण्ट, बम त्यसका उत्कर्ष हुन् । सबैभन्दा पहिले विप्लव नेतृत्वको नेकपालाई आक्रण गर्ने र क्रमशः सबै क्रान्तिकारी र देशभक्त शक्तिमाथि आक्रमण गरेर नेपाललाई अमेरिकी खेल–मैदान बनाउने साम्राज्यवादको रणनीति देखिन्छ । केही समय अघि युरोपियन युनियनका उपाध्यक्षले नेपाल भ्रमणका क्रममा व्यक्त विचारले त्यसै कुरालाई पुष्टि गर्दछ । नेपालमा अमेरिकी भूमिका न भारतमार्फत सीमित छ न त रणनीतिक स्तरमा नै सीमित छ । अमेरिका सिधै काठमाडौंमा कार्यनीतिक रुपले उत्रिएको छ । अमेरिकाका प्रयोगहरु सफल र निर्मम छन् । त्यो जुनसुकै रुप र हदसम्म प्रकट हुनसक्छ । उसले अन्जान कुनाबाट हान्ने गर्छ । मदन भण्डारी र राजा वीरेन्द्रको वंशनास अनुमान गरिएका घटना थिएनन् । मदन भण्डारीको हत्याले महाकाली नदी भारतलाई सुम्पियो र कालापानी, लिपुलेक, लिम्पियाधुरा विवादमा नेपाललाई कमजोर बनायो । राजा वीरेन्द्रको हत्याले कम्युनिस्ट र राजदरवारको देशभक्त धारालाई संयुक्त मोर्चामा उठाउने सम्भावनालाई असफल बनाएको थियो । यी दुवै घटनाले नेपालको देशभक्त धारालाई कमजोर बनायो । साम्राज्यवाद विरोधी विश्व–शक्तिलाई सीमिति ग¥यो ।

गुणराज गिरफ्तार हुनासाथ गल्दै गएका र पार्टीमा छैन भनिदिनुप¥यो भन्ने खबर पार्टी कार्यालयमा पठाएका थिए । महासचिवको विज्ञप्तिमार्फत ती लम्पट सर्वहाराको इच्छा पुरा गरिएको थियो । पार्टीमा चलेको त्यो चर्चालाई महासचिव विप्लवले महाधिवेशनमा स्पष्ट पार्नुभएको थियो ।

कञ्चनको पदलोलुपता र सुदर्शनको अवसरवादले जडसूत्रवादको सहारा लिएको छ । ‘उत्तर–साम्राज्यवाद’ पदावलीको सट्टा ‘भूमण्डलीकृत पुँजीवाद’ पदावली प्रस्ताव गर्दा ‘फरक–मत’ राख्छु भन्ने धर्मेन्द्रले किरणसँग एकता गर्दा के गर्लान् ? हेर्नुछ । उनीहरुलाई लिन पियाओवादी किन भन्यौं ? मैले गएको बैशाखमा नै सुदर्शनलाई लिन पियाओ भन्दा कतिपयलाई अपच भएको, असजिलो लागेको र छुचुन्द्राका ताँतीहरु लगौंटी खोलेर मैदानमा उत्रिएका थिए । धर्मेन्द्रको कार्यालयका युवा कामरेडहरुका अनुसार एकदिन उनले ‘हामी तपाईंसँग भएको सल्लाहअनुसार जाँदैछौं । सायद महासचिव फेर्नुपर्छ होला’ भनेका थिए । अर्को दिन ‘हामी सफल भयौं’ फोनमा भन्दै थिए । पार्टीको १२औं बैठक वरपरका ती फोनहरु किरणसँग भएका होलान् भन्ने हाम्रो अनुमान छ । विप्लवलाई तपाईं र पार्टी धेरै नै स्थापित, लोकप्रिय भएको कारण राष्ट्रपतिको निर्वाचनमा जानुपर्छ भन्ने धर्मेन्द्र र विप्लवलाई महान् क्रान्तिकारी भन्ने सुदर्शनको पछिल्लो वितण्डाको स्रोत लिन पियाओ नै हो । १९७० अगस्त २३मा लुसान विस्तारित बैठकको क्रममा लिन पियाओले माओलाई ‘महामानव’ भन्नुपर्ने प्रस्ताव गरेको थियो । जसरी कञ्चनले ‘राष्ट्रपति’ बनाउनुपर्ने प्रस्ताव गरे । लिन पियाओले महामानवहरु शताब्दीऔंमा एक पटक जन्मिन्छन् र चीनजस्ता पछिपरेका देशहरुमा त हजारौं वर्षमा जन्मिन्छन् भनेको थियो । उसले माओको एउटा वाक्यको शक्ति अरुका दशौं हजार वाक्य बराबर हुन्छ भन्थ्यो । माओले ‘माक्र्स–एङ्गेल्सका रचना पढ्न’ भन्दैगर्दा लिन पियाओले ९९ प्रतिशत अध्ययन माओकै गर्नुपर्छ भन्थ्यो । नेतालाई आफ्नो स्वार्थअनुसार कहिले ईश्वर र कहिले दानवीकरण गर्ने शैली गैरमाक्र्सवादी छ । नेतालाई मान्छेकै रुपमा हेर्ने र आलोचनात्मक दृष्टिकोण नहुनेहरु लिन पियाओ बन्नु स्वभाविक हुन्छ ।

९औं महाधिवेशनमा उद्घाटन भाषण गर्दै महासचिव विप्लवले “झोल खान नपाएर आउने, चोक्टा खान खोज्ने र त्यो नपाएपछि भाग्ने भगौडाहरुले भनेजस्तो विषय होइन । तपाईंहरु (सहिद परिवार)को व्यक्तिगत पीडा छ । तर हामीमा त्यसको चापताप कति ? त्यो हामीलाई थाहा छ” भन्नु भएको थियो । प्रचण्डले कारवाही गरेपछि नेकपामा प्रवेश गरेका सुदर्शनको विषयमा ‘निर्वाचनमुखी चेतना’ भन्दा बढी देखिएन । यद्यपि चिरन पन, सन्देश पौडेल, देवनारायण साहहरु क्रान्ति खोज्दै जाने प्रक्रियामा हाम्रो सहकार्य भएको थियो ।

कञ्चन–सुदर्शन नामधारी छुचुन्द्राका ताँतीले पार्टीको श्रम र उत्पादन कार्यलाई अर्थवादी भनेको प्रति टिप्पणी गर्दै महासचिव विप्लवले “चन्दा उठाएर सुँगुरले झै खानु ठिक हो त ? उनीहरुको अर्थशास्त्र माक्र्सवादी अर्थशास्त्र हो कि भँडुवा–अर्थशास्त्र हो ? हामीले विवेक र श्रमलाई जोड्नुपर्छ । विवेकबाट मात्र चल्ने कम्युनिस्टले मालिकमात्रै जन्मायो” भन्नुभएको थियो । जडसूत्रवाद र त्यसका छाउराप्रति सङ्केत गर्दै महासचिव विप्लवले भन्नुभयो, “लेकको उन्यूघारीमा बसेको, ढाडमा लेऊ उम्रेर पहेंलो भएको भ्यागुतो जति उफ्रेपनि क्रान्ति रोक्न सक्दैन ।” १२औं बैठकमा हामीहरु निशस्त्र भएर लड्यौं तर लिन पियाओहरुले पिठपछाडि तरवार लुकाएर आएका थिए । नेपालको राजनीतिमा वितण्डावाद हावि छ र अहिले भगौडाहरु त्यसको बाहक भएका छन् ।

प्रचण्डले हेटौंडा महाधिवेशनमा ‘नयाँ जनवादी क्रान्तिको कार्यभार पुरा गर्दै समाजवादमा जाने’ कार्यदिशा पारित गरेका थिए । त्यही कार्यदिशा पारित गरेर छुचुन्द्रका ताँतीले प्रचण्ड प्रवेशको ढोका खोलेका छन् ।  

१२औं बैठक वरपरको स्थायी समितिको बैठकमा आफूहरु बहुमत भएको प्रचारबाजी गरेपछि क. प्रकाण्डले बहुमत हेर्ने रहर छ भन्दै हप्काएपछि कञ्चनले ‘मैले त बहुमत भनेको छैन है कमरेड’ भनेका थिए । पार्टी कब्जा गर्ने षडयन्त्र असफल भएपछि अमेरिकी दूतावाससँग मिलेर नेकपा र नेतृत्वलाई ध्वस्त पार्ने खेलमा छुचुन्द्राका मुखिया तल्लिन छन् । ९औं महाधिवेशनको बन्दसत्रमा मन्तव्य राख्दै महासचिव विप्लवले छुचुन्द्राका ताँतीप्रति भन्नुभएको थियो, “हाम्रो उदारवादी गल्ती हो कि उनीहरुको अपराध ? दुःख कष्ट, मेहनत गर्ने हामीमाथि आक्रमण भएको छ र खराब गर्नेहरुप्रति नरमजस्तो भएको छ ।” सुदर्शनले मदिरा व्यापारी अनिल अग्रवालसँग दारु धोक्दै ‘मदिरा नखाने मान्छे  त दार्शनिक नै हुँदैन’ भनेका रहेछन् ।

भगौडाहरुको पागल प्रलाप चलिरहेको छ । कतिपय कमरेडहरु पार्टीमा रहँदा सर्वगुण सम्पन्न ठान्ने बाहिर गएपछि जे पनि भन्ने ? गुनासो गर्दछन् । यो सुधो तर्क हो, सही होइन । सुदर्शन पार्टीमा आउँदा नै ल्याउने कि नल्याउने भन्ने बहस थियो । केही साथीहरुले सुदर्शनलाई ल्याउन हुन्न भन्दै फरक मत राखेका थिए । फरक मत राख्नेमा पारसमणी (रुकुम) र विप्लव (म्याग्दी) लगायत थिए । स्थायी समितिमा राख्न हुँदैन भन्नेमा क. शिलुलगायत थिए । तर पार्टीले दुश्मनका पङ्ति बाहिरका सबैलाई क्रान्तिमा जोडिने निश्कर्ष निकाल्यो, सीमासहित, समस्यासहित ल्याइयो । तर उनी प्रचण्ड स्कुलबाट बाहिर निस्कन सकेनन् । उनीहरु अहिले साम्राज्यवादको दैलोमा हाम्रो विरुद्ध प्रितिभोज गर्दैछन् ।

गुणराज लोहनीले ३५ लाख रुपैयाँ विप्लवलाई ऋण दिएको दाबि गरेका छन् । चितवनबाट काठमाडौं जान बस भाडा नभएर हामीले उद्धार गर्नुपर्ने लोहनी ३५ लाख ऋण दिनसक्ने साहु कसरी भए त ? हावादारी कुराको पनि सीमा हुन्छ । घरमा पैसा दिन नसक्दा घरबाटै अपमानित हुनुपरेको भन्ने रोइलो सुन्ने मान्छे चितवनमा अझै जीवितै होलान । त्यस्ता मान्छे ऋणदाता साहु कहिलदेखि भए ? भन त मनवा ! विप्लवलाई देखाएर कञ्चनसँग रकम असुल गर्ने खेतिपाती चलाउन खोजेका होलान् । आफ्नो खेती गर्दा छिमेकमा डस्न आवश्यक थिएन । गुणराज र बिसीले जनार्दन शर्मासँग भेटेर माओवादी प्रवेशको तयारी गर्दै गरेको चर्चा चलिरहेको बेला गुणराज, लालबहादुर, एसपी नान्तीराज गुरुङ, मेयर रेनु दाहालसहितको वनभोज भरतपुर महानगरको नगर वन (नारायणी नदीको पुल तलको टापु)मा ‘प्रीतिभोज’ गरिएको थियो । सो प्रीतिभोजको विषयमा सोद्धा क. धुर्वले ‘मलाई पनि बोलाएका थिए तर म गइन । आफू नगएकोले सबै कुरा थाहा भएन’ भनेका थिए । प्रतिबन्धको जटिल समय जतिबेला हामी जेलमा थियौं । सहादत र यातनाको प्रक्रिया चल्दै थियो । तर गुणराजहरु प्रहरीसँग प्रीतिभोज गर्दै थिए । यस्तो छ वितण्डावादीहरुको चर्तिकला ।

‘एक पाइलो अगाडि, दुई पाइला पछाडि’ नामक कृतिमा भ्लादिमिर इल्यीच उल्यानोव ‘लेनिन’ले रुसी उखान प्रयोग गर्नुभएको छ– “हरेक अभियुक्तले आफ्नो न्यायाधीसलाई चौबिसै घण्टा सराप्न सक्ने अधिकार हुन्छ” । हामीले कारवाही गरेको कारण अभियुक्त छुचुन्द्राहरुले लामो समयसम्म सराप्ने छन् । त्यसलाई स्वभाविक ठान्नुपर्छ । किनकि अभियुक्त सँग आफ्ना न्यायाधीसलाई सराप्ने अधिकार सुरक्षित रहेको हुन्छ ।

प्रतिक्रियाहरु