हाइड्रोपावर कम्पनीलाई नियम विपरित कार्य नगर्न चेतावनी

२०७९ पुष १८ गते, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी लम्जुङले जिल्लाका केहि हाइड्रोपावर कम्पनीहरुले नियम विपरित काम गरेर पर्यावरणीय क्षति पुर्याएकोले तत्काल त्यसप्रकारका कानुन विपरित र जनचाहना विपरीतका कार्यहरू रोक्न चेतावनी दिएको छ । पार्टीका जिल्ला सेक्रेटरी गौरव सीद्वारा आइतबार जारी प्रेस विज्ञप्तीमार्फत नेपाल कम्युनिस्ट पार्टी लम्जुङले यस्तो चेतावनी दिएको हो।
नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति लम्जुङको हालै सम्पन्न बैठकमा ती हाइड्रोपावरले गरिरहेका काम र जनताको गुनासो एवम् मागबारे छलफल गरि केहि हाइड्रोपावरका कामहरु गलत ढङ्गले भैरहेकोप्रति पार्टीले तत्काल सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने यदि माग बमोजिम कार्यान्वयन नभए जनताले गर्ने संघर्षमा साथ दिने निर्णय भएको नेकपा केन्द्रिय सदस्य आक्रोश सी ले जानकारी दिएका छन् ।
सेक्रेटरी गौरवद्वारा जारी प्रेस विज्ञप्तीमा लम्जुङ जिल्लामा सञ्चालित लिवर्टी हाइड्रो इनर्जी ,हिमालय हाइड्रो ,लेड्को हाइड्रो पावर,चम्फावती ए हाइड्रोपावर लगाएतका कम्पनीहरुले सम्बन्धित क्षेत्रमा प्राकृतिक असन्तुलन हुने गरि गरिरहेको कार्य प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ।
विज्ञप्तीमा भनिएको छ:”जनताले उठाएका माग र सरोकार प्रति संबेदनसिल नबन्नु,कम्तीमा १० प्रतिशात पानी खोलामा छोड्नु पर्नेमा कत्तिपनि नछोड्नु जस्ता कार्य गर्नु हाइड्रोपावर कम्पनीहरुको गैरजिम्मेवार कार्य भएको प्रस्टै छ । यस प्रकारका माग , जन गुनासो र कानुन अनुसार कम्पनीहरुले गर्नु पर्ने दायित्वबाट नभाग्न हामी अनुरोध गर्दछौ।अन्यथा जनताले गर्ने संघर्षलाई सहयोग र समर्थन गर्न हाम्रो पार्टी बाध्य हुनेछ।”
नेपाल कम्युनिस्ट पार्टी लम्जुङको बैठकमा नेकपा केन्द्रिय सदस्य उभार सी र आक्रोश सी सहितको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु