नेपाली सामाजले खोजेको नयाँ राजनैतिक प्रणालीबारे

२०७९ पुष १६ गते, शनिबार

असल सी

राजनीति राजनीतिक सिद्धान्तमा आधारित हुन्छ । राजनीतिक सिद्धान्तहरु राजनीतिक दर्शन सामाजिक अन्तरविरोध अर्थ सम्बन्ध र अन्तर्राष्ट्रिय अवस्थाहरुको सही र वैज्ञानिक मूल्याङकनहरुको आधारमा निर्माण हुन्छन् । राजनीति, देश जनता र सामाज विकासको अग्रणी तथा निर्णयक शक्ति हो । वस्तुगत सामाजको सही मूल्याङ्कन गरी त्यसलार्ई अग्रगामी दिशा दिनु नै राजनीतिको मूल ध्यय रहने गर्दछ । नेपाली राजनीति पुरानो कोर्षको समाप्ती नहुँदै एउटा नयाँ कोर्षको माग गरिरहेको परिदृष्य हामीले देखिरहेका छौँ । एउटा तथ्य के प्रष्ट उजागार हुँदै गएको छ भने नेपाली समाजले राजनीतिमा नयाँ कार्षको माग गरेको छ । जनता नयाँ सत्ता वा व्यवस्था चाहन्छन् । नयाँ सत्ताको लागि नयाँ र जनताको राजनीतिक दर्शन सिद्धान्त बोकेको राजनीतिक पार्टी वा शक्तिको आवश्यकता पर्ने गर्दछ । हरेक राजनीतिको उदस्य सत्ता प्राप्त गर्नु नै हो । माओले एउटा महत्वपूर्ण विषय के भन्न्ुा भयो भने राज्य सत्ताबाहेक सबै कुरा भ्रम हो । हो राज्य कस्तो राजनीतिक प्रणाली र व्यक्तिको हातमा छ भन्ने कुराले त्यहाँको राजनीतिक अवस्थिति, सामाजिक विकास र जनताको अवस्था कस्तो हुन्छ भन्ने कुरा निर्धारण गर्दछ । श्रमिक वर्गको हातमा राज्य छ र सक्षम नेतृत्व पाएको छ भने त्यहाँका श्रमिक किसानहरुले दुःख पाउँदैनन् अर्थात त्यहाँ राजनीतिक सत्ता सवल सक्षम र नयाँ उत्साहसहित देश अगाडि बढेको हुन्छ यदि राजनीतिक प्रणाली सीमित पुँजीवादी दलालहरुहको हातमा छ भने त्यहाँ मुठिभर दलालहरुको लागि त्यो देश स्वर्ग झैँ रहन्छ भने आमनागरिक त्यो देशमा खुसी रहँदैनन् वा श्रमिक उत्पीडितहरुको त्यो देशमा खुसी खोसिएको वा लुटिएको हुन्छ । आज नेपाली समाजमा पनि केही मुठिभर मान्छेहरु वा पुँजीवादी दलालहरु स्वर्गको जिन्दगी जिइरहेका छन् भने आमगरीव किसान मजदुर र उत्पीडित नागरिक सत्ताको उत्पीडनबाट तड्पिरहेका छन् । नेपाली क्रान्तिकारी जनताको चाहना नयाँ जनचाहना अनुरुपको सत्ता स्थापना गर्नु रहेको छ वा नयाँ राजनीतिक प्रणालीको खोजी भैरहेको छ ।

नेपाली राजनीतिक अवस्था, सत्ता र अहिलेको वस्तुजगतमा देखिएका र भोगिएका सामान्य दृष्यहरुको विषयमा यहाँ चर्चा गरौं । भर्खर मात्र नेपालमा संसदीय प्रणालीको चुनाव सम्पन्न भएको छ चुनावमार्फत् केही थान नेता वा धनी–मानीहरु राज्यको बागडोर समाल्ने स्थानमा उक्लिएका छन् । मंसिर ४ गतेसम्म सबै यो देशका नेताहरु जोगिले भिक्षा मागेसरि गाउँमा समाजमा र घरघरमा पुगेका थिए । चार गतेसम्म गाउँघरमा भेटिने नेताहरु काठमाडौँका तारे होटेलहरुमा भेटिने भएका छन्, उनीहरुको रवाफ फेरिएको छ शान, मान फेरिएको छ । लुसुक्क परेर दुई हात जोडेर सास्टाङ दण्डवत गर्ने नेता भेटन सामान्य जनतालार्ई अब कठिन मात्र होइन असम्भव भएको छ । नेपाली राजनीतिमा यो लामै समय करिव चालीस वर्षदेखि निरन्तर चलिरहेको छ । अरु क्षमतावान प्रतिभाशाली त्यो देशमा मान्छे नै छैनन भने झै एउटै मान्छे पाँच सात पटकसम्म दोहो-याइ, दोहो-याई चुन्नु परेको स्थिति छ । सत्ता निर्माणका प्रमुख साधन श्रमिक जनता हुन ती जनता टवाल्ल परेर यही रंगमन्च हेरीरहन्छन् फेरि पाँच वर्ष उही दिनको पर्खाइमा कुरेर बसिरहन्छन् । हरेक पाँच वर्षमा उही प्रक्रिय दोहोरिरहन्छ पात्र पनि उसैगरी जनतामा आउँछन् जनतालाई गुलिया नारा बाँडछन् जनता फेरि मख्ख पर्छन् । खै थाहा छैन यो प्रक्रिया कहिलेसम्म दोहोरी रहने हो । तर, अन्य धेरै चुनावहरुभन्दा २०७४ को चुनावमा केही थोरै भए पनि फरकपन देखिन खोज्यो । यो फरकपन किन देखिन खोज्यो त यसका केही कारणहरु छन् । पहिलो कुरा पुराना राजनीतिक शक्ति र व्यक्तिहरु बदनाम बन्दै गए । यी राजनीति र सत्ताको उच्च तहमा रहेका व्यक्ति बैदेशिक शक्ति केन्द्रका दलाल बने । राज्यको सम्पतिमाथि अस्वभाविक दोहन गरे र लुटको स्वर्गमा रमाउन थाले । यो कुरा सामान्य जनताको आँखाले देख्ने गरी भए । जनतामा गहिरो गरी गढ्यो, परिणामतः शहरी क्षेत्रमा रवि, मधेशमा सिके र बालेनहरुको नेपाली राजनीतिमा अस्वभाविक उदय भयो । के भन्न सकिन्छ भने नेपाली जनता आमूल परिवर्तन चाहन्छन् तर खतरा मोल्न तयार छैनन । बदनाम भएका पुराना राजनीतिक पार्टी र व्यक्तिको रिस रविहरु राजनीतिमा आउँदा त्यसलाई साथ दिएको मात्र हो । रविहरु सही क्रान्तिकारी वा यही शक्तिबाट नेपाली जनताको मुक्ति हुने विश्वासले भोट हालेको भने होइन । मामा नै नहुनुभन्दा कानो मामा भने झैँ मात्र हो । रविहरुलाई सही वा क्रान्तिकारी ठानेर जनताले भोट दिएको भने होइन, यी शक्ति वा व्यक्तिबाट नयाँ आमूल परिवर्तनको आशा जनताले गरेको पनि छैन हुँदैन पनि । तर, पुराना दल र थोत्रा परेका बुढा नेताभन्दा नयाँ युवा र परीक्षण नभएका वस्तुप्रतिको आकर्षण भोटबाट ब्यक्त भएको मात्र हो । रविको अन्तत कुर्सी मोह कति रहेछ भन्ने कुरा सरकार बन्दा अनि कुर्सीको लागि भएको दौडधुपले प्रष्ट बनाइसकेको छ । रविहरुले एउटा नारा दिएका छन् कि व्यवस्था यही ठिक हो जनताको अवस्था बदल्ने हो यो कुराले पनि उनीहरुको पहिचान गराइसकेको छ । यो शक्ति पनि नेपाली जनताको शक्ति होइन बरु के झल्काउँदछ भने उहाँहरु एकदम प्रायोजित हुनुहुन्छ वा उहाँहरुलाई परिचालन वा निर्देशन गर्ने शक्ति अर्को कुनै छ । किन भने पुँजीवादभन्दा समाजवादी व्यवस्था नै जनताको व्यवस्था हो यो प्रमाणित कुरा हो यही प्रमाणित कुरा पनि भन्न सक्दैनन । श्रमिक जनताको यदि अवस्था वदल्न सकिन्छ भने केवल व्यवस्थाले मात्र बदल्न सकिन्छ धमिलो मुहानबाट सफा पानिको कल्पना गर्न सकिँदैन । यो व्यवस्था जनताको व्यवस्था नै होइन भने कसरी जनताको अवस्था बदल्न सकिन्छ । जनताको अवस्था बदल्न पहिले जनताको व्यवस्था ल्याउन जरुरी हुन्छ । जनताको व्यवस्था संसदीय राजनीति वा भोटबाट आउन त्यति संभव कुरा होइन । किनकि हरेक राज्य वा व्यवस्थाहरु बन्दुकको आडमा टीकेको हुन्छ बन्दुकलाई श्रमिक जनताको तागतसहितको बन्दुकले मात्र जित्न सकिन्छ यो सर्वहारा वर्गको निम्ति सार्बभौम कुरा हो । जनताको संसदीय राजनीतिप्रतिको असन्तुष्टि क्रान्तिको साधनको रुपमा ब्यक्त हुन सक्ने हो भने राज्य सत्ता जनताको हातमा आउन सक्ने संभावनाहरु नजिकिँदै गएका छन् । यही व्यवस्थामा गएका पात्र जोसुकै भए पनि केवल अहिलेका खलनायकभन्दा धेरै ठूलो परिवर्तनको सम्भावना रहँदैन । हाम्रोतिर एउटा उखान छ एक त काला यहाँ थिए झन् काला आएर बल्ल (गोरु) जल्काए रविहरुको सत्ता रोहन यही उखानको चरितार्थ हुने पक्का छ । पुराना राजनीतिक दलहरुको असन्तुष्टि असहमति र निराशा रविहरुमा सान्त्वनामा ब्यक्त भएको मात्र हो । अन्ततः रवि प्रबृति के हो र किन यति छिट्टै यो स्थानमा आइपुग्यो भन्ने कुरा सायद धेरै लामो समय पर्खन नपर्ला ।

संसदीय चुनावमा नेपाली जनताको अनेक्षा वा वितृष्णा प्रष्ट रुपमा प्रकट भएको छ । ६१ प्रतिशत भोट खसेको आदि इत्यादि जे भने पनि वास्तविकता त्यसो होइन । नेपालको जम्मा मतदाता नामावली भएका १८ वर्ष पुरा भएका भनिएको मतदाता १, ७९, ८८, ५७० मानिएको छ । यो नामावलीलाई समेत अवज्ञा गरेर वा प्रकृयामा समेत सहभागी नभएको एउटा मजबुत शक्ति नेपालमा छ, जसको यो मतदाता नामावलीमा नाम समेत छैन, त्यसमा राजनीतिक कारण मात्र नभएर अन्य केही कारण पनि छन् । अर्को सचेततापूर्वक खारेज बहिस्कार भनेर बाहिर बसेको ठूलै शक्ति छ जसको प्रभाव पनि नेपाली राजनीतिमा ठूलै परेको छ । अर्को मृत्यु भैसकेका मान्छे बिदेशमा रहेका मान्छे आदि इत्यादि गरेर कतिपय ठाउँमा एकजना व्यक्तिले दशवटा समेत भोट हालेको तथ्यहरु बहिरिएका छन् । यसरी जवरजस्ती ६१ प्रतिशत पु¥याएको छ । यसरी मापन गर्दा यो चुनावलाई कथित लोकतन्त्रको दुहाइ दिनेहरुले बुझ्नै पर्दछ कि यो चुनाव र चुनिएका व्यक्तिहरु बैधानिक नै कति छन् ? यसरी हेर्दा ५० प्रतिशत समेत भोट नखसेको मान्न पर्ने हुन्छ ५० प्रतिशत जनताले समेत आपूm खुसी प्रफुल्ल बनेर नहाली अपेक्षापूर्वक हालिएको भोट र त्यसलाई समेत अन्तराष्ट्र र नेपाली जनताले मान्यता दिनु जरुरी समेत हुँदैन । नेपाली जनताको संसदीय चुनावमा देखिएको अपेक्षा र बितृष्णाले के देखाउँछ भने एउटा नयाँ प्रक्रियाको थालनी अनिवार्य छ । अहिलेको राजनीतिक प्रणाली र व्यवस्थाप्रति जनता सन्तुस्ट छैनन् भन्ने कुरा प्रष्ट भएको छ । आज जनताले विस्तारै बुझ्दैछन् कि संसदीय पुँजीवादी व्यवस्था जनताको व्यवस्था होइन । जति टालाहाले पनि संसदीय व्यवस्थारुपी घर नयाँ बन्ने संभावना हुँदैन यो बिस्तारै भत्कँदै गएको छ । बरु नेपाली जनताको तागत र क्रान्तिकारी कम्युनिष्टहरुको एकताको बलमा छिटो भत्काउने र नयाँ वैज्ञानिक समाजवादी जनताको व्यवस्था निर्माणमा सबैको ध्यान जान जरुरी छ । रवि वालेन वा जोसुकै आएर यो व्यवस्थालार्ई टालटुल पार्न खोजे पनि यो घर नयाँ सुन्दर बन्ने संभावना रहँदैन यो बिस्तारै भत्कँदै कुरुप बन्दै गएको छ । कुरुप जनबिरोधी संसदीय व्यवस्थामा गरीव उत्पीडित श्रमिक जनताको अधिकार सुनिश्चित गर्न सम्भव हुँदैन । जव व्यवस्था र त्यो ब्यस्थाका नायक मानिएका पात्रहरु बदनाम बन्दै जान्छन् जनताबाट बहिस्कृत हुँदै जान्छन् साम्राज्यवाद र पुँजीवादले आफ्नो व्यवस्था रक्षा गर्न नयाँ–नयाँ पात्रको खोजी गर्दछ र खडा गर्ने गर्दछ वा आफ्ना विश्वास पात्रहरु नयाँ–नयाँ रुपमा पठाउने गर्दछ । विश्वभर यस्तो गरेका कयौ उदाहरणहरु छन्, उदाहरणको लागि युक्रेनमा जेलेनस्की जसले साम्राज्यवादलाई खुसी पार्न युक्रेनमा युद्ध नै निम्त्याए । साम्राज्यवादले नेपालमा पनि त्यस्ता कयौ पात्रहरु खडा गर्न वा पठाउन सक्दछ वा पठाएको हुन सक्दछ । ती पात्रहरु राजनीतिक सिद्धान्तभन्दा भावनाको राजनीतिद्वारा जनतामा जान्छन् र विश्वास दिलाउन खोज्दछन् । भावनाको मात्र राजनीतिले निश्चित समय न्यानो त बनाउन सक्दछ तर उही पुरानै रोगको पुनराबृत हुने कुरा निश्चित हुन्छ । राजनीतिक सिद्धान्तलाई लुकाएर पुँजीवादी संसदीय राजनीतिक प्रणालीको रक्षाकवज बन्ने जो कोही भए पनि ती नेपाली श्रमिक उत्पीडित वर्गका दुश्मन नै हुन् ।

उसो भए अवको विकल्प के ? भन्ने प्रश्न उठछ । साथै विकल्पहरु त्यति सहज त हुँदैन छैनन् पनि तर यदि नेपाली जनताले चाहने हो भने असम्भव पनि हुँदैनन् । विज्ञानले हरेक वस्तुको विकल्पको कुरा स्वकार्दछ । पुँजीवादको विकल्प समाजवाद हो । पुँजीवादी व्यवस्था निश्चित वर्ग र व्यक्तिको व्यवस्था हो भने समाजवाद गरीव श्रमिक वर्गको व्यवस्था हो । आजसम्म श्रमिक वर्गले सत्ता संचालन गर्न पाएको छैन सधैँ अपमानको जीवन जिउन परेको छ त्यसकारण श्रमिक वर्गको सत्ता नै अहिलेको व्यवस्थाको साश्वत विकल्प हो । समाजवादी सत्ता प्राप्त गर्ने विधि संसदीय चुनाव होइन वा संसदीय राजनीतिक प्रणालीको माध्यमबाट समाजवाद प्राप्त हुन सक्दैन । संसदीय चुनावले केही धनी–मानीहरुलाई मात्र चुन्ने गर्दछ । ती व्यक्ति जनउत्तरदायी रहँदैनन् भन्ने कुरा हामी सबैले घाम झै छलङ्ग देखिसकेका छौँ । पुँजीवादले सामन्तवादबाट सत्ता बल प्रयोग गरेर आफ्नो हातमा लिएको थियो भने पुँजीवादबाट पनि श्रमिक वर्गले बल प्रयोगमार्फत् मात्र आफ्नो सत्ता प्राप्त गर्न सक्दछन् । संसदीय चुनावबाट मात्र समाजवाद आउँछ भन्नु गोरु ब्याउँछ र दूध खान पाइन्छ भन्नु उस्तै उस्तै कुरा हो । कि यो कुरा अनभिज्ञता हो कि झुट बेइमान कुरा हो । हो यदि संसदीय राजनीतिबाट राम्रो व्यक्ति चुनिएमा वा रहेमा केही सुधारका काम हुन सक्दछन् तर आमूल परिर्वतन हुने र श्रमिक उत्पीडितको सत्ता प्राप्त हुने संभावना हुँदैन । किनकि मुख्य कुरा प्रणाली नै हो प्रणाली बेठिक छ भने व्यक्ति राम्रो हुनु वा नहुनुमा तात्विक अन्तर रहँदैन । अर्को कुरा के सत्य हो भने संसदीय प्रणालीमा राम्रो इमान्दार सक्षम व्यक्ति चुनिन नै संभव रहँदैन । यस्तो व्यवस्थामा चुनिने भनेको केवल दलाल भ्रष्ट ठेकेदार अनैतिक बेइमानहरु मात्र चुनिन्छन् किनकि ब्यवस्था जस्तो छ व्यक्ति त्यस्तै चुहिने कुरा हो, यो व्यवस्था भनेको त्यस्तै व्यक्तिहरुको व्यवस्था हो । समाजवादी व्यवस्थामा जनताको प्रतिनिधि चुनिन्छन् भने पुँजीवादी व्यवस्थामा पुँजीवादको प्रतिनिधि नै चुनिन्छन् । समाजवादी क्रान्तिको महाअभियान क्रान्तिकारी कम्युनिष्टहरु र आम श्रमिक उत्पीडितको एकतामा मात्र संभव छ । आफ्ना राजनीतिक सिद्धान्तलाई जनताको स्तरसम्म पु¥याउने र जनतालाई समाजवादी व्यवस्था आफ्नो व्यवस्था भएको अनुभूति बनाउने गरी नेपालका क्रान्तिकारी कम्युनिष्टहरुले बेलैमा सोच्नु पर्दछ । नयाँ प्रणालीको जनचाहनालाई क्रान्तिकारीहरुले सम्वोधन गर्न सक्दछन् र गर्नु पर्ने नै हुन्छ ।

प्रतिक्रियाहरु