माओको मार्ग ः मुक्ति मार्ग

२०७९ पुष ११ गते, सोमबार

पुस ११ गते, विश्व सर्वहारावर्गका महान् नेता माओ त्सेतुङको १३० औँ जन्म दिन । माओ त्सेतुङ एक क्रान्तिकारी, राजनीतिक विचारक र साम्यवादी दलका नेता थिए, जसको नेतृत्वमा चीनमा क्रान्ति सफल भएको थियो । उनले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल सन् १९४९ देखि यता उनको मृत्यु भएको मिति सन् १९७६ सम्म चीनको नेतृत्व सम्हालेका थिए । माक्र्सवादी, लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको उनको सिद्धान्तलाई माओवादको नामले चिनिन्छ । माओले आफ्ना नीति र कार्यक्रमका माध्यमले वर्तमान चीनको आर्थिक तथा सांस्कृतिक विकास तथा पिछडिएको देशलाई संसारको प्रमुख शक्तिको रूपमा खडा गराउन अद्वितीय भूमिका निर्वाह गरेका थिए । हाल विश्वका थुप्रै देशमा माओको दिशानिर्देशनमा क्रान्तिको यात्रा जारी छ । माओ कै नीति अँगाल्दै नेपालमा पनि दस वर्ष जनयुद्ध भयो । तर, दस वर्ष जनयुद्ध हाँकेका नेताको विचलनताका कारण क्रान्ति पूरा हुन् सकेन । जसको फलस्वरुप देश संसदीय भासमा फस्न पुगेको छ ।

दस वर्ष जनयुद्ध हाँकेका नेताको विचलनताका कारण पूरा हुन नसकेको नेपालको क्रान्तिलाई पूरा गर्न नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशाका साथ अगाडि बढेको छ । जसलाई निस्तेज पार्न सरकारले प्रतिबन्धसमेत लगायो तर नेकपाप्रतिको जनलहर देखेर सरकारले प्रतिबन्ध थेग्न सकेन र तीन बुँदे सहमतिमार्फत् प्रतिबन्ध फिर्ता लिन बाध्य भयो । तर २२ महिना बित्न लाग्दा समेत उक्त तीन बुँदे सहमति पूर्णरुपमा कार्यान्वयनमा आएको छैन । यहीबीच वर्तमान सरकारले नेपाल कम्युनिस्ट पार्टी र तत्कालिन सरकारबीच भएको ३ बुँदे सहमति पूर्णरुपमा कार्यान्वयनका लागि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न ‘मुलुकी फौजदारी कार्यविधि संहिता ‘पहिलो संशोधन’ अध्यादेश, २०७९’ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो तर राष्ट्रपतिवाट अहिलेसम्म उक्त अध्यादेश जारी भएको छैन । नेकपासँग ३ बुँदे सहमति भइसकेपछि उक्त पार्टीलाई शान्तिपूर्ण ढंगले राजनीतिक कार्यक्रम गर्न र जनता माँझ जान यो वा त्यो बहाना गर्दै सरकार र संसद्वादी दल र नेताहरुले अबरोध गर्दै आइरहेका छन् । यहीबीचमा स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएको छ, संसद्वादी दल र नेताहरु फेरि आपूm कसरी सरकारमा पुग्ने र राष्ट्र र जनतामाथि लुट मच्याउने भन्नेमै केन्द्रित भएका छन । संसद्वादी दल र नेताहरुको यस प्रकारको हर्कतदेखि आमस्वाभिमानी जनता वाक्कदिक्क भएका छन् । अब देश र जनता यी संसद्वादी दल र नेताको चङ्गुलबाट मुक्त हुन नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशामा सामेल हुनुको विकल्प छैन । यसर्थ, नेपालका तमाम क्रान्तिकारी राजनीतिक दल, नेतालगायत आमक्रान्तिकारी संघ÷संगठन र व्यक्तिले नेपाल कम्युनिस्ट पार्टीको एकीकृत जनक्रान्तिको कार्यदिशालाई साथ र सहयोग गर्दै नेपालमा वैज्ञानिक समाजवाद लागू गर्नु अनिवार्य भएको छ । अन्यथा देश र जनताको भविष्य अन्धकार हुने निश्चित छ । तसर्थ, देश र जनतालाई दलाल संसदीय व्यवस्थाको चङ्गुलबाट मुक्त पारी स्वन्तन्त्र राष्ट्र र स्वाधीन नेपाली बन्न र बनाउन नेपाल कम्युनिस्ट पार्टीलाई साथ र सहयोग गर्नु आमराष्ट्रप्रेमी र जनप्रेमी दल, नेता र स्वाभिमानी नागरिकको दायित्व हो, यो दायित्वबाट कोही पछि नहटौँ । देशमा संसद्वादी व्यवस्था विघटन गरी वैज्ञानिक समाजवाद लागू गर्ने सके मात्र विश्व सर्वहारावर्गका महान् नेता माओ त्सेतुङप्रति सच्चा सम्मान हुनुको साथै नेपाल र नेपालीको मुक्ति हुनेछ, चेतना भया ।

प्रतिक्रियाहरु