जनयुद्धको देन र एकीकृत जनक्रान्तिको लहर…

२०७९ मंसिर १८ गते, आईतवार

लोमनकुमार सुनार ‘प्रतिबद्ध’

ई. एच. कारको शब्दमा ‘इतिहास विगत र वर्तमानबीचको कहिल्यै नसकिने वार्तालाप हो’ । विगतको स्मरण, वर्तमानको यथार्थता र भविष्यको कल्पनाबीच कुनै पनि मानिस वा पार्टीको जीवन गतिमा चलिरहेको हुन्छ । जब गति अवरुद्ध हुन्छ, अक्सर मानिसहरू ती नियमहरु सुचारू गर्दैनन् र यथास्थितिलाई नै स्वीकार गर्छन् । तर, कुनै त्यस्ता मानिस, पार्टी र वैज्ञानिकहरुको समूह पनि हुन्छन् । जसले यथास्थिति क्रमभङ्ग गरी अवरुद्ध नियमलाई सुचारु गर्दै नयाँ प्रयोग, सिद्धान्त र विधि विज्ञानको अनुसन्धान गर्छ्न । चाहे त्यो समाज विज्ञानमा होस् अथवा भौतिक विज्ञान र विज्ञानका विविध शाखाहरुमा नै किन नहोस् त्यो नियम अनिवार्य छ । नेपालीको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको इतिहास नयाँ विचार, कार्यदिशा, रणनीति र कार्यनीतिको अनुसन्धान, मेल, बेमेल, सुचारू र अवरुद्धताको बीचबाट नै गुज्रिँदै आएको छ । यद्यपि संघर्ष, विद्रोह र क्रान्तिहरु पनि आरम्भ, उठान, पतन र पुनर्निर्माणको विविध प्रक्रियाबाट यहाँसम्म आइरहेका छ्न । स्मरण नै छ १९ औं शताब्दीको उत्तरार्धबाट युरोपमा आरम्भ कम्युनिस्ट क्रान्ति २० औं शताब्दीसम्म विश्वका धेरै देशहरूमा फैलियो । तर, त्यो क्रान्तिको लहर २१ शताब्दीको पहिलो बिहानीमा मात्र हिमालयको देश नेपालसम्म पुग्यो । अर्थात् क्रान्ति र प्रतिक्रान्तिका थुप्रै अनुभवहरुसहित २०५२ फागुन १ जनयुद्धको शंखनाद भयो । जनयुद्ध प्रतिक्रियावादी राज्यसत्ताविरुद्ध जनताद्वारा गरिएको सचेत युद्ध थियो । तसर्थ, नेपालको सन्दर्भमा क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र समग्र वर्गसंघर्षको उत्कर्ष र निर्णायक जनयुद्ध हुन पुग्यो ।

सामन्तवादी राज्यसत्ता र राजतन्त्रात्मक संसदीय व्यवस्थाविरुद्ध सर्वाधिक शक्तिशाली संघर्षको आधी जनयुद्धले नै उराल्यो । निरंकुश पन्चायत, सामन्ती राजतन्त्र र खुनी बहुदलीय प्रजातन्त्रको कठोर शासनकाल कम्युनिस्ट आन्दोलन फुट, गुट र विभाजनको भंगालोमा चोइटीरहँदा पारम्पारिक विरासत क्रमभङ्ग गरी नयाँ एकता र सम्झौताहीन संघर्षको नवीन अध्यायको सुरुवात जनयुद्धले ग¥यो । जनयुद्ध भोकाहरुको पेटमा बलिरहेको आगो थियो । दमितहरुको सुस्केकार थियो । नदेखिएका र नचिनिएकाहरुको पहिचान थियो । दबिएकाहरुको युगान्तकारी बिद्रोह थियो । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ४६ वर्ष पछि प्रतिक्रियावादी राज्यसत्ताद्वारा जनता माथि थोपरिएका सबै प्रकारका अन्याय, अत्याचार, शोषण, दमन र विभेदका विरुद्ध सिङ्गो न्यायाप्रेमीहरुलाइ लडन र बिद्रोह गर्न जनयुद्धले प्रेरणा दियो । एक दशक लामो जनयुद्धले देशको ८० प्रतिशत भूभागहरुमा नियन्त्रण र जनसत्ता संचालन गरी वर्गीय, जातिय, क्षेत्रीय, लैङ्गिक समस्याहरुको उठान र समाधानसहित गणतन्त्र, धर्म निरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्व, स्वायत्तता र सङ्घीयतालगायत थुप्रै विषयको उठान ग¥यो । तर, वास्तविक जनवादी गणतन्त्र ल्याउन विजयको सन्निकट पुगिरहेको बेला प्रचण्ड र बाबुरामको बिचलनता र आत्मसमर्पण कै कारण विधिवत २०६३ मङ्सिर ५ गते कथित विस्तृत शान्ति सम्झौताबाट जनयुद्धलाई सम्झौतामा टुङ्ग्याइयो । नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र जनयुद्धको इतिहासमा त्यो कालो दिन थियो । ती दिनहरुदेखि नै नेतृत्वले सहिद, घाइते, वेपत्ता, नेता, कार्यकर्ता र श्रमिक जनताको सपनाहरुलाइ अलपत्र पा¥यो ।

मानव मुक्तिको सपना देखेर समर्पण र बलिदानको उच्च श्रेणीमा हजारौं नेता–कार्यकर्ताहरु उदात्त भावनाले जो जयुद्धमा लड्न, भिड्न, वेपत्ता बन तयार भए । ती सबैका सपनाहरूलाई प्रचण्ड बाबुरामहरुले अन्योलताको रसातलमा भासिदिए । तर, जनयुद्धको सपना थियो कि राज्यसत्ताबाहेक अरु सबै भ्रम हो । तसर्थ पुरानो प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त पार्दै नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्ने, सामन्तवाद र साम्राज्यवादलाई ध्वंस पार्दै समाजवादी क्रान्तिमा अघि बढ्ने, तथा सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा सांस्कृतिक क्रान्ति चलाउँदै मानव जातिकै सुन्दर भविष्य साम्यवादमा पुग्ने सपना थियो । तर, गन्तव्यमा नपुग्दै सपनाहरु तुहिए दुखको कुरा ती सपनाहरूको हत्यारा नै जनयुद्धको मुख्य नेतृत्व बन्यो । अर्थात् बर्तोल्त ब्रेख्तको शब्दमा “हाम्रा सपनाहरूको हत्यारा आफ्नै विछ्यौनामुनि लेकेको उडुस हो ।” आफैँले देखेको सपनाको हत्या गर्नेहरु नै सर्वहारावर्गको लागि खतरा साबित भए । भारतीय कवि पासको कविताको हरफ निक्कै यथार्थ लाग्छ । “सबैभन्दा खतरनाक हुन्छ हाम्रा सपनाहरूको मृत्यु हुनु ।” थप लेनिनको सपनाबारे सम्झनु पर्ने भनाइ छ “सपनाहरू भनेका नयाँ सम्भावनाहरुका उद्घोष हुन्” तर ती सपनाहरू निदाउनको लागि होइन अघि बढ्नको लागि हुनुपर्दछ । विडम्बना जनयुद्धको लक्ष्य, उद्देश्य र सपनाहरु बालुवाटार र सिंहदरवारको मोहनी जालमै अलमस्त परे ।

यद्यपि सिंहदरबारमा भित्रिएको जुन सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन छ । यो नामधारी गणतन्त्र पनि जनयुद्धको बलमा नै प्राप्त भएको हो । सहिदहरुको रगतमा खडा भएको हो । शोषितहरुको त्याग र कुर्वानीमा जन्मिएको हो । घाइते, वेपता योद्धाहरुको समर्पणमा वामे सरेको हो र क्रान्तिकारी पुस्ताको दशकौं लामो निर्मम तपस्याबाट हुर्किएको हो । विडम्बना गणतन्त्रले भोकाहरुलाइ चिनेन, गरिबहरुलाई छोएन र दमितहरुको चित्कारै सुनेन यो वास्तविक गणतन्त्र रहेन, हुन सकेन । बरु अनेकौं प्रतिक्रान्तिको झोक्काले यो गणतन्त्र दलाल पुँजीवादी व्यवस्थामा फेरियो । तर, नवपुस्ताले जुन गणतन्त्रको स्वाद चाख्न खोजी रहेको छ यो त गणतन्त्र होइन, फेरिएको दलाल पुँजीवादी राज्य व्यवस्था हो । अमृतमा मिसाइएको मन्द विष हो ।

नेपालमा गणतन्त्रवारे झिनो आश त्यतिबेलासम्म थियो । जतिबेला २०६४ चैत्र २८ मा सम्पन्न निर्वाचनबाट बनेको पहिलो संविधान सभा थियो । जब पहिलो सविधानसभा विघटन गरियो । त्यसपछि गणतन्त्रको उल्टो यात्रा सुरु भयो । सर्वत्र प्रतिक्रान्ति फैलियो । तथ्यले पुष्टि गर्छ २०६२÷६३ जनआन्दोलन पूर्वकाँग्रेस गणतन्त्र विरोधी हो । त्यो संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको हिमायती थियो । एमाले कहिले प्रतिगम सच्चियो भन्थ्यो र शाही शासनमा सामेल हुन्थ्यो । राजाको पाउमा बिन्ती गथ्र्यो । अर्थात् एमालेको केही नेताहरु नवनिर्मित कैलासकुट भबनको छतमा बसेर जनआन्दोलनको रमिता हेर्दै गणतन्त्रलाई बयलगाढाको संज्ञा दिन्थे । अरु मण्डलले, कुण्डले, राजावादी र वामफाइफुट्टीहरुको त कुरा छाडौं । त्यस्तो घोर प्रतिगामी राजनीति धरातलमा हुर्किएका पुपाहरुसँग जनयुद्धको कमान्डरहरुले कसरी राजनीति नाता जोडन पुगे ? सहिदको खेती किन गरे ? सहिदको रगतले लतपतिएको झण्डालाई किन चिहानमा फाले ? घाइते जिन्दगीहरुलाई किन छट्पटिन बाध्य पारे ? वेपता योद्धाहरुको खोजी किन गरेनन् ? कार्यकर्ताहरुलाइ किन सडकमा अलपत्र पारे ? श्रमिक जनताहरुको सपनाहरु माथि किन तुषारापात गरे ? यिनी बहुआयामिक प्रश्नहरुको उत्तर र समाधान निक्कै क्लिष्ट विषय हो । यिनै प्रश्नहरुको उत्तर, समाधान र वैज्ञानिक समाजवाद प्राप्तिको नयाँ मार्ग त हो नि एकीकृत जनक्रान्ति ।

एकीकृत जनक्रान्तिको आरम्भ त्यो समय र चरणमा भयो । जतिबेला देश प्रतिक्रान्तिले लपेटिएको थियो । दलाल पुँजीवादको विगविगी छायकै थियो । संसदवादी पार्टीहरु क्रान्तिविरुद्ध उर्लिरहेकै थिए । आपूmलाई कम्युनिस्ट र वर्गसंघर्षको हिमायती ठान्ने प्रचण्डमा दक्षिणपन्थी संशोधनवाद, राष्ट्रिय आत्मसमर्पणवाद मौलाइरहेकै थियो र बाबुराममा झन् उदाङ्गिएको पलायनता र भँडुवा विकासवाद साथै कमरेड किरणमा झाङ्गिँदै गएको जडता, अन्योलता र अन्धकारको पर्दा निक्कै खतरनाक थियो । ती सबै खतरा, खराबी र प्रतिक्रान्तिलाई चिर्दै कमरेड विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्तिको उद्बोधन र महान् यात्राको थालनी पुरानो निरन्तरताको क्रमभङ्गता र नयाँको सुरुवात हो ।

वर्गीय समाजमा वर्गसंघर्षलाई निरन्तरता दिन र अधुरो, अपुरो क्रान्तिको कार्यभारलाई पूरा गर्ने विषय सामान्य होइन र थिएन । विगतको शिक्षा र वर्तमानको यथार्थबीच नवीनतम क्रान्तिको खाका कोर्ने कुरा जटिल से जटिल थियो । त्यसको लागि हजारौं नेता, कार्यकर्ताहरुलाई जुझारु, क्रियाशिल र लाखौं जनताको पंक्तिलाई क्रान्तिको प्रक्रियामा गोलबद्ध गर्नै पथ्र्यो । त्यस्तो ऐतिहासिक कार्यभार क्रान्तिकारी कम्युनिस्ट पार्टी र दुरदर्शी नेतृत्वबाट मात्र सम्भव थियो । एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत् सबै सम्भावनाहरुको ढोका कमरेड विप्लवले खोल्नु भयो । जनमनले देख्न, सुन्न, महसुस र भोग्ने गरी कार्यदिशा, रणनीति र कार्यनीतिले व्यापकता पायो अर्थात पाइरहेको छ ।

परन्तु क्रान्ति जटिल प्रक्रिया हो । पुरातन कार्यदिशा र अरुहरु हिँडेको बाटोबाट क्रान्ति सम्भव हुँदैन । अवश्य पनि आफैँले खन्दै, बनाउँदै, अजङ्गको महाविपत्तिहरु झेल्दै, गम्भीर चुनौतीहरुको सामना गर्दै, नयाँ शिखर यात्रामा लम्कनु पर्दछ । बाटो बनाउँदै गर्दा भीमकाय चट्टान देखिन्छन् । दुश्मनको काँडेतार र पर्खालहरुले भेटिन्छन् । वर्ग वैरीहरुले थापेका एम्बुस र अन्य धरापहरुमा पर्न सकिन्छ । जब क्रान्तिको बेगवान् प्रवाहले ती सबैलाई छिचोल्दै अघि बढ्छ । तब मात्र हाम्रो आस्था र विश्वासको गन्तव्य वैज्ञानिक समाजवादमा पुग्ने राजमार्ग तयार हुँदै जान्छ । तर, त्यस्तो राजमार्ग तयार गर्न अपवादबाहेक हाम्रो देशका अरु आपूmलाई कम्युनिस्ट पार्टी भनिनेहरु तयारै देखिँदैनन् । आज पनि तिनीहरु दलाल पुँजीवादको रेडिमेट राजमार्गमा कुदिरहेका छन् ।

२१ औं शताब्दीमा भू–मण्डलीकृत पुँजीवाद र दलाल पुँजीवादको अत्याचार, बर्बरता, लुट, दमन, शोषण, विभेद र हिंसात्मक रेडिमेट राजमार्ग भत्काउन नयाँ यात्रा, नयाँ बाटो, नयाँ दिशाबोधसहित एकीकृत जनक्रान्ति अनेकौं घुम्ती मोडहरु पार गर्दै रक्तिम क्षीतिज आँगमनको नयाँ सघारमा पुगेको छ । एकीकृत जनक्रान्तिले आफ्नो विकास प्रक्रियामा नेपाल र परिवर्तित विश्वका विशेषताहरु पक्रँदै नयाँ संश्लेषण गरेको छ । २१ औं शताब्दीमा विश्वको आर्थिक चरित्र, राजनीतिक चरित्र, युद्ध संघर्षको चरित्र, सांस्कृतिक चरित्र, विज्ञान र प्रविधिको विकास, त्यसले पैदा गरेको आइसिटी क्रान्ति र हाइटेक क्रान्तिको वेभ, यातायातको तीब्र विकास, शिक्षा, स्वास्थ्य, पर्यावरण, भूराजनीतिक र अर्थराजनैतिक अन्तर्विरोध साथै विश्वदृष्टिकोण, राजनीति व्यवस्था र विचारधारात्मक क्षेत्रमा नयाँ पहलुहरुको निरुपण गरेको छ । विशेषतः दर्शन, अर्थप्रणाली, वैज्ञानिक समाजवादी व्यवस्था, संस्कृति, चौथो अन्तर्रास्ट्रिय गठनबारे यी व्यापक बहुआयामिक सश्लेषणहरुले सिङ्गो युग परिवर्तनको आधारशीला तयार गरेको छ । तसर्थ भूमण्डलीकृत पुँजीवाद, दलाल पुँजीवाद, संसद्वाद, संशोधनवाद, जडसुत्रवाद, रुढीवाद, गोलचक्करवाद, आत्मसमर्पणवाद र विसर्जनवादको विरुद्ध निर्णायक क्रान्तिको आँधीमा सिङ्गो देश लपेटिँदैछ । भूमण्डलीकृत पुँजीवाद र दलाल पुँजीवादको सिस महलमा एकीकृत जनक्रान्तिको उर्लंदो लहर र उभारमा सर्वहारा वर्गले विनाशको आगो झोसिदिने छ । त्यतिबेला एकीकृत जनक्रान्तिको लहरलाई कसले रोक्न सक्छ ?

प्रतिक्रियाहरु