लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ मंसिर २३ गतेदेखि

२०७९ मंसिर १४ गते, बुधबार


काठमाडौं । लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म संचालन हुने बताइएको छ। सिद्धार्थ उद्योग बाणिज्य संघले ‘पर्यटन, कृषि र उद्योगको बृहत्तर विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ भैरहवामा महोत्सव गर्न लागेको हो । संघले आयोजना गर्न लागेको यो मेला आठौं संस्करण हो । कृषि, पर्यटन, औद्योगिक एवं व्यापार र कलासंस्कृतिको संरक्षण र प्रद्र्धन गर्ने उद्देश्यले भैरहवामा संचालन हुन लागेको लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ को तयारी तिव्र पारिएको छ । महोत्सवले भैरहवालगायत सिंगो रुपन्देहीको आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।अहिले महोत्सव हुने स्थल अंचलपुरमा धमाधम संरचना निर्माणको काम भइरहेको छ । सचिवालय निर्माण सकिएको छ भने प्रवेशद्वार र मंच निर्माणको काम जारी छ । यस्तै, स्टलका लागि संरचना बनाउने र कुस्ती खेलका लागि माटो पट्याउने काम पनि सकिनै लागेको स्टल तथा स्थल व्यवस्थापन समिति संयोजक मंगल भण्डारीले जानकारी दिए । ‘हामीले रातदिन नभनी कामलाई तिव्रता दिएका छौं, छिट्टै मेलास्थलमा बन्ने सम्पूर्ण संरचना तयार हुनेछन्’, उनले भने । महोत्सवस्थलमा संरचना निर्माणसँगै अहिले स्टल दर्ता गर्ने काम पनि धमाधम भइरहेको आयोजकले जनाएका छन् । संघका अनुसार अहिलेसम्म २ सय बढी स्टल दर्ता भइसकेका छन् । ‘स्टल दर्ताका लागि आउनेहरु कयौं हुनुहुन्छ, सोचेभन्दा धेरै व्यवसायीले मेलामा स्टल राख्न खेज्नुभएको छ’, संघका उपाध्यक्ष एवं स्टल दर्ता समिति संयोजक नेत्रप्रसाद आचार्यले भने, ‘धेरै व्यवसायी स्टल दर्ता गर्न आएको देख्दा हामी निकै उत्साहित छौं ।’ उनकाअनुसार मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म संचालन हुने उक्त महोत्सवमा विभिन्न उत्पादनका गरी २ सय ५० स्टलहरु रहनेछन् ।लामो समय कोरोना महामारीले थला परेको उद्योग–व्यवसायलाई फस्ट्याउन र बजार चलायमान बनाउन महोत्सव कोशेढुंगा हुने अपेक्षा आयोजकले गरेका छन् । मेलालाई सफल बनाउन अहिले सहरदेखि गाउँबस्तीसम्म प्रचार–प्रसारको काम भइरहेको छ । ‘हामीले सहरी क्षेत्र र ग्रामीण इलाकालाई बराबरी प्राथमिकता दिएर प्रचार–प्रसारको काम गरिरहेका छौं’, महोत्सव प्रचार–प्रसार समिति संयोजक कृष्णप्रसाद घिमिरेले भने, ‘जसले गर्दा महोत्सव भर्न आउने दर्शकको चाँप अत्यधिक हुने अपेक्षा छ ।’घिमिरेले लामो समय भैरहवा क्षेत्रमा महोत्सव हुन नसकेकाले पनि यसपटक संघले आयोजना गरेको मेलामा दर्शकको घुइँचो लाग्ने विश्वास व्यक्त गरे । ‘हामीले प्रचार–प्रसारका क्रममा धेरै उद्योगी–व्यवसायी, सहरदेखि ग्रामीण क्षेत्रका स्थानीय र सर्वसाधरण मेलाप्रति उत्साहित देखिएको पाएका छौं’, घिमिरेले भने, ‘यसले पनि संघलाई प्रेरणा मिलेको छ । यस्ता व्यापार मेला निरन्तर गर्नुपर्छ भन्ने बल पुगेको छ । ‘मेलामा स्थानीय उत्पादन प्रदर्शनीसँगै राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ भने विद्यालयस्तरीय नृत्य प्रतियोगिता र भ्वाइस अफ भैरहवा प्रतियोगितासमेत आकर्षणका रुपमा रहेको छ’, मेला मूल आयोजक समिति संयोजक एवं संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले भने, ‘मेलाले रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा ब्यापारिक केन्द्रको रुपमा बिस्तार गर्न, यस क्षेत्रका विभिन्न जातजातिका कला–सांस्कृतिकोे संरक्षण गर्दै मुख्यतः सिद्धार्थनगर र लुम्बिनी प्रदेशको आन्तरिक र बाह्य पर्यटनलाई प्रबद्र्घन गर्ने, विभिन्न जिल्लाका मौलिक विशिष्टता बोकेका बस्तु तथा उत्पादनहरुको प्रर्दशनी तथा प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य हो ।’महोत्सवले उद्योग तथा ब्यापारिक प्रतिष्ठान, स्थानीय घरेलु तथा साना उद्योग, महिला हस्तकला र यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्नुका साथै आन्तरिक एवं वाह्य पर्यटकको आगमनमा वृद्घि गराउन समेत भूमिका खेल्ने न्यौपानेले बताए । ‘मेलामा गौतमबुद्ध जन्मस्थल लुम्बिनीसँगै यससँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राम लगायतका क्षेत्रमा रहेका पुरातात्विक पर्यटकीय क्षेत्रहरुमा विशेष प्याकेज बनाई भ्रमणको व्यवस्था समेत गराइनेछ’, उनले भने, ‘यसले आन्तरिक मात्रै नभई भारतीय पर्यटकलाई समेत आकिर्षत गर्ने छ ।’ मेलामा एकै स्थलमा थरिथरिका सामान खरिदविक्री गर्न र स्वाद चाख्न पाइने भएकाले पनि सर्वसाधरणको उल्लेख्य सहभागिता हुने विश्वास संघको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु