निर्वाचनबाट पुँजिवादका नयाँ दलालहरु निर्वाचित भए !

२०७९ मंसिर १३ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पार्टीका केन्द्रीय सदस्य सविन सीले दलाल पुँजिवादी संसदीय व्यवस्थाकाे हालै सम्पन्न कथित निर्वाचनबाट राष्ट्रघात गर्न पुँजिवादका नयाँ दलालहरु निर्वाचित भएको बताएका छन । नेपाल कम्युनिस्ट पार्टी रुकुम (पश्चिम) काे तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता सविन सीले भने – ‘जनताद्वारा खारेज गरिएको निर्वाचनबाट शंख, घण्ट बजाउँदै साम्राज्यवादका नयाँ एजेण्टहरु देखा परेका छन्।’ कथित निर्वाचनबाट आएका विदेशीका पुराना र नयाँ दलालहरुले देश जनताको लागि विकास गर्ने नभएर राष्ट्रघातका श्रृङखला मात्रै थाेपर्ने उनको भनाई थियो ।
यसैगरी, सोही बैठकलाई सम्बाेधन गर्दै पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य भीम सीले नेपालका अधिकांश जनताले वैज्ञानिक समाजवाद चाहेको बताए । उनले हालै सम्पन्न दलाल पुँजिवादी संसदीय व्यवस्थाकाे कथित निर्वाचनमा नेपालकाे इतिहासमै सबैभन्दा कम जनता सहभागी भएको तथ्यबाट नेपालमा वैज्ञानिक समाजवाद अपरिहार्य हुन आएको प्रमाणित भएको बताए ।
नेपाल कम्युनिस्ट पार्टी रुकुम (पश्चिम) काे तेस्रो पूर्ण बैठकले भाष्कर सीलाई जिल्ला सचिवमा निर्वाचित गरेको छ ।
यसैगरी, उक्त बैठकले जिल्ला सचिव चन्द्र सी पार्टीको नवाैं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकाेले भाष्करलाई नयाँ जिल्ला सचिव निर्वाचित गरेको छ । जिल्लाकाे आठबीसकाेट नगरपालिकाकाे राडीबजारमा बसेकाे तेस्रो पूर्ण बैठकमा पार्टीका केन्द्रीय सदस्य सविन सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य भीम सी, जिल्ला सल्लाहकार समितिका संयाेजक सार्थक सी, छलाङ सी, अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य हरि पुन लगायतहरुकाे बिशेष उपस्थिति रहेको थियो ।
बैठकले थै जिल्लाभरि पार्टीको संगनात्मक अभियान चलाउने निर्णयसमेत गरेको छ। अभियानमा पार्टीका सेल समिति निर्माण, जनवर्गीय संगठन निर्माण गरिनुका साथै जनतासंग दलाल पुँजिवादी संसदीय व्यवस्थाकाे असफलता र नेपालमा वैज्ञानिक समाजवादकाे अपरिहार्यताबारे व्यापक अन्तरक्रिया गरिने छ। नवनिर्वाचित जिल्ला सचिव भाष्कर सीकाे नेतृत्वमा पार्टीले साे अभियान संचालन गर्नेछ ।
जिल्लाकाे बैठक पछि बैठकमा उपस्थित अतिथिहरुले नवनिर्वाचित सचिव भाष्कर सीलाई बधाई तथा कार्यसफलताको शुभकामना दिएका थिए भने केन्द्रीय सदस्य तथा निवर्तमान सचिव चन्द्र सीले कम्युनिस्ट अन्तर्राष्ट्रियकाे हँसिया हथाैडा अंकित झण्डा हस्तान्तरण गरेका थिए ।
बैठकमा दलाल पुँजिवादी संसदीय व्यवस्थाकाे हालै मंचन गरिएको कथित निर्वाचनलाई सशक्त रुपले खारेज गर्न देशभरिकै नमुना भूमिका निभाएका हरि पुन, राकेश र महेशलाई बधाई दिएर अभिनन्दन गरिएको थियो । बैठकको संचालन निवर्तमान जिल्ला सचिव चन्द्र सीले गरेका थिए ।

प्रतिक्रियाहरु