विश्वकप खेल हुने आठवटा रङ्गशालामा मदिरा बेच्न नपाइने !

२०७९ मंसिर ५ गते, सोमबार

काठमाडौं । फिफाले प्रतियोगिता सुरु हुनुभन्दा दुई दिनअघि आफ्नो नीति परिवर्तन गरेपछि कतारमा विश्वकप खेल हुने आठवटा रङ्गशालामा मदिरा विक्री नहुने भएको छ । मदिराको विक्रीलाई कडाइका साथ नियन्त्रण गरिएको उक्त मुस्लिम देशमा यसअघि रङ्गशाला भित्रका केही छानिएका क्षेत्रमा रक्सी उपलब्ध हुने व्यवस्था मिलाइएको थियो ।
यद्यपि प्रतियोगिता हुने रङ्गशालाको कर्पोरेट क्षेत्रमा रहनेहरूले अझै पनि मदिरा किन्न सक्नेछन् । कतारमा आइतवारदेखि विश्वकप फुटबल प्रतियोगिता सुरु भएको छ ।
उक्त खेलको पहिलो प्रतिस्पर्धा कतार र इक्वेडरबीच भयो । कतार इक्वेडरसँग २–० गोलान्तरले पराजित भयो । फिफाको प्रमुख प्रायोजक बडवाइजर बियर एबी इनबेभको स्वामित्वमा हो । उसले विश्वकपमा बियर बेच्ने विशेषाधिकार पाएको थियो ।
फिफाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘आयोजक देशका अधिकारीहरू र फिफा बीचको छलफलपछि कतारको फिफा विश्वकप २०२२ रङ्गशाला परिधिबाट बियर विक्रीकेन्द्रहरू हटाउँदै फिफा फ्यान फेस्टिभल, अन्य फ्यान गन्तव्य र इजाजतपत्र प्राप्त स्थानमा मादक पेय पदार्थको विक्रीलाई केन्द्रित गर्ने निर्णय गरिएको छ ।’
यसबाट बड जिरोको विक्रीमा कुनै असर पर्ने छैन । त्यो कतारका सबै विश्वकप रङ्गशालाहरूमा उपलब्ध हुनेछ । आयोजक देशका अधिकारी र फिफाले रङ्गशाला र वरपरका क्षेत्रले सबै प्रशंसकहरूलाई रमाइलो, सम्मानजनक र सुखद अनुभव प्रदान गरोस् भन्ने सुनिश्चित गर्न जारी राख्नेछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु