आगामी चुनाव : लोकतन्त्रकै कुरूप अभ्यास

२०७९ कार्तिक २९ गते, मंगलवार

विष्णु पन्त

१. इतिहासकै सबैभन्दा कुरूप चुनाव ः सैद्धान्तिकरूपमा भन्ने हो भने चुनावले नै लोकतन्त्रको झल्को दिन्छ । अर्काे शब्दमा भन्दा लोकतन्त्रको सौन्दर्य नै चुनाव हो । त्यसकारण चुनावका निश्चत विषेशताहरु हुन्छन् । तीमध्येको सबैभन्दा महत्वपूर्ण विशेषता हो प्रतिस्पर्धा । प्रतिस्पर्धा भनेको स्वस्थ, मर्यादित र स्वतन्त्र हुनुपर्छ । चुनाव भनेको जनमतको नयाँ प्रक्षेपण हो । जनमत खासगरी विचारधारा, निष्ठा, आदर्श र दृष्टिकोणका आधारमा प्रभावित गर्नुपर्दछ । त्यसकारण चुनावले कुनै पनि व्यवस्थाको आयु निर्धारण गर्दछ । कस्तो चुनाव भन्ने आधारमा कस्तो व्यवस्था भन्ने आकृति आउँछ । चुनाव त पञ्चायतकालमा पनि हुन्थे तर त्यहाँ पञ्चहरुले मात्र जित्ने चुनाव हुन्थे । २०४६ पछि पटक–पटक चुनाव भए तर त्यहाँ कांग्रेस वा एमालेले मात्र जित्ने चुनाव हुन्थे । चुनाव २०६२ र ०६३ पछि पनि भए र हुँदैछन् तर त्यहाँ नेकां, एमाले वा माकेले मात्र जित्ने चुनाव हुन्छन् । जबसम्म चुनावमा लोकतन्त्र हुँदैन । आजको चुनाव दलीय चुनाव चिन्हका आधारमा हुन्छ । चुनाव चिन्ह दलका पेवा बनेका छन् । दलहरु निजी कम्पनीमा बदलिएका छन् । दलहरु निजी कम्पनीमा बदलिनु लोकतन्त्रको बियोगान्त अवस्था हो । हुँदाहुँदा केही दलका पदाधिकारी र शक्तिशाली नेताहरुले नै चुनावमा टिकट पाएनन् वा उम्मेदवार हुन पाएनन् । त्यो रोग एमाले र नेकां दुवैमा देखियो । आजको संसदीय व्यवस्थामा मुख्य तीनवटा नेता वा तीन निजी कम्पनीहरुको भागवण्डाबाट देश चल्छ । उनीहरुको भागवण्डाको आकार मिलाउने काम यो चुनावले गर्छ । अर्कोथरिको मत छ ः एउटा ज्ञानेन्द्र फालेर देशमा तीनवटा ज्ञानेन्द्र जन्मे र तीनवटा नवराजाहरुको लडाईंले देश ध्वस्त बन्यो । उनीहरुको अर्काे पनि तर्क छ ः एउटै देशमा तीनवटा राजा भएपछि त्यहाँ लडाईं, झगडा र विनाशबाहेक केही हुँदैन ।

विगतका चुनावमा सानै भए पनि एउटै सौन्दर्य बाँकी थियो, त्यो हो दलीय आधारमा प्रतिस्पर्धा । तर, अहिले त त्यो पनि समाप्त भइसकेको छ । अहिले त चुनाव गठबन्धनको हुँदैछ । आज एकातिर पुष्पकमल दाहाल र शेरबहादुर देउवाबीच भेद छुट्याउन गाह्रो छ भने अर्काेतिर केपी ओली र राजेन्द्र लिङ्देलबीच फरक छुट्याउन गाह्रो छ । आज नेकां र माकेबीचको सम्बन्ध नुन र पानी वा चिनी र पानीबीचको जस्तो बनेको छ । उता एमाले र राप्रपाको त्यस्तै बनेको छ । दलहरुका राजनीतिक एजेण्डाहरु वा मुद्दाहरुमा नै अन्तर छैन । सबै एकअर्कामा बिलय भइसकेका छन् । त्यसकारण आजको चुनावमा न त देश छ न त जनता छन् न त कुनै दृष्टिकोण छ । शायद इतिहासकै सबैभन्दा दिशाहीन चुनाव हो यो ।

२. प्रतिस्पर्धा कि निषेध, प्रतिशोध र बदला ः पछिल्ला राजनीतिक अभ्यासले देशमा प्रतिस्पर्धाको अन्त्य गरेको छ र त्यसको ठाउँमा निषेध, प्रतिशोध र बदलाको अभ्यास निर्णायक बनेको छ । यो निषेध र बदलाको राजनीतिको मुख्य जड थियो । तत्कालीन सत्तारुढ नेकपाको विभाजन वा एकीकृत भएका एमाले र माके वा केपी ओली र पुष्पकमल दाहालको विभाजन । आजको परिदृश्यले भन्दै छ उनीहरु एकले अर्कालाई हराउन जे पनि गर्दैछन् । त्यसकारण आजको चुनावमा प्रतिस्पर्धा छैन । दलीय समर्थनका आधारमा हार–जीतको अवस्था हुँदैन । सांसद संख्याका आधारमा हार–जित हुने चुनाव हुँदैछ । आज चुनावमा गालीगलौज, कुण्ठा, निकृष्टाहरुले प्रधान बनेर आएका छन् । त्यसकारण यो चुनावले हामीले ल्याएको भनेको लोकतन्त्रको अभ्यास र आचरण हो । जित्नका लागि जे पनि गर्नु लोकतन्त्र होइन । त्यसको विधि, पद्धति र मर्यादा कायम हुुनुपर्छ । त्यसकारण यो चुनावले अपराधिक मनोविज्ञानलाई प्रोत्साहित गर्दछ ।

३. गिरिजाप्रसाद पछिको उत्तराधिकारीको प्रश्न ः नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइराला पछिको शक्तिशाली नेता वा शासक को भन्नेमा प्रतिस्पर्धा छ । खासगरी केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालबीच अघोषित लडाईं छ । अघिल्लो चुनावमा केपी ओली हावी भएका थिए भने अबको चुनावी अंक गणित त्यसको आँकडा दिनेछ । हामीले सहजै भन्न सक्छौँ कि सत्ताको हिसाबले आजको दिनसम्म नेपाली कांग्रेस बलियो छ । देशको राजनीतिमा अमेरिकी प्रभाव निर्णायक बन्दासम्म नेपाली कांग्रेस वास्तविक सत्तामा हुनेछ । यहाँसम्म कि संसदीय अंक गणित वा चुनावी हारजितले पनि उसलाई खासै फरक पार्दैन । कल्पना गरौँ, यदि केपी ओलीको ठाउँमा शेरबहादुर देउवा भएको भए संसद विघटन भएरै छाड्थ्यो ? त्यसकारण यो सत्ताको वैधता नेपाली कांग्रेससँग मात्र रहन्छ ।

४. चुनाव त व्यापार, लगानी र ठेक्कापट्टाको रूपमा ः हामीले प्रत्यक्ष देखिरहेका छौं, यो चुनावमा उम्मेदवार हुनकै लागि करोडौं बुझाइएको छ । पार्टी वा शक्तिशाली नेतालाई करोडौं बुझाएर मात्र उम्मेदवार बन्न पाइने ? आज धेरै ठाउँमा ठेकेदार, व्यापारी र दलालहरु उम्मेदवार बनेका छन् । व्यापार, ठेक्कापट्टा र दलाली गरेपछि सांसद र मन्त्री बन्न पाइने हाम्रो लोकतान्त्रिक अभ्यास आफैँमा कहाली लाग्दो छ । भ्रष्टाचार गर्ने अनि निवृत्त जीवनमा सांसद र मन्त्री बन्न पाइने यो व्यवस्था अपरम्पार छ । त्यसकारण चुनाव जित्नका लागि मतदाता किन्नु प¥यो । करोड र अरब बाँडेर मत खरिद गर्नुपर्ने हाम्रो लोकतन्त्रप्रति कसैको चिन्ता छ र ? स्मरणीय छ चुनाव भनेको लोकतन्त्रको प्राण हो । चुनावले हाम्रो समाज, चेतना र सभ्यताको पनि प्रतिविम्ब दिन्छ । चिन्ता यो हो कि हामी कता जाँदैछौँ ? पैसाको खोलो बगाएर चुनाव जित्नुपर्ने ? गठबन्धनमा भोट मागेर चुनाव जित्नुपर्ने ? त्यस्तो लज्जास्पद र घृणित तरिकाले जित्नुभन्दा हार्नु वेश हुँदैन ? जित्नै पर्ने के छ ? जित्नै पर्ने एउटै कारण छ त्यो हो लुटतन्त्र । देशलाई टाट पल्टाउने र व्यक्ति धनी बन्ने उद्देश्यका लागि जित्नै पर्ने बाध्यता छ । नत्र देशले विचार, मूल्य–मान्यता र आदर्शको खोजी गरेको छ । जसले यो चुनावलाई अन्तिम ठान्छन् उनीहरु निर्लज्ज ढंगले चुनावमा भौतारिएका छन् । यो चुनाव नयाँ व्यापार र नयाँ लगानीका रूपमा विकास भएको छ । त्यसैले त ठूल–ठूला व्यापारीहरु अव सांसद, मन्त्री र प्रधानमन्त्री बन्ने सपना बुन्दै छन् । वास्तवमा चुनाव नै सबैभन्दा ठूलो भ्रष्टाचारका रूपमा विकसित भएको छ । अवैध र कालो सम्पत्तिको मुख्य स्रोत चुनाव बन्दैछ ।

५. चुनावको एउटै उद्देश्य ः भागवण्डामा दलीय आकार र निर्धारण ः वास्तवमा यो चुनावले गर्न सक्ने एउटा मात्र काम छ त्यो हो सत्ता भागवण्डामा दलीय आकार निर्धारण गर्ने । देशलाई टाट पल्टाएर भए पनि यो चुनाव गर्नैपर्ने बाध्यता छ । यो चुनावबाट देशले पाउने अस्थिरता मात्र हो तर, पनि चुनाव हुँदैछ । देश र जनताले पाउने केही पनि छैन तर, गुमाउने मात्र छ र पनि चुनाव हुुँदैछ । सांसद खरिद–बिक्री र किनबेचको वैधताका लागि देशको ढुकुटी सक्नुपर्ने बिडम्बना छ । त्यसकारण फेरि अर्काे पाँच वर्षका लागि सत्ताको भागवण्डा हुने हुनाले भागवण्डाको आकार निर्धारणबाहेक अरु कुनै पनि उद्देश्य राखिएको छैन । ¬

६. राजनीतिक दलको अन्तिम अभिष्ट नै चुनाव ः संसदवादी दलहरुको अन्तिम उद्देश्य सत्ता वा भागवण्डा हो । सत्ता वा सरकारको निर्धारक तत्वका रूपमा सांसदहरुको संख्यालाई बनाइएको छ । दुई तिहाई जनमत भएको पार्टीले पनि संसदमा बहुमत नल्याउन सक्ने सम्भावना छ । सांसद संख्याको आधारमा दल ठूलो वा सानो हुने संसदीय अभ्यासलाई हाम्रो संविधानले वैधता दिएको छ । सांसद संख्या पु¥याउनका लागि दलहरु विभिन्न दाउपेच, षड्यन्त्र र फोहरी खेलमा लागेका छन् । दलहरुको अस्तित्वको आधार नै चुनाव बनेको छ । नेतृत्वको अस्तित्वको प्रश्न पनि चुनावी जित–हारसँग जोडिएको छ । चुनाव हारे त्यो दल सिद्धियो भनेर जाने हुन्छ । टिकट नपाए दल त्यागेर भए पनि उम्मेदवार बन्ने र चुनाव जित्ने मनोविज्ञान हाबी छ । त्यसकारण यो चुनाव विकृतिको जड बनेको छ । अहिलेको लोकतान्त्रिक गणतन्त्र मुख्य गरी दुईवटा कारणले विकृत, बदनामित र अलोकप्रिय बनेको छ ती हुन संसद र चुनाव । भ्रष्टाचार, संसदवाद र चुनावले गर्दा संसदीय व्यवस्था पतनको डीलमा पुगेको छ । २०४६÷०४७ पछि २०६२÷०६३ जन्मियो र २०६२÷०६३ पछि अब शीघ्र अर्को उथलपुथलको अपरिहार्यता निश्चित बनेको छ ।

८. चुनाव विरोधी जनमत ः बहिष्कार वा खारेजी ः देशमा चुनाव विरोधी जनमत सशक्त छ । चुनावले देश र जनताका लागि केही गर्दैन भन्ने जनमत ९० प्रतिशतभन्दा बढी छ । निरर्थक भए पनि मतदान गर्नपर्ने बाध्यता जनतालाई छ । चुनावमा स्वतन्त्रहरु, युवाहरु र नयाँ–नयाँ शक्तिहरुको प्रवेश पनि रोचक बन्दै छ । उता यो संसदीय चुनावलाई खारेज वा बहिष्कार गर्नेहरुको शक्ति पनि सशक्त बन्दै छ । बहिष्कारवादीहरु पनि एक ठाउँमा आउन सकेको भए र चुनावलाई ध्वस्त बनाउने र उद्देश्य बनाउन सकेको भए त्यो सफल हुने सम्भावना प्रबल थियो । फेरि पनि देशमा दुईवटा केन्द्र समानान्तर बन्ने छन् । ती हुन् ः संसदवादी र संसदीय व्यवस्था विरोधी । संसदवादीहरु बद्नामीको बाटोमा छन् । संसदवादीहरुकै कारण यो व्यवस्था पतनोन्मुख भइसकेको आभाष हुन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु