विश्वकपको पहिलो सेमिफाइनल : पाकिस्तान र न्युजिल्यान्ड भिड्दै

२०७९ कार्तिक २३ गते, बुधबार


काठमाडौं । आइसिसी टि-२० विश्वकप २०२२ को पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा सिड्नी क्रिकेट मैदानमा सुरु हुनेछ । पाकिस्तान तेस्रो र न्युजिल्यान्ड लगातार दोस्रो पटक फाइनलमा पुग्ने सोचमा हुनेछन् । न्युजिल्यान्ड सुपर १२ को समूह ए को विजेता र पाकिस्तान सुपर १२ को समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेका हुन् । दोस्रो सेमिफाइनलमा शुक्रबार भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
न्युजिल्यान्डले सुपर १२ मा अष्ट्रेलियालाई ८९ रन, श्रीलंकालाई ६५ रन र आयरल्यान्डलाई ३५ रनले हराएको थियो । इंग्ल्यान्डसँग २० रनले पराजित हुँदा अफगानिस्तानसँग वर्षाको कारण अंक बाँडेको थियो ।
पाकिस्तान पहिलो खेलमा भारतसँग चार विकेटले पराजित भएको थियो । जिम्बावेसँग एक रनले स्तब्ध भएको पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेट, दक्षिण अफ्रिकालाई डकवर्थ लेविस पद्धतिको आधारमा ३३ रन र बंगलादेशलाई पाँच विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।
अन्तिम खेलमा दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग पराजित भएपछि पाकिस्तान सेमिफाइनलमा पुगेको हो ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु