व्यवस्था बदल्न अभिप्रेरित गर्ने गीत “चुनाव”

नारायण शर्मा २०७९ कार्तिक २१ गते, सोमबार
नारायण शर्मा



काठमाडौं । देशमा आगामी मंसिर ४ गतेलाई संसदीय चुनावको मिति तोकिएको छ । केही पार्टी र नेताहरुलाई चुनाव निकै लागेको छ । हवाईकल्पनाका अनेकौं रंगिन सपनाहरुले रंगाएर अनेकौं पार्टीले चुनावी घोषणापत्र, अपिल र पोष्टरहरु बनाएका छन् । फेसबुक, टिकटक जस्ता सामाजिक संजालहरुबाट समेत ती नेता र पार्टीहरुले भोट माग्दै व्यापक प्रचार प्रसार गरिरहेका छन् । चुनाव जितेर सत्तामा पुगेपछि कहिल्यै गाउँ नफर्केकाहरु समेत यतिबेला आफ्नो चुनावी क्षेत्रमा पुगेर गाउँलेका अगाडि घनुष्टंकार शैलीमा नुगिरहेका छन् । हो, यो चुनावमा अनेकथरी उम्मेवारहरुले आफूलाई विकल्पका रुपमा उभ्याउँदै भोट मागिरहेका छन् । तर के यो व्यवस्था अन्तर्गत हुने निर्वाचनहरुबाट चुनिने व्यक्तिहरुले देश र समाजको मुहार फेर्ने सर्मथ्य राख्दछन् ? अहिलेको आवश्यकता चुनावबाट शासन गर्ने व्यक्ति फेर्ने हो कि यो भ्रष्ट व्यवस्था बदल्ने ? यही प्रश्नको उत्तर बोकेर नेपाली सांगीतिक बजारमा एउटा गति आइपुगेको छ–“चुनाव ।”
एमसीसी, एसपीपीलाई नपरी चिहान
आउँदैन देशमा शान्तिको विहान
आफैभित्र आफैलाई जगाऊ
देशप्रेमी भएर चिनाऊ
संसदवादीचुनाव होइन स्थिरता बसालौं
विकल्पमा व्यक्ति होइन व्यवस्था बदलौं……..
यसरी गतिले स्पष्ट रुपमा यो व्यवस्था अन्तर्गत हुने निर्वाचनबाट चुनिने व्यक्तिहरुले देश र जनताको अवस्थामा परिवर्तन ल्याउन नसक्ने बताएको छ । चुनाव वास्तवमा अस्थिरताको जड हो ।

“साम,दाम, दण्ड, भेद” को नीति अपनाएर, झुट्टा आश्वासनका सपनाहरु बाँडेर जनताको भोट बटुली सत्तामा पुग्नेहरुले देशलाई समृद्धि र विकासको मार्गमा होइन विनासको बाटोमा हिंडाएको हामीले देख्दै र भोग्दै आएका छौं । एमसीसी जस्तो राष्ट्रघाती सम्झौता गर्नेहरु, एसपीपी जस्तो झनै राष्ट्रघाती सम्झौता गर्न तम्सनेहरु फेरि पनि जनताका बीचमा भोट माग्दै आइ रहेका छन् । गीतले देशभक्त नेपालीहरुलाई आफूभित्रको देशभक्तिपूर्ण भावना जगाई त्यस्ता राष्ट्रघाती सन्धी सम्झौताहरुलाई चिहान बनाउन आह्वान गरेको छ । गीतमा देशको सार्वभौमिकता र स्वाधिनतालाई माया गर्ने हरेक देशभक्त नेपालीहरुको मनको भावना समेटिएको छ । त्यसकारण यसलाई एक देशभक्तिपूर्ण चेतनामूलकगीतका रुपमा पनि लिन सकिन्छ ।
“चुनाव” नामक यस चेतनामूलक देशभक्तीपूर्ण गीतलाई– जनगायक चिरन सिको युटुव च्यानलबाट–२०७९ कार्तिक २० गते पर्यटन बोर्डको सभाहल काठमाडौंमा विशेष समारोहका बीच सार्वजनिक गरिएको थियो । नेकपाका प्रवक्ता ‘प्रकाण्ड’ को प्रमुख आतिथ्यतामा सो गीत सार्वजनिक समारोह अघि बढेको थियो । प्रमुख अतिथि प्रकाण्डले युटुवमा गीत अपलोड गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै प्रकाण्डले यसप्रकारका प्रगतिशील गीत÷संगीतले देशको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अगाडि बढाउन ठूलो मद्दत पुग्ने बताएका थिए ।


समारोहमा सार्वजनिक गरिएको गीत ‘चुनाव’ माथि वरिष्ठ प्रगतिवादी साहित्यकार आहुती वरिष्ठ जनगायक माधव प्रधान र रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष एवं हाँक साप्ताहिकका कार्यकारी सम्पादक नारायण शर्माले समीक्षा गरेका थिए । समारोहलाई नेकपाका अध्यक्ष ऋषि कट्टेल, चलचित्र निर्माता संघका अध्यक्ष, राष्ट्रवादी अभिनेता नवल खड्काले समेत सम्बोधन गरेका थिए । समारोहमा प्रगतिवादी सांस्कृतिक आन्दोलनमा लामो समयदेखि योगदान पु¥याउँदै आउनु भएका वरिष्ठ जनगायक माधव प्रधान र नयाँ पुस्ताकी उदयीमान जनगायिका अनु शर्मालाई सम्मान एवं कदरपत्र प्रदान गरिएको थियो । गीतका सर्जक प्रेम सिं, संगीतकार एवं गायक चिरन सि., गायिका शारदा रसाइली, संगीत संयोजक नारायण दंगाल, निर्देशक मिलन श्रेष्ठ, छायाँकार सन्तोष तिमिल्सिना लगायत ‘चुनाव’ गीत निर्माण युनिटका सम्पूर्ण सदस्यहरुलाई समेत समारोहमा कदरपत्र प्रदान गरिएको थियो । चिरन सिंको अध्यक्षतामा अघि बढेको सो समारोहको संचालन प्रेम सीले गरेका थिए ।


गीतकार सि गीतहरु यस अघि कतै सुनिएको थिएन । सम्भवतm यो उनको पहिलो गीत होला । तर गीत सुन्दा यो पहिलो रचना जस्तो लाग्दैन । ‘चुनाव’ गीतका शब्दहरु निकै सरल छन् तर तिनले उर्जाशील भाव बोकेका छन् । गीतको संगीत र संगीत संयोजन पनि उस्तै सुन्दर छ । गायक गायिका दुवैका ओझिला र मिठासपूर्ण स्वरहरुले गीतको शब्दभाव र सुन्दर संगीत प्रति न्याय नै गरेका छन् । गीतको भिडियो सामान्य रुपमा तयार गरिएको छ । गीतका सर्जक, संगीतकारका साथमा कलाकार एवं क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका यात्रीहरु सरल माझी, राजन नेपाली, चिरन्जीवी सि, एलवि थापा, कविता पुन,सन्ध्या मगर, ललित वि.क., तारा सन्ज्याल, ललित वम, प्रेम सिजापति, रमेश रावत, प्रजिना दर्नाल, भरत रावल, पाल्देन लामा, संजिव नेपाली, प्रवेश दर्नाल, विमर्श, सुशिल बलम्पाकी, सुशिल हमाल, राम पुन, प्रा.डा. केआर दाहाल र विक्रम क्षेत्रीको गीतको भिडियोमा भूमिका रहेको छ । सबै टोली एकै स्थानमा बसेर सामान्य अभिनय तथा नृत्य गर्दै गीतको भिडियो तयार गरिएको छ । गीतका शब्द र संगीतले मागेका दृश्यहरु भिडियोमा कम नै देखिन्छ । जनमुक्ति अभियानका प्रत्येक अभियात्रीहरुलाई गीतले उर्जा र साहस प्रदान गरेको छ ।


गीतमा देशको यर्थात् अवस्था चित्रण गरिएको छ । देशमा स्थिरता र सुशासन चाहाने हो भने जनता यसप्रकारका संसदीय चुनावहरुमा अल्झिनु हुँदैन । यो चुनावले शासन गर्ने व्यक्तिहरु मात्र बदल्न सक्छ । घुम्ने कुर्सीमा बसेर शासन गर्ने मान्छेहरु मात्र बदल्न सक्छ तर शोषित पीडित श्रमजीवी जनताको जीवन अवस्था बदल्न सक्दैन । देशको स्वाधिनता र सार्वभौमिमकताको रक्षा यस्तो चुनावबाट गएका व्यक्तिहरुले गर्न सक्दैनन् । बरु उनीहरु आफ्नो शासनसत्ताको कुर्सी जोगाउन साम्राज्यवादी एवं विस्तारवादी शक्तिहरु सामु लम्पसार पर्दै जाने छन् । राष्ट्रघात र जनघातका दर्दनाक पीडामा तिनले देशलाई डुबाउँदै जानेछन् । राष्ट्रको सम्पत्तिमाथि तिनले ब्रहमलुट मच्चाउँदै जानेछन् । महंगी, अनियमितता, भ्रष्टचार देशमा झनै बढ्दै जानेछ । देश झन भन्दा झनपछि कंगाल बन्दै जानेछ ।

त्यसकारण ,जनता शासन गर्ने व्यक्तिमात्र बदल्ने यस्तो चुनाबमा अल्झने होइन , शोषक र जालीहरुको बर्ग स्वार्थको रक्षा गर्ने यो व्यवस्था नै बदल्ने अभियानमा अगाडि बढ्नु पर्छ गीतले दिन खोजेको मुख्य सुन्दर सन्देश यहि छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु