वैदेशिक व्यापारमा १८.५४ प्रतिशतले कमी

२०७९ कार्तिक २० गते, आईतवार

काठमाडौं । भन्सार विभागका अनुसार असोजसम्ममा वैदेशिक व्यापारमा १८.५४ प्रतिशतले कमी आएको छ । सरकारले मुख्य आयातजन्य वस्तुमा प्रतिबन्ध लगाएसँगै कुल आयात घटेको छ भने यसले व्यापार घाटामा पनि कमी आएको छ । वैदेशिक व्यापारमा नगण्य हिस्सा रहेको निकासी व्यापारमा समेत कमी आउँदा सबै सूचकांक अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऋणात्मक बनेका छन् ।
विभागका अनुसार वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्षमा ५ खर्ब ४३ अर्ब ५७ करोड रहेकोमा चालू वर्षको असोजसम्ममा ४ खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ । वैदेशिक व्यापारमा निकासीको हिस्सा अघिल्लो वर्ष ११.९७ प्रतिशत रहेकोमा चालू वर्षमा घटेर ९.४४ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८८.०३ प्रतिशतबाट बढेर ९०.५६ प्रतिशत पुगेको तथ्यांक छ । असोजसम्म निकासी व्यापार झन्डै ३६ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको असोजसम्ममा ६५ अर्ब ५ करोड २८ लाख रुपैयाँ बराबरको निकासी भएकोमा चालू आवको सोही अवधिमा भने यसमा ३५.७१ प्रतिशतले गिरावट आई ४१ अर्ब ८२ करोड १ लाख रुपैयाँमा सीमित भएको छ ।
निर्यातसँगै आयातमा पनि कमी आएको छ । सरकारले मुख्य वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा आयातमा १६.२० प्रतिशतले कमी आएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार असोजसम्म ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।
नेपालको मुख्य निर्यातयोग्य वस्तुका रुपमा रहेको भटमासको तेल ३ अर्ब १६ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ भने पाम आयलको निकासी भने ८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । यस्तै, सनफ्लावर आयलको निकासी १५ करोड ६३ लाख रुपैयाँमा सीमित छ । भारतले वनस्पति तेलमा कर घटाएसँगै नेपालको निकासी व्यापार घटेको हो ।
आयाततर्फ भारतबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ भित्रिएको छ । तीन महिनामा १८ अर्ब २२ करोड रुपैयाँको पेट्रोल, २९ अर्ब २९ करोडको डिजेल, १४ अर्ब ९४ करोडको एलपी ग्यास आयात भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु