रूस द्वारा युक्रेनको चार क्षेत्रलाई विलय गर्ने तयारी

२०७९ आश्विन १४ गते, शुक्रबार


काठमाडाैं । रूसका राष्ट्रपति ब्लादिमीर पुटिनले शुक्रबार युक्रेनका चार क्षेत्रलाई आफ्नो देशमा विलय गर्ने तयारी गरेका छन्। त्यो चारवटै क्षेत्रमा रूसले आफ्नो ढंगबाट गरेको जनमत संग्रहपछि पुटिनले यो निर्णय गरेका हुन्।युक्रेनसहित पश्चिमी मुलुकहरू यो ‘जनमत संग्रहलाई देखावटी’ भनेर यसलाई युक्रेनको भूमि हड्पने बहाना बताइरहेका छन्। पाँच दिनसम्म चलेको जनमत संग्रहलाई त्यहाँका नागरिकले व्यापक समर्थन गरेको रूस समर्थित अधिकारीहरूले दाबी गरेका छन्।जनमत संग्रहमा तथाकथित मदतान पूर्वको लहांस्क, दोनेत्स्क र दक्षिणको जापोरिज्जिया तथा खेरसोनमा गराइएको थियो। शुक्रबार हस्ताक्षर कार्यक्रमका क्रममा रूसका राष्ट्रपति पुटिनले क्रेमलिनमा महत्वपूर्ण सम्बोधन गर्ने बताइएको छ।मस्कोको रेड स्क्वायरमा मञ्च तयार भइसकेको छ। त्यहाँ चारैतर्फ झुन्ड्याइएको होर्डिग्सहरूमा युक्रेनको त्यो चारवटै क्षेत्रलाई रूसको हिस्सा भनिएको छ।यसले २०१४ मा क्राइमियामाथि रूसले कब्जा गर्दा आयोजित कार्यक्रमलाई स्मरण गराएको छ। त्यतिबेला पनि अविश्वसासिलो जनमत संग्रह गराइएको थियो।जसको घोषणा क्रेमलिनले गरेको थियो र पछि संसदमा राष्ट्रपति पुटिनले विजयी भाषण दिएका थिए।रूसले क्राइमियालाई १८ मार्च २०१४ मा औपचारिक रूपले आफ्नो मुलुकमा विलय गरेको थियो। क्राइमियामाथिको त्यो कब्जालाई अन्तर्राष्ट्रिय समुदायले कहिल्यै स्वीकृति दिएन।युक्रेनका राष्ट्रपति वालोदिमीर जेलेन्स्कीले ‘छद्म–जनमत संग्रह’ बेकार रहेको र यसले सत्यलाई बदल्न नसक्ने बताएका छन्।उनले भनेका छन्,‘युक्रेनको क्षेत्रीय अखण्डता फेरि स्थापित गरिने छ। र,रूसको जनमत संग्रहको नतिजालाई मान्यता दिने सवालमा हाम्रो प्रतिक्रिया कडा हुनेछ।’रूसले जनमत संग्रह गर्न लगाएको चारवटा क्षेत्रमा कुनै प्रकारका स्वतन्त्र निगरानी भएको थिएन।सार्वजनिक भएका तस्बिरहरूमा घर–घरमा पुगिरहेका चुनाव अधिकारीहरूको साथमा हतियारधारी सैनिक पनि देखिएका छन्।प्रवक्ता दिमित्री पेस्कोवले शुक्रबार नेपाली समयअनुसार साँझ ५ः४५ बजे ग्र्यान्ड क्रेमिनल प्यालेसको सेन्ट जर्ज हलमा एक हस्ताक्षर समारोहका बीच त्यो चारवटै क्षेत्र रूसमा गाभिने बताएका छन्। -एजेन्सी

प्रतिक्रियाहरु