नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशन सफलताको शुभकामना !

२०७९ आश्विन १४ गते, शुक्रबार
नारायण शर्मा


यही २०७९ साल असोज २५ देखि ३१ गतेसम्म नेपाल कम्युनिष्ट पार्टीको जनाधार भएको महासचिव विप्लवको गृहजिल्ला कपिलवस्तुमा पार्टीको सर्वोच्च र सर्वशक्तिमान् अधिवेशन अर्थात् नवौं महाधिवेशन हुने कुरा सार्वजनिक सन्चार-सन्जालमा प्रकाशित यो पोष्टरबाट थाहा भयो र शुभकामना दिन मन लागेकोले हार्दिकतापूर्वक यो शुभकामना दिंदैछु । अन्यथा नलिई कृपया सम्बन्धित सबैले गम्भीरतापूर्वक लिइदिनुहुनेछ भन्ने अपेक्षा गर्दछु ।
महासचिव कमरेड विप्लव तथा अन्य सम्पूर्ण कामरेडहरु लाल अभिवादन !
सर्वप्रथम यहाँहरुको नवौं महाधिवेशन रुपका साथै सारमा, विचारका साथै व्यवहारमा, नीतिका साथै नेतृत्वमा र अझ नेतृत्वको पनि नियतमा, संख्याका साथै गुणमा र वकितम-लिखितमका साथै करितम-फलितममा समेत दिव्य र भव्य रुपमा सफल र सार्थक होस् र एक ऐतिहासिक महाधिवेशन बन्न सकोस् भन्ने हार्दिक शुभकामना !
अहिले यहाँहरुको महाधिवेशनको मूल नारा रहेछ :
एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं !
अवसरवादलाई परास्त गर्दै पार्टीलाई एकताबद्ध र सुदृढ गरौं !!
प्रथमतः त्यो एकीकृत जनक्रान्तिको विचार र त्यसको विकासको नयाँ उचाइ के हो ? त्यो स्पष्ट गर्न सक्नुहोस् ! आज विश्वका शोषित-पीडित वर्ग राष्ट्र एवं सम्पूर्ण मानवजाति र विश्व-ब्रह्माण्डको लागि नै साम्राज्यवाद, प्रतिक्रियावाद, संशोधनवाद र अवसरवादले नयाँ नयाँ समस्या र चुनौतीहरु सिर्जना गरेका र लादेका छन् । ती शोषण-दमन, अन्याय-अत्याचार, अपमान र असमानतामूलक अमानवीय विचार र व्यवहाररुपी चुनौतीहरुको सार्थक र सफल सामना गर्न साम्राज्यवाद र अवसरवाद विरोधी वर्ग र शक्तिहरुले पनि युगीन विचार र व्यवहारको विकास र अभ्यास नै गर्नु जरुरी हुन्छ । तर त्यो विचारको विकासको नयाँ उचाइ अहिलेको नेपाली क्रान्तिको सन्दर्भमा के हो र कसरी प्राप्त गर्न सकिन्छ भन्नेमा अझ स्पष्ट हुनु जरुरी छ ।
मलाई लाग्छ, नेपालमा विदेशी साम्राज्यवादी शक्तिकेन्द्रहरुले गरिरहेका विगत लामो समयदेखि हालैसम्मका हस्तक्षेप, हैकम, हालीमुहाली र तीप्रति हाम्रो देसका संसदवादी शासकवर्गले आफ्ना व्यक्तिगत, जातिगत, क्षेत्रगत, धर्मगत र वर्गगत स्वार्थका कारण आत्मसमर्पण गरेका छन् र साम्राज्यवादी-विस्तारवादीहरुको दलाली र दासताको लागि नेपाली शासक वर्गका विभिन्न हिस्साहरुले आपसमा चरम प्रतिस्पर्धा गरिरहेका छन् । यसक्रममा देसका दीनदुखीहरुलाई देखाउँदै आफ्नो क्षुद्र स्वार्थ पूर्तिको लागि उनीहरुले आफ्ना साम्राज्यवादी मालिकहरुसामु देखाइरहेको दामपन्थी र दरिद्र चिन्तन र चरित्र निन्दनीय र भर्त्सनायोग्य छ । नेपालका दलाल शक्तिहरुबीच भर्खरै MCC र नागरिकता विधेयक पास गर्नमा भएको प्रतिस्पर्धाले देस र जनताको अवस्था सम्भवत: इतिहासमै सबैभन्दा बढी गम्भीर र चुनौतीमय छ भन्ने लाग्दछ । यसले गर्दा नै देस सर्वाधिक दर्दनाक र दयनीय अवस्थामा पुग्दैछ ! फलस्वरुप देसको अस्तित्व नै समाप्त हुने चरम खतरा उत्पन्न भएको छ ।
देस र जनताको यस्तो गम्भीरतम अवस्थामा यहाँहरुको वर्तमान नेपाली क्रान्तिको विचार र यसको विकास मुख्यतः साम्राज्यवाद,विस्तारवाद र दलाल पुँजीवादविरोधी जनताको राष्ट्रिय जनवादी क्रान्तिको रुपमा संश्लेषित र नामांकित विचार हो र हुनुपर्छ भन्ने म ठान्दछु ! यसको प्राथमिक कार्यभार देसमा कम्युनिस्ट पार्टी स्थापना भएदेखि विद्यमान रहिआएका र उठाइँदै आएका आधारभूत समस्याहरु खासगरी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका जल्दाबल्दा समस्याहरुको समाधान गर्नु हो र हुनै पर्छ । राष्ट्रियता कुनै देस/भूगोल, जनसंख्या, जातिभाषा, धर्मसंस्कृति, रीतिरिवाज, इतिहाससभ्यता, ऐतिहासिकसांस्कृतिक मूल्यमान्यता र धरोहर, राष्ट्रिय स्वाभिमान, स्वाधीनता, सार्वभौमिकता, अखन्डता, अस्मिता र स्वत्व-अस्तित्व हो ! यी कुराहरुसँग देसका जनसमुदायहरुका पुस्तौँपुस्तादेखिको अभेद्य सम्बन्ध रहेको हुन्छ किनकि यी कुराहरुको निर्माणमा देशवासीहरुका पुर्खाहरुले रगत पसिना र बुद्धिविवेकको बलिदान गरेका हुन्छन् । यसले गर्दा नै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको निर्माण, संरक्षण र सम्बर्द्धन गरेको हुन्छ । यो राष्ट्रिय स्वाधीनता भनेको देसको माटो अर्थात् भूगोल, जनसंख्या, भाषा, संस्कृति, इतिहास, ऐतिहासिक र सांस्कृतिक धरोहर सहितको स्वतन्त्रता हो । कसैसँग नझुक्ने आत्मनिर्भर राष्ट्र हुनु भनेको हो । त्यस्तो देसका जनताले आफ्नो बारेमा स्वतन्त्र र भयरहित ढङ्गले निर्णय गर्ने क्षमता राष्ट्रिय सार्वभौमिकता हो । त्यस्तो देस कसैको हस्तक्षेप र षड्यन्त्रका कारण वा कुनै कारणले पनि नटुकृने, नलुटिने र नमिचिने हुनु भनेको राष्ट्रिय अखण्डता हो । देसका ऐतिहासिक, सामाजिक र सांस्कृतिक वीरता र बहादुरी, विचार र भावना, दर्शन र साहित्यसम्बन्धी गौरव, गाथा र गरिमाको समष्टि राष्ट्रिय अस्मिता हो । यसैगरी राष्ट्रिय स्वाभिमान भनेको कसैका सामु कुनै गल्ति न गर्ने वा भनौं कसैप्रति दुर्भाव नराख्ने र कुनै अन्याय वा गल्ती नगर्ने अनि कसैसँग न डर्ने, न झुक्ने, न बिक्ने र न चुक्ने भनेको हो । कुनै देसले जहाँपनि, जहिले पनि र जसरी पनि आफ्नो शिर ठाडो पारेर बोल्न, बाँच्न र बढ्न सक्ने क्षमता र अवस्था राख्दछ भने त्यही नै उसको राष्ट्रिय स्वाभिमान हो । सम्बन्धित देसका जनसमुदायका आफ्ना पितापुर्खादेखि चलिआएको परम्परा, चाडपर्व, रीतिरिवाज र तिनले जनताको दिलदिमागमा पारेको छाप संस्कार-संस्कृति र सभ्यता हो जो मार्न वा मेट्न छिटै र सजिलै सम्भव हुँदैन र त्यसो गर्नु पनि हुँदैन । जहाँसम्म धर्म, संस्कृति, जाति आदिमा देखिने बडप्पन, विकृति, बिज्ञान विरोधी, जनविरोधी र एकताविरोधी जस्ता केही कामकुराहरु हुन्छन् , तिनलाई सुधार्दै लानुपर्ने हुन्छ ।
जे होस्, उपरोक्त समग्र पक्षहरुको समष्टिबाटै राष्ट्रिय स्वत्व र अस्तित्वको सिर्जना भएको हुन्छ ! जब कुनै देसको स्वत्व-अस्तित्व नै गुम्छ, तब सबै कुरा गुम्छ ! त्यसैले यसको जगेर्ना गर्नुपर्ने अहम र प्रथम दायित्व क्रान्तिकारी कम्युनिस्टहरुको हुन्छ । यस कुरालाई माओले जनवादी क्रान्तिका मुख्य दुई कार्यभारमध्ये पहिलो राष्ट्रिय स्वाधीनताको प्राप्ति हो र यसका लागि साम्राज्यवादी-उपनिवेसवादीहरुका विरुद्ध राष्ट्रिय मुक्तियुद्ध नै लड्नु पर्ने निष्कर्षमा पुगेर लडाइँ गरी देसलाई स्वतन्त्र र मुक्त पार्नु भएको कुरालाई गहिरो, दरो र दीगो रुपमा आत्मसात गर्नुपर्दछ । त्यसैले हामीले पनि नेपाल र नेपाली राष्ट्रियताको संरक्षण र सम्बर्द्धन गर्नु नै अहिलेको नेपालको प्राथमिक र प्रमुख आवश्यकता हो भन्ने मलगायत हाम्रो ठुलो क्रान्तिकारी देसभक्त पंक्तिलाई भित्री दिलदिमाग देखि नै लागेको छ । तत्पश्चात जनतन्त्र र जनजीविकाको कुरा आउँछ । जनतन्त्र/जनवाद/लोकतन्त्र (democracy) भनेको एउटै कुरा हो । यसमा जनताबाट निर्वाचित जनताकै छोराछोरीले निश्चित समयावधिसम्म शासन गर्ने व्यवस्था गरिएको हुन्छ । यसो गर्नु भनेको देसमा नागरिक शासन स्थापना र संचालन गर्नु भनेको हो । यो भनेको सरकारमा रहेका सिमित संख्याका निर्वाचित नागरिकहरुद्वारा देसका सम्पूर्ण नागरिक-जनसमुदायहरुको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक स्वतन्त्रता, समानता र न्यायको प्राप्ति, संरक्षण र सम्बर्द्धन गर्ने भनेको हो । यसरी नै जनजीविका भनेको मान्छे आधुनिक युगको मान्छेको रुपमा बाँच्नको लागि नभै नहुने कुराहरुको व्यवस्था गर्ने भनेको हो । ती कुराहरु हुन्- गास, बास, कपास, शिक्षा, दीक्षा, सुस्वास्थ्य, रोजगारी, संस्कार, समृद्धि, सुखशान्ति र सम्मान आदि । यी सबैको सुनिश्चित गर्दै आत्मनिर्भर र दीगो विकासद्वारा समग्र र यथेष्ट समृद्धि प्राप्त गर्दै समाजवाद-साम्यवादको दिशामा अघि बढ्ने विचार र व्यवस्था हुनुपर्छ भन्ने मसहित थुप्रै स्वतन्त्र, स्वाभिमानी र सचेत कम्युनिस्ट क्रान्तिकारीहरुलाई लागिरहेको कुरा हो । महाधिवेशनले नेपालमा अहिले यस्तो व्यवस्था ल्याउनको लागि अहिलेको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको यथातथ्य विश्लेषण गरोस् । वर्तमान नेपालको वर्गविश्लेषण र राजनीतिक विश्लेषण पनि तथ्य-तथ्यांकमा आधारित भएर गर्न सकोस् ! राष्ट्रिय र अन्तर्राष्ट्रिय आधारभूत, प्रधान र गौण अन्तर्विरोध पहिल्याउन सकोस् । मुख्य दुश्मन र सहायक दुश्मन एवं मुख्य मित्र र सहायक मित्रहरुको पहिचान गर्न सकोस् । मुख्य मित्रशक्ति (आफ्नो पंक्ति ) लाई एकताबद्ध, सुदृढ र सबल पारी निर्णायकरुपले संघर्ष गरी सफलता र विजय प्राप्त गरेर सम्भावित प्रतिक्रान्ति र प्रतिगमनलाई रोक्दै र ठोक्दै निरन्तर क्रान्तिको बाटोमा अघि बढेर विजय हासिल गरी समाजवाद-साम्यवादसम्म पुग्नको लागि अहिले देखि नै प्रमुख दुश्मनलाई एक्लाउन, कमजोर पार्न र सिद्धाउन सम्पूर्ण मित्र शक्तिहरु र सहायक दुश्मनहरुलाई समेत साथ, सहयोग र समर्थन लिएर लड्ने रणनीति, कार्यनीति सहितको क्रान्तिकारी र देसमुखी नीति, नेतृत्व, संगठन र संघर्षका कार्यक्रम र कार्ययोजना बनाउन सफल हुनुहोस् ! आज देसका मुख्य दुश्मन इन्डो-पश्चिमा साम्राज्यवाद र तिनका नेपाली भेषका संसदवादी दलाल पार्टी र भ्रष्ट नेताहरु, देसी-विदेसी मालिकहरुका दास बने-बनाइएका नोकरशाहहरु, राष्ट्रिय-अन्तर्राष्ट्रिय माफियाहरु, घुस-कमिशनखोर नेता, कार्यकर्ता र कर्मचारीहरु, सूदखोर साहुमहाजनहरु, कालाबजारिया र ठेकेदारहरु आदि भएको निर्क्योल गर्दै ती सबैलाई ठिक ठिक रुपले चिन्ने, एक एक गरी बिन्ने र पालैपालो हान्ने कामकुरामा प्रतिबद्ध र कटिबद्ध हुन यहाँहरुको नवौं महाधिवेशन सफल र सार्थक होस् भन्ने हार्दिक शुभकामना छ !
यसक्रममा महाधिवेशनले पार्टी संगठन पनि नयाँ, सिद्धान्तनिष्ठ, व्यवहारपरक, जनसेवी, क्रान्तिकारी र शक्तिशाली बनाउने नीति लिनैपर्छ ! जनताबाट जबर्जस्ति केही नलिएर दुश्मनबाट कब्जा गरी नेताहरुको सुख-शयलमा होइन क्रान्ति र पार्टीको अत्यावश्यक कार्यमा खर्च गर्ने कुरामा पूर्ण सचेत र अनुशासित हुनै पर्छ ।


नारामा भनिएजस्तो अवसरवादलाई परास्त गर्ने पक्कै हो तर त्यो अवसरवादलाई परास्त किन र कसरी गर्ने भन्ने प्रश्न गम्भीर छ ! चुनावी पार्टी बनाएर शान्तिपूर्ण गतिविधि गर्न र संसदीय सत्ता सुखभोग गर्नलाई अवसरवादलाई परास्त गर्ने हो भने त्यसको कुनै अर्थ छैन । होइन, क्रान्तिकारी पार्टी बनाएर क्रान्ति नै गर्ने हो र उपयुक्त र आवश्यक घडीमा हतियारबद्ध संघर्ष पनि गर्नको लागि अवसरवादलाई परास्त गर्ने हो भने त्यो बिल्कुल ठिक छ । तर कहाँ र कस्तो छ त्यो अवसरवाद भन्ने कुरा पत्ता लगाएर ठोक्ने कुरा महत्वपूर्ण हुन्छ । घोषित अवसरवादभन्दा छद्म अवसरवाद अनि बाह्य अवसरवाद भन्दा भित्री अवसरवाद बढी घातक हुने हुनाले ख्याल गर्नु जरुरी छ ! वास्तवमा आज साम्राज्यवादले घुसाएका वा आफै साम्राज्यवादी उपभोक्तावाद, दलाली, भ्रष्टाचार, सत्ता र शक्ति आदिको प्रयोग, प्रकोप र प्रदूषणबाट विकृत भएका नेता-कार्यकर्ताहरु माओकै नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीमा प्रवेश पाएर पकड जमाएझैं र तपाइँ-हामी पनि नेता भएकै पार्टीका सर्वोच्च नेता प्रचण्डलाई देवत्वकरण गर्दा उनी र उनको ग्याङभित्रै अवसरवाद र सत्तासुखभोगवादले हुर्कने मौका पाएझैं गरी पार्टीको माथिल्लो तहमै अवसरवाद जन्मन र हावी हुन सक्ने खतरालाई नजर अन्दाज गर्नु ठुलो भूल हुन्छ । यससिलसिलामा माओको सांस्कृतिक क्रान्ति र त्यस दौरानमा लगाइएको “बुर्जुवा हेडक्वाटरमाथि बम बर्साऊ” भन्ने जस्तो गम्भीर र भयावह नाराको मर्म बोध गरेर चल्नु र हामीले पनि प्रचण्डको वर्गीय र राष्ट्रिय आत्मसमर्पणवाद विरुद्ध विद्रोह गरेको कुरालाई स्मरण गर्नु अति आवश्यक छ । तर ठिक यहींनेर हुने केही अतिवादहरुबाट भने बच्नु जरुरी हुन्छ । एउटा अतिवाद हो भिन्नमत राख्नेजतिलाई अवसरवादी देख्ने । दोस्रो अतिवाद हो भित्रका अवसरवादीलाई नदेख्ने तर बाहिरकालाई मात्र देख्ने । तेस्रो अतिवाद हो आफ्नो मतका चरम अवसरवादीलाई पनि नदेख्ने तर अर्को मतका थोरै कमजोरी भएकालाई पनि घोर अवसरवादी देख्ने । यसरी नै चौथो अवसरवाद हो आफ्ना गल्तिकमजोरी ढाकछोप गर्न अर्कालाई अवसरवादी करार गर्ने, जस्तो कि नेकपाको पाँचौं महाधिवेशनमा भएको थियो । जे होस्, जहाँ भएपनि अवसरवाद र अवसरवादी खतरनाक नै हुन्छन् । स्मरणीय छ कि बाह्य दुश्मनभन्दा भित्री दुश्मन खतरनाक भएझैं पार्टी भित्र लुकेर बसेको छद्म अवसरवाद पार्टी र क्रान्तिको लागि सर्वाधिक खतरनाक हुने हुनाले तिनलाई समयमै चिन्न, बिन्न र हान्न सक्नुपर्छ ! फेरि यहींनेर एउटा यो कुरामा ख्याल गर्नु पर्छ कि धान खाने मुसो चोट पाउने भ्यागुतो हुनुहुन्न र थोरै गल्तीको धेरै सजाय गरिनु पनि हुन्न ।
यसरी मात्रै अवसरवादमाथि दीगो विजय प्राप्त हुन सक्तछ र पार्टीमा क्रान्तिकारीहरुको पकड मजबुत बनाइरहन सकिन्छ । यसरी र यसरी मात्र कुनैपनि क्रान्तिकारी पार्टी साँचोरुपमा एकताबद्ध र सुदृढ बन्न सक्छ ! तत्पश्चात् पार्टीलाई थप शक्तिशाली बनाउन आधारभूत रुपमा समान सिद्धान्त भएका क्रान्तिकारी पार्टी र व्यक्ति-व्यक्तित्वहरुबिच एकीकरण र ध्रुवीकरण पनि त्यत्तिकै जरुरी छ । सम्पूर्ण कुराहरु त जति सानो पार्टी र जति मिल्दा नेताहरुबिच पनि मिल्दैनन् । किनकि, अन्तर्विरोध सार्वभौम हुन्छ र पार्टी स्वयं विपरीतहरुबिचको एकत्व हो जहाँ एकता र संघर्ष भैनैरहन्छ । त्यसैले त पार्टीभित्रको अन्तरसंघर्षबारे क. माओले सयौं फूललाई फुल्न दिने र बिषालु झारपातलाई मात्र गोडेर फाल्नु पर्ने कुरा गर्नुभएको थियो । एउटा सुदृढ र जनतामा झ्याङ्गिएको शक्तिशाली क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्र आजका शक्तिशाली वैदेशिक साम्राज्यवाद र घरेलु प्रतिक्रियावादलाई छल्दै र ढाल्दै क्रान्ति सम्पन्न गरी बचाउने र विस्तार गर्ने ऐतिहासिक कार्यभारको नेतृत्व गर्न सक्तछ । तर यत्तिले मात्र पनि पुग्दैन ! यसपछि साम्राज्यवाद र घरेलु प्रतिकृयावाद विरोधी देशभक्त र जनवादी (democratic ) शक्तिहरुबिचमा पनि एउटा शक्तिशाली संयुक्त क्रान्तिकारी मोर्चा पनि अत्यावश्यक हुन्छ । त्यसैले नवौं महाधिवेशनले क्रान्तिकारीहरुको एकीकरण र ध्रुवीकरण अनि संयुक्त क्रान्तिकारी मोर्चा निर्माणमा तत्कालैदेखि जिम्मेवार पहल लिने निर्णय गरोस् भन्ने कामना छ । महाधिवेशनले नेताकार्यकर्ताहरुलाई विभिन्न मित्र शक्तिहरुका बिचमा आग्रह-पूर्वाग्रह राख्ने, आक्रोश र प्रतिशोध साँध्नेजस्ता चिन्तन-प्रवृत्ति र संस्कार-संस्कृतिबाट माथि उठ्न सिकाओस् र आपसमा सहकार्य र सहसंघर्षको भावना बढाउन सकोस् !
यसपछिको पालो आउँछ क्रान्तिकारी सेना निर्माण र संघर्ष संचालन आदिको !
क्रान्तिकारी सेना सर्वप्रथम क्रान्तिकारी विचार, भावना र लक्षले ओतप्रोत भएको हुनुपर्छ । गोर्कीले भनेझैं हाम्रो सेनाले “हातलाई सशस्त्र पार्नुभन्दा पहिले दिमागलाई सशस्त्र पार्नुपर्छ”। यो अत्यन्त अनुशासित र जिम्मेवार हुनुपर्छ । यसरी नै एउटा हतियारधारी व्यक्ति वा शक्ति त्यत्तिकै संवेदनशील, गम्भीर र लौह अनुशासित पनि हुनैपर्छ । साथै यसलाई पार्टीले सचेतता र योजनाबद्धताका साथ परिचालन गर्नुपर्दछ । क्रान्तिकारी पार्टी र संयुक्त मोर्चा अनि सेना निर्माण र परिचालनसम्बन्धी नीति अर्थात् सशस्त्र संघर्षको नीति खुला हुनुपर्छ भने गतिविधि भने मूलतः भूमिगत हुनुपर्दछ । स्मरणीय छ शान्तिपूर्ण, वैधानिक, सहरिया, खुला र संसदीय संगठन र संघर्ष (चुनाव आदि) निर्णायक हुन सक्तैनन् भन्ने कुरा स्वत: सिद्ध नै छ ।
जहाँसम्म नेपालमा संयुक्त, सशक्त र व्यापक जन आन्दोलनबाट थोरै-धेरै परिवर्तन भएको ऐतिहासिक सन्दर्भ छ, त्यसको महत्वपूर्ण भूमिका भएपनि त्यसलाई निष्कर्षमा पुग्नेगरी निर्णायक बनाउन सशस्त्र संगठन र संघर्षको नै मुख्य भूमिका हुन्छ भन्ने कुरा मालेमावादको सार्वभौम सच्चाई र हाम्रै देसको दसबर्षे महान् जनयुद्धबाट अढाईसय बर्षसम्म जरा गाडेर बसेको एकीकृत र केन्द्रीकृत राजतन्त्रात्मक शासन व्यवस्थालाई ढालेर संघीय गणतन्त्रात्मक शासन व्यवस्थालाई स्थापना गरेको आफ्नै अनुभवजन्य सच्चाई हो । यसलाई दृढतापूर्वक अवलम्बन र कार्यान्वयन गर्नुपर्छ ।
अहिले हाम्रो देसको परिस्थिति निक्कै नै तरल तर विष्फोटक बनेको छ । राष्ट्रघाती MCC, SPP र नागरिकता विधेयकलाई स्वीकृत गरिएको छ । अरुण तेस्रो-चौथो, पश्चिम सेती, अपरकर्णाली आदि भारत-पोषक सन्धि-सम्झौता सम्पन्न भएका छन् । कालापानी, सुस्ता लगायतका ६ दर्जन स्थानका नेपाली भूमिमाथि भारतीय विस्तारवादी अतिक्रमण भएको छ र त्यसप्रति दलाल सरकारहरुले आत्मसमर्पण गरेका छन् । यी राष्ट्रघाती कुकृत्यहरुका साथै भ्रष्टाचार, अनियमितता, घुसखोरी, कमिसनखोरी, करछली, कालाबजारी, मिटरब्याजे सूदखोरी, चिनीमिलहरुको ठगीलगायतका जनजीविकाघाती अपराधहरु गर्ने-गराउने गरेर जनजीवन तवाह पारिएको छ । लोकतन्त्र-जनतन्त्रका नाममा नेता-शासकहरुबाट सडकमा मात्र होइन, सदनदेखि सरकार र संचार-सन्जालसम्ममा भए-गरेका र हुँदै गरेका निरंकुश र फासिवादी दमन र दादागिरीपूर्ण कामकार्वाही एवं अझै सामाजिक संजालका अभिव्यक्तिहरुमा समेत अंकुश लगाउने हाल भैरहेको दुस्प्रयास जगजाहेर छ । साथै स्वयं यहाँहरु आफैसँग गरेको सम्झौताअनुसार राजबन्दीहरुलाई रिहा नगरेर गैरकानूनी र अनैतिक रुपले थुनिनै रहेको छ र शान्तिपूर्ण गतिविधिहरुमाथि दमन गर्दै पुराना खारेज भैसकेका मुद्दाहरुलाई ब्युँझाएर यहाँहरु स्वयंलाई भूमिगत हुन बाध्य बनाएको छ । यी सब लोकतन्त्रविरोधी, जनविरोधी र राष्ट्रविरोधी अपराधहरु हुनुमा साम्राज्यवाद, विस्तारवाद र तिनका दलालहरु यी सरकार, सदन र प्राय: सबै सर्वोच्च अंग र तिनका नेतृत्वहरुमा हावीभै हुकुम-हैकम चलाउँदै हालीमुहाली हुनु नै मुख्य कारण रहेका छन् । त्यसैले यी दलालहरु र यिनका विदेसी प्रभुहरुका उक्त ज्यादतीपूर्ण हरकतहरुका कारण देस र जनता अब उप्रान्त यही रुपमा बस्न र बाँच्न नै नसक्ने र विद्रोहमा उत्रनै पर्ने बाध्यात्मक अवस्था छ ।
यस कुरालाई गहिरोसँग आत्मसात् गर्दै विष्फोट र विद्रोहको यो अवश्यम्भावी सम्भावनालाई पक्रने र नेतृत्व गर्ने कुरामा उच्च गम्भीरता र प्राथमिकता दिई संयुक्त र स्वतन्त्र अनि शान्तिपूर्ण र सशस्त्र दुवैरुपमा निर्णायक संघर्ष गर्ने नीति लिन महाधिवेशन सफल होस् र नेतृत्वलाई यस दिशामा जान प्रेरित र उत्साहित मात्र होइन बाध्य नै पार्न सकोस् भन्ने उत्कट अभिलाषा व्यक्त गर्न चाहन्छु ।

अन्तमा, अहिलेको यो विष्फोटक स्थितिलाई ठिक ढङ्गले निकास दिने एउटा मार्ग चित्र पनि यस नवौं महाधिवेशनले दिन सकोस् भन्ने चाहन्छु । मेरो विचारमा तात्कालिक कार्यनीतिक मार्गचित्र यसप्रकार हुनुपर्छ :
१. विदेसमुखी वर्तमान व्यवस्था विस्थापित गरी सच्चा स्वदेशमुखी जनताको राष्ट्रवादी/राष्ट्रिय लोकतान्त्रिक/जनवादी व्यवस्थाको स्थापना गर्ने ।
२. वर्तमान दलाल सरकारको विघटन गरी नयाँ स्वाधीन संयुक्त अन्तरिम सरकारको गठन गर्ने ।
३. विद्यमान गैर जिम्मेवार राष्ट्रिय सभा खारेज गरी गोलमेच सम्मेलनद्वारा राष्ट्रिय राजनीतिक सभाको निर्माण गर्ने ।
४. जारी राष्ट्रघाती संविधान पुनर्लेखन गरी चालू कानुनहरु संशोधन गर्ने ।
५. पङ्गु न्यायपालिका पुनर्गठन गरी जिम्मेवार न्यायप्रणालीद्वारा शीघ्र सच्चा न्याय प्रदान गर्ने ।
६. घोषित आमनिर्वाचन स्थगित गरी देससेवी चुनिने सच्चा बहुमतीय निर्वाचन प्रणाली मार्फत चुनाव गर्ने ।
७. अस्थीर र अनियन्त्रित प्रधानमन्त्रीय प्रणाली परित्याग गरी स्थिर र जननियन्तृत प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अवलम्बन गर्ने ।
८. नेपालको साझा राष्ट्रिय नागरिकता नीति निर्माण गरी
सर्वाधिकार सम्पन्न नागरिकता छानबिन आयोग गठन गर्ने । यो अवधिसम्म नागरिकता नपाएर अप्ठेरो परेका भनिएका नेपालीहरुलाई अंगीकृत नागरिकता सरहको अस्थायी निस्सा तत्काल दिएर अप्ठेरो फुकाउने ।
९. झुट्ठा, आप्रवासी विदेसीलाई दिएको नागरिकता खारेज गरी सच्चा, आदिवासी नेपाली मधेसीहरुलाई नागरिकता दिने ।
१०. सार्वजनिक पद धारण गरेका शीर्ष नेतृत्व र व्यक्तित्वहरुको सम्पत्ति छानबिन गरी भ्रष्टाचारद्वारा आर्जित सम्पत्ति कब्जा गर्ने ।
११. राजा वीरेन्द्र र नेता मदन भण्डारी हत्याकाण्डको बैज्ञानिक छानबिन गरी हत्यामा संलग्न सबैलाई कडा कार्बाही गर्ने ।
१२. हाल बहुविवादित MCC, SPP, नागरिकता विधेयक लगायत सन् १९५० को सन्धि, कोशी, गण्डकी, महाकालीजस्ता सम्पूर्ण अराष्टृय, असमान र अपमानजनक सन्धि, सम्झौता र समझदारीहरु खारेज गरी आवश्यकतानुसार नयाँ आधारमा नयाँ सन्धि-सम्झौताहरु गर्ने ।
१३. शिक्षा र स्वास्थ्यमा भएको व्यापारीकरण नियन्त्रण गरी सस्तो, सुलभ र स्तरीय शिक्षा प्रदान गर्ने !
१४. कृषि, उद्योग र पर्यटन प्रबर्द्धनमा जोड दिई राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण र विकास गर्ने ।
१५. गरीब किसान, श्रमजीवी मजदुर, दलित, महिला, मधेसी, जनजाति आदि विभिन्न शोषित-उत्पीडित वर्ग र समुदायहरुका न्युनतम मागहरु पूरा गरी आम जनताका दैनन्दिन आवश्यकताहरुको परिपूर्ति गर्ने ।
१६. राष्ट्रियता, जनतन्त्र र जनजीविकाका जल्दाबल्दा समस्याहरुको समाधान गरी देसमा सुशासन र शान्ति- सुव्यवस्थाद्वारा दीगो विकास र समृद्धि हासिल गर्दै समाजवाद प्राप्तिको दिशामा अघि बढ्ने ।

उपरोक्त मार्गचित्रमा अघि बढ्न र बढाउन महाधिवेशनले निम्न नाराहरु तय गरोस्, लगाओस् र नवौं महाधिवेशन भव्यता र दिव्यताका साथ सम्पन्न होस् :

१. वर्तमान दलाल सरकार विघटन गरौं !
स्वाधीन देसभक्त सरकार गठन गरौं !!
२. राष्ट्रघाती राष्ट्रियसभा/संसद भङ्ग गरौं !
राष्ट्रिय राजनीतिक सभा/संसद निर्माण गरौं !!
३. वर्तमान संविधानका राष्ट्रघाती प्रावधान खारेज गरौं !
सर्वाधिकार सम्पन्न नागरिकता छानबिन आयोग गठन गरौं !!
४. सच्चा, आदिवासी नेपाली मधेसीहरुलाई नागरिकता तत्काल दिलाऔं !
झुट्ठा, आप्रवासी विदेसीलाई दिइएका नागरिकता खारेज गरौं !!
५. पङ्गू पारिएको न्यायपालिका पुनर्गठन गरौं !
शीघ्र, सुलभ र सच्चा न्याय प्रदान गरौं !!
६. दलाल र दामपन्थीले जित्ने घोषित चुनाव खारेज गरौं !
सच्चा देसभक्त चुनिने नयाँ प्रणाली कायम गरौं !!
७. जनता होऔं होशियार !
दलाललाई गरौं खबर्दार !!
८. सम्पूर्ण देसभक्तहरु एक हौं !
संयुक्त आन्दोलन सशक्त पारौं !!
९. दलाल संसदीय व्यवस्था मुर्दावाद !
जनताको राष्ट्रिय जनवाद जिन्दावाद !!
१०. साम्राज्यवाद तथा दलाल पुँजीवाद मुर्दावाद !
मार्क्सवाद-लेनिनवाद-माओवाद जिन्दावाद !!
११. महान् सहिदका सपनाहरु साकार पारौं !
क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अघि बढाऔं !!
१२. नवौं महाधिवेशन सफल होस् !
समाजवाद-साम्यवाद सार्थक होस् !!
धन्यवाद !
लाल सलाम !!

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु