खाद्यद्वारा खसीबोका बिक्री सुरु

२०७९ आश्विन १२ गते, बुधबार

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङग्रा बिक्री गर्ने जनाएको छ । बजार मूल्यभन्दा कम्पनीबाट बिक्री हुने खसीबोका र च्याङग्रा मासुको मूल्य प्रतिकिलो केही कम हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि खसीबोका र च्याङग्राको मूल्य तोकेको छ । आजदेखि बिक्री गर्नेगरी खाद्यले व्यापारीको भन्दा प्रतिकिलो ५० रुपैयाँसम्म सस्तो मूल्य तोकेको हो । खसीको बिक्री मूल्य प्रतिकिलो ६ सय ८० रुपैयाँ तोकिएको कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीम थापाले बताउनुभयो । उक्त मूल्यमा १० रुपैयाँ छुट दिइनेछ ।
यस्तै, च्याङग्राको मूल्य १२ सय ६० रुपैयाँ तोकिएको छ । प्रतिकिलो १० रुपैयाँ छुटसहित उपभोक्ताले खसीबोका प्रतिकिलो ६ सय ७० र च्याङ्ग्रा १२ सय ५० रुपैयाँ तिर्नु पर्नेछ ।
खाद्यले बिक्री गर्ने मूल्य व्यापारीको भन्दा किलोकै ५० रुपैयाँ सस्तो हो । कम्पनीले दाङबाट ७००, धादिङबाट ६०० र वीरगञ्ज, हेटौंडा लगायत ठाउँबाट ७०० खसीबोका काठमाडौं भित्र्याइसकेको छ । कम्पनीले यो वर्ष च्याङग्रा बिक्री नगर्ने भनेको भए पनि ५०० च्याँग्रा बिक्री गर्ने भएको छ । कम्पनीले बुधबारदेखि दुई हजार खसीबोका र ५०० च्याँग्रा काठमाडौं उपत्यकामा बिक्री गर्ने भएको हो । ती खसीबोका र च्यांग्रा काठमाडौंको थापाथलीस्थित प्रादेशिक कार्यालयमा ल्याइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु