के–के हुन दलबदलका कारणहरु ?

२०७९ आश्विन ९ गते, आईतवार

खगेन्द्र छन्त्याल

व्यक्तिका विविध सपना हुन्छन् ! ती सपनाहरुमध्ये कुनै कुनै सपना एकल पहलमा पूरा हुन् नसक्ने खालका हुन्छन् ! त्यस्ता सपना पूरा गर्नको निम्ति सामुहिक पहलको आवश्यकता हुन्छ ! समाज, देश र संसार बदल्ने सपना अर्थात टाउकाले टेकेर उल्टो हिँडिरहेको समाजलाई खुट्टाले टेकाएर सुल्टो कुदाउने सपना एकल पहलबाट सम्भव हुँदैन । त्यसका निम्ति सामुहिक पहलको आवश्यकता पर्दछ । अतः सपना मिल्नेहरू एकआपसमा जोदिन्छन् र सपना पुरा गर्नको निम्ति योजना बनाउँछन् । उनीहरुको कैयौँ योजनाहरुमध्ये मुख्य हो आफ्ना सपनासम्म पुग्ने साधन निर्माण ! हो ठिक यहीँनेर मान्छेहरुको सामुहिक सपना पुरा गर्ने साधनका रुपमा जन्मन्छन् विभिन्न संस्थाहरु त्यसभित्र नै पर्दछन् राजनैतिक दलहरु !

भनिन्छ बिपी कोईरालाको एउटा सुन्दर सपना थियो ! उनको सपना हो “हरेक नेपाली किसानको चार बिघा जमिन होस् र उसँग एक हल गोरु पनि ! यसैलाई मुख्य कडी बनाएर बीपीले प्रजातान्त्रिक समाजवादको व्याख्या गरेको पाइन्छ ! बीपीको सपनामा सहमत हुनेहरु वा बीपीको जस्तै सपना देख्नेहरु मिलेर त्यो सपनासम्म पुग्ने साधनको रुपमा ‘कंग्रेस’ को स्थापना भयो ! बिपीलगायतको सपना साध्य र कांग्रेस साधन हो । सपनासम्म पुग्नको निम्ति साधन निर्माण वा प्रयोग गरिन्छ । सपनाको यात्रामा जव साधनमा खरावी देखिन्छ, जव साधनले गडबड गर्दछ तव पहिलो कुरा त्यही साधनको मर्मतमा लागिन्छ । जव साधन निकम्मा भैसकेको र त्यसले साध्य सम्म पु¥याउने कुनै सम्भावना देखिँदैन तब अर्को साधनको व्यवस्थापन गरिन्छ । तसर्थ, साध्य प्रधान र साधन गौण हो । राजनैतिक दलहरु गौण चीज हुन् । ती दल गठन गर्ने तथा ती दलहरुमा समाहित भएका नेता, कार्यकर्ताहरुको देश, समाज र संसार बदल्ने सपना प्रधान कुरा हो ।

साध्यले व्यवस्थापन गर्ने चीज हो साधन ! त्यसकारण साधन सधैँ साध्यको अधीनस्थ हुनुपर्ने हो । तर, कहिलेकाहीँ त्यस्तो हुँदैन र साधनको अधीनमा साध्य हुन्छ । जब साधनको अधीनमा साध्य हुन्छ तब साध्य र साधनबीच अन्तरविरोध पैदा हुन्छ । जब त्यहाँ अन्तरविरोध पैदा हुन्छ तब यात्रामा गतिरोध हुन्छ ।

दल र दलका सदस्यबीच द्वन्द्वात्मक सम्बन्ध आवश्यक हुन्छ । दलका आमसदस्यहरुको विचार, भावना र सपनालाई दलले सम्बोधन गरेर दलको नीति निर्माण हुनुपर्दछ । त्यसरी निर्माण भएको नीतिको आधारमा दलका सबै सदस्यहरु दलको अधीनमा हुनुपर्दछ । यसको अर्थ हो दलका आमसदस्यहरुको सपनाको अधीनमा दल र दलको अधीनमा दलका सबै सदस्य ।

दलका सदस्यहरुलाई परिचालन गर्नको निम्ति एकाएक आकाशबाट बर्सेको वा धर्तीबाट उब्जेको चीज होइन दलका ! संसार बदल्ने सपना पूरा गर्नका निम्ति दलका सदस्यहरुले दल निर्माण गर्ने हो । दल सामन्तको विर्ता जस्तो बन्नु हुँदैन । त्यसकारण आमसदस्यहरुको भावना, सपना र योजनामा दल चल्नुपर्दछ । दलका बैठक, भेला र सम्मेलनहरु औपचारिकता पूरा गर्ने माध्यम मात्र हुनुहुँदैन । हरेक बैठक, भेला र सम्मेलनहरुमा हरेक दलका सदस्यले ढक फुकाएर, छाती खोलेर ढुक्कसँग आफ्ना कुरा राख्न पाउनुपर्दछ ! पार्टी (दल) र पात्रमा देखिएका गलत प्रवृतिका बिरुद्ध तलदेखि माथिसम्म लड्ने अधिकार हरेक दलका सदस्यलाई सुरक्षित हुनुपर्दछ ! गलत प्रवृतिका बिरुद्ध विधिसम्मत ढंगले आवाज उठाउने, उजुरी गर्ने असहमति जाहेर गर्ने र असन्तुष्टि व्यक्त गर्ने दलका सदस्यहरुको असहमति र असन्तुस्टिका वारेमा दलमा बहस छलफल चलाउने र सम्बोधन गर्ने गर्नुपर्दछ । त्यसप्रति उदासीन बन्ने, बेवास्ता गर्ने र उल्टो दलका त्यस्ता सदस्यहरुमाथि विविध बहानामा कारवाहीको डण्डा चलाउने हो भने दल र दलका सदस्यका सपनाबीच अन्तर्विरोध पैदा हुन्छ । यो अन्तरविरोधले सपनाका यात्रीहरुको महान यात्रामा गतिरोध सिर्जना गर्दछ । यस्तो अवस्थामा अन्ततः सपनाका यात्रीहरु साधन बदलेर पनि यात्रा जारि राख्न बाध्य हुन्छन् ।

निश्चय नै सपनाका यात्रीहरुले प्रयोग गरेको साधन बदल्नु पर्ने विविध बाध्यता हुनसक्दछन् । माथि चर्चा गरिएझैँ पहिलो ः साधन निकम्मा हुनु । दोस्रो ः यात्री स्वयंको आफ्नो सपनाबाट विचलन र स्खलन हुनु । तेस्रो ः यात्रीहरुको सपनाको विकास हुनु हो । सुन्दर सपना देखेर त्यसलाई प्राप्त गर्न हिँडेका सपनाका यात्रीहरु सबै गन्तव्यमा पुग्न सक्दैनन् । त्यो लामो र कठिन यात्रामा कैयौ यात्रीहरुबीचमा थाक्ने र भाग्ने गर्दछन् । अवश्य त्यो बेला पनि कतिपय सपनाका यात्रीहरुले आपूm अनुकूलको साधनको खोजीका निम्ति प्रयोग गरिराखेको साधन बद्ली गर्दछन् । डा केशरजंग रायमाझी, शैलेन्द्रकुमार उपाध्य, कमलराज रेग्मीलगायत कैयौ मान्छेहरु कुनै दिन खुँखार कम्युनिस्ट नेता थिए । तर, पञ्चायती शासनकालमा उनीहरु यात्रामा टिक्न सकेनन् । आफ्ना सपनाबाट उनीहरु बिचलित र स्खलित भए । उनीहरुले आफ्नो साधन बदलेर पंचायती घोडा चढे ।

त्यस्तै यात्राको क्रममै कतिपय सपनाका यात्रीहरुको सपनाको विकास हुने गर्दछ । उनीहरुले पहिलेभन्दा अझै माथि र झन् सुन्दर सपना देख्छन् र त्यहाँसम्म पुग्न चाहन्छन् । त्यो बेला पहिलेको सपना प्राप्तिको निम्ति प्रयोग गरेको साधन अयोग्य हुनसक्दछ । आवश्य त्यो बेला पनि सपनाका यात्रीहरुले उपयुक्त साधनको खोजीमा प्रयोग गरिराखेको साधन बदल्न सक्दछन् । कुनै दिन नेपालमा कम्युनिस्ट पार्टी नै थिएन । त्यतिबेला श्रमजीवि वर्गको सपना विद्यमान बुर्जुवा पार्टीहरुले नै पुरा गर्दछ भन्ने सबै श्रमजीविहरुलाई लाग्दथ्यो र उनीहरु बुर्जुवा पार्टीको सदस्य बन्दथे । नेपालमा कम्युनिस्ट पार्टीको स्थापनापश्चात पनि निर्मल लामा, मोहनबिक्रम सिंहलगायत कैयौँ नेपालको घगदान कम्युनिस्ट नेताहरु उहिले नेपाली कांग्रेसको सदस्य थिए । नेपाली कांग्रेसमा काम गर्दै जाने क्रममा उक्त पार्टीको लक्ष्य उद्देश्यभन्दा उहाँहरुको सपनाको विकास धेरै माथि पुग्यो । अब उहाँहरुको सपना प्राप्तिको निम्ति कांग्रेसबाट सम्भव देखिएन । त्यसकारण उहाँहरुले कांग्रेस परित्याग गरेर कम्युनिस्ट पार्टीमा लाग्नुभयो र कम्युनिस्ट पार्टीको अत्यन्तै सम्मानित नेता बन्नुभयो ।

दलबदलबारे हामीले माथि चर्चा गरेका कुराहरु सैद्धान्तिक हुन् । त्यसबाहेक कतिपय ब्यबहारिक कारणले पनि कैयौ मान्छेहरु दलबदल गर्न बाध्य हुन्छन् । कुनै दिन मात्रिकाप्रसाद कोइराला पनि कांग्रेसको नेता थिए तर उनले कांग्रेस त्यागे । त्यसको कारण थियो, आफ्नै भाइ बिपी कोइरालासँगको व्यक्तिगत टक्कर । त्यस्तै कांग्रेसले लौहपुरुष उपनाम र सर्वमान्य उपाधि दिएका गणेशमान सिंहले जीवनको पछिल्लो चरणमा कांग्रेस त्याग्नु भयो । कांग्रेस त्याग्नुको कारणबारे उहाँले भन्नुहुन्थ्यो “उपाधि चाहिँ सर्वमान्य तर कसैले पनि आपूmलाई नमान्ने” नै मैले यो निर्णय गर्नुको कारण हो । यससम्बन्धी अध्ययन गर्नेहरु भन्छन् गिरिजाप्रसाद कोइरालासँगको टक्कर र कोइराला पक्षबाट बारम्बारको अपमान नै उहाँले कांग्रेस परित्याग गर्नुको मुख्य कारण हो । कांग्रेसमा मात्र होइन देशका लगभग सबै पार्टीमा बिना कुनै सैद्धान्तिक राजनैतिक मतभेद यही कारणले अर्थात् पटक–पटक अपमानित र अपहेलित हुनुको कारणले आफैँ जन्माएको, हुर्काएको दल परित्याग गर्ने सयौँ होइन हजारौ छन् ।

अर्को कुरा अवसरका पारखीहरुले दलबदल गरिरहन्छन् । उनीहरुलाई दलबदलसम्बन्धी कुनै सैद्धान्तिक, राजनैतिक नजिरको अर्थ हुँदैन । जहाँ जसरी जुनसुकै समयमा अवसर प्राप्त हुन्छ, त्यहाँ समर्पित हुनु नै अवसरवादीहरुको धर्म हो । शुभलाभको निम्ति संसदीय राजनीतिमा २४ घन्टामा दलबदल गरेको घटना कुनै अनौठो मानिँदैन । संसदीय लाभ र अवसरका निम्ति प्रायः बुर्जुवा दलहरुमा देखिने यस प्रकारको घृणित गतिविधि कम्युनिस्ट पार्टीहरुमा पनि देखिनु पक्कै बिडम्बना हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु