आप्रवासी चढेको डुङ्गा डुब्दा चौँतीस जनाको मृत्यु

२०७९ आश्विन ७ गते, शुक्रबार


काठमाडाैं । लेबनानबाट आप्रवासीहरु ल्याई आएको एक डुङ्गा सिरियाली क्षेत्रको समुद्रमा डुब्दा त्यसमा रहेका कम्तीमा पनि ३४ जना आप्रवासीको ज्यान गएको छ । ज्यान जानेमा आप्रबासीहरु नै परेका सिरियाली अधिकारीहरुले जानकारी दिएका छन् । लेबनानबाट आएको सो डुङ्गा बिहीबार सिरियाली क्षेत्रको समुद्रमा पुग्दा डुबेको र त्यसमा परेर अरु केही हराइरहेका सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
डुबेको डुङ्गाबाट करिब २० जनालाई उद्धार गरिएको सिरियाली स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ । उद्धार गरिएका उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले लिएको जानकारीअनुसार सिरियाबाट करिब एक सय २० देखि एक सय ५० जना जति आप्रबासी लिएर सो डुङ्गा साइप्रसका लागि हिँडेको बताएको छ ।
डुङ्गामा क्षमता भन्दा धेरै मानिसहरु चढेका कारण डुबेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । तर उक्त डुङ्गा कहाँ जान लागेको हो भन्ने बारेमा थाहा नभएको उद्धार गरिएका व्यक्तिहरुले जनाएका छन् । सो डुङ्गामा लेबनान, सिरिया र अरु अज्ञात नागरिकहरु पनि रहेका बताइएको छ ।
त्यस डुङ्गामा परेर हराइरहेकाहरुको खोजी कार्य जारी रहेको छ । खोजीका लागि हेलिकोप्टर र यहाँका स्थानीय मछुवाहरुलाई प्रयोग गरिएको पनि समाचारमा जनाइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु