युक्रेन युद्ध छल्न हजारौं रुसी नागरिक देश छाड्न आतुर

२०७९ आश्विन ७ गते, शुक्रबार

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धका लागि थप जनशक्ति भर्ति गर्ने घोषणा गरेपछि युद्धमा जाने उमेर समूहका पुरुषहरु देश छाड्नका लागि सीमा क्षेत्रतिर लाइन लागेका छन् । जर्जियाको सीमा क्षेत्रमा देश छाड्न चाहनेहरुको लामो लाइन लागेको दावी पश्चिमा मिडियाले गरेका हुन् । पुटिनले केही दिन अघि ३ लाख नयाँ भर्ति गर्ने कार्यक्रम ल्याउनुभएको थियो । हातमा पासपोर्ट बोकेका पुरुषहरुले सरकारले आफूहरुलाई पक्कै पनि युद्धमा धकेल्छ भन्ने लागेर देश छाड्न चाहेको बताएका छन् । त्यस्तो लाइन ५ किलोमिटर लामो रहेको दावी गरिएको छ । जर्जिया प्रवेश गर्न रुसी नागरिकहरुलाई भिसाको आवश्यकता नपर्ने भएकाले उनीहरु आफूसँग जे छ त्यही बोकेर सीमानामा पुगेको जनाइएकाे छ । ट्रकहरुदेखि साना गाडीको समेत लाइन लागेका छन् । फिनल्याण्डको सीमा क्षेत्रमा पनि लामो लाइन रहेको छ । तर फिनल्याण्ड प्रवेश गर्न भिसा चाहिने भएकाले सजिलो छैन् । त्यस्तै हवाई उडानबाट इस्तानबुल, बेलग्रेड तथा दुबई जान चाहनेहरु पनि उत्तिकै रहेको छ । ती शहरहरुमा जाने हवाई टिकटको भाउ ह्वात्तै बढेको छ । उता, जर्मनीको गृह मन्त्रालयले देश छाडेर आउने रुसी नागरिकहरुलाई स्वागत गरिने जनाएको छ ।

प्रतिक्रियाहरु