‘ऐना झ्यालको पुतली’ ओस्कार अवार्डका लागि सिफारिस

२०७९ आश्विन ४ गते, मंगलवार


काठमाडौं । ९५ औँ संस्करणको अवसरमा अर्को बर्ष अमेरिकामा हुन लागेको ओस्कार अवार्डका लागि नेपालको अन्तर्राष्ट्रिय फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित फिल्म ऐना झ्यालको पुतली सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोम्बार बसेको बैठकमा प्राप्त फिल्महरु मध्ये ऐना झ्यालको पुतलीलाई सिफरिस गर्ने निर्णय गरेको हो ।
नेपाल अन्तर्राष्ट्रिय फिचर फिल्म समितिले ओस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्म कर्मीहरुलाई २०७९ भदौ ३० गते भित्र फिल्म बुझाउन आग्रह गरेको थियो । उक्त समितिले प्राप्त ३ फिल्म दिनेश राउत निर्देशित प्रकाश, सुवर्ण थापा निर्देशित राधा र सुजित बिडारी निर्देशित ऐना झ्यालको पुतली सहभागीताका लागि आवेदन दिएका थिए ।
फिल्मको कथावस्तु, कथाको प्रस्तुती, विश्लेषण तथा कलात्मक आदि पक्षलाई ख्याल गरेर ऐना झ्यालको पुतलीलाई सिफारिस गरेको छ । यो सालको ओस्कर अवार्ड १२ मार्च आइतबारका दिन लस एञ्जल्सको डल्बी थिएटरमा आयोजना हुदै छ ।
जहाँ समितिमा लक्ष्मीनाथ सर्मा, राजेन्द्र शलभ, लोकेन्द्र पराजुली, राजु विक्रम थापा लगायत अन्य सदस्य रहेका छन् । यो चलचित्रमा अधिकांश कलाकारहरु बाल कलाकार छन् । सुजित बिडारी निर्देशित यस फिल्ममा दुई दिदीभाइको सम्बन्ध देखाइएको छ । समीक्षात्मक रुपले रुचाइएको फिल्ममा बालकलाकार कञ्चन(लक्ष्मी) चिमरिया, दिनेश खत्री, विशाल चाम्लिङ राई, उमेश श्रेष्ठ र राज थापाको अभिनय छ । त्यस्तै पुराना कलाकार सिरु विष्ट, पदमप्रसाद पौडेलको पनि फिल्ममा अभिनय देख्न सकिन्छ ।
प्रदर्शनरत यो फिल्मबाट निर्देशक बिडारीले ‘२० औं अन्तर्राष्ट्रिय ढाका फिल्म फेस्टिभल’मा उत्कृष्ट निर्देशकको अवार्ड जितेको हो । यो फिल्म बुसानको न्यु करेन्ट सेक्सनमा छनौट भएको थियो । फिल्मको कथा २०७२ को महाभुकम्पपछि निर्देशक बिडारी आफैंले लेखेका थिए ।

प्रतिक्रियाहरु