बहुध्रूवीय विश्व र समाजवाद !

२०७९ आश्विन २ गते, आईतवार
  शेरबहादुर बिश्वकर्मा

      

 आर्थिक, प्राविधिक र सामरिक दृष्टिले आजको विश्व शक्ति सन्तुलनलाई वहुध्रूवीय विश्वको रुपमा बुझ्न सकिन्छ । खासगरी शितयुद्धको अन्त्य, शोभियत संघको विघटन र पुर्वी युरोपमा समाजवादी राज्यसत्ताहरुमा भएको प्रतिक्रान्तिसँगै ९० को दशकपछिको समयलाई एकध्रूवीय वा अमेरिकीध्रूवीय विश्वको रुपमा लिइन्थ्यो । यसको अर्थ विश्वशक्तिको मुख्यभाग र केन्द्रमा अमेरिका छ र अरु मुलुकहरू उनीहरुको पेरिफेरी अन्तर्गत पर्दछन र अमेरिकासँग वा उसको नीतिसँग असहमत हुने चेस्टा राख्नु कुनैपनि मुलुकका लागि खतराको संकेत हो भन्ने भाष्य स्थापित भएको थियो ।

 मानव सभ्यताहरुको इतिहासमा प्राचिनकालदेखि नै विभित्र सभ्यताहरुबीच आपसी अन्तरक्रिया, प्रतिस्पर्धा र सहअस्तित्वको सम्बन्ध रहदै आएको छ । यसक्रममा कतिपय सभ्यताहरु मासिएका छ्न, कतिपय बिकसित हुन पुगेका छन भने कतिपय सभ्यताहरु आफ्ना समकालीन सभ्यताहरुको तुलनामा प्रभावी भूमिकामा रहँदै आएका छन् ।

पुँजी र पुँजीवादको बारेमा सबैभन्दा गहन र मिहीनढङ्गले अनुसन्धान गरेका कार्लमाक्र्सका अनुसार पुँजीवादी युगको प्रारम्भ १४ औं शताब्दीबाट भएको मानिन्छ । जब पुँजीवादी उत्पादन सम्बन्धको बिकास भयो र वाफबाट चल्ने इन्जिनको आविष्कार भएपछि युरोपमा बिशेषत वेलायतमा औद्योगिक क्रान्तिको विजारोपण हुन पुग्यो । हस्तचालित औद्योगिक उत्पादनको स्थान मेशिनले लिन पुग्यो । जब हातले गर्ने काम मेशिनद्वारा हुन थाल्यो स्वभाबिकरुपमा उत्पादन र उत्पादकत्वमा भारी वृद्धि हुन पुग्यो । सिमित उत्पादनको ठाउँमा ठूलो परिणाममा हुने उत्पादनले लियो र अब पुँजीबादका लागि सस्तो श्रमको खोजी गर्नुपर्ने भयो । नाफाका लागि विश्वबजारको खोजी गर्नुपर्ने भयो । यसक्रममा नै वेलायत, स्पेन, अस्ट्रीया, हङ्गेरी, इटाली, फ्रान्स, जर्मन र जापानजस्ता साम्राज्यवादी देशहरुको उदय भयो र उनीहरुबीच नाफाका लागि हुने प्रतिस्पर्धामा युद्द, हिंसा, शोषण, मन्दी जस्ता मानवता विरोधी कुकर्महरु अन्तर्निहित हुन पुगे र त्यसको एउटा उत्कर्ष थियो प्रथम र द्वितीय विश्वयुद्ध । विश्वयुद्धको क्रममा कैयो ठुलो परिमाणमा धनजनको क्षती हुन पुग्यो । लाखौ मानिसहरू अंगभङ्ग हुन पुगे । यसरी पुँजीवादी उत्पादन प्राणाली अन्तर्गत हुने युद्धका विभिसिकाहरुले पु¥याउने नोक्सानीसँगै विश्वका शक्तिशाली कहलिएका देशहरुको शक्ति समीकरण र शक्ति सन्तुलनमा पनि हेरफेर हुदोरहेछ । त्यसैको एउटा उदाहरण हो, दोस्रो विश्वयुद्धको समाप्तिपछि हुन गएको अमेरिकाको उदय ।

दोस्रो विश्वयुद्ध सन १९३९–१९४५ पछि युद्दमा सामेल अन्य शक्तिहरु पछाडी धकेलिन पुगे तर अमेरिका नयाँ शक्तिको रुपमा अगाडि आयो । विचार, राजनीति र अर्थ व्यवस्थाका दृस्टिले पुँजीवादी प्राणालिको केन्द्रमा एकातिर अमेरिकाले नेतृत्व ग¥यो भने अर्कातिर समाजवादी विचार, राजनीति र अर्थव्यवस्थाका हिसाबले त्यसको केन्द्रीय भागमा सोभियत संघ रुस अगाडि आयो । दोस्रो बिश्वयुद्दको समाप्तिपछि उदय भएका पुँजीवादी खेमा र समाजवादी खेमाबीच झण्डै ४५ वर्ष लामो शितयुद्ध चल्यो । शितयुद्धको बेला कैयौं देशहरु कि त अमेरिकी ध्रुवमा कि त रुसि ध्रुवमा ध्रुवीकरण हुन पुगे । कतिपय यस्ता देशहरू पनि छन, जो यी दुईवटै गुटबाट निरपेक्ष रहन खोजे जसलाई पछि असंलग्न रास्ट्रहरुको समूह भनियो र आजपर्यन्त त्यसको अस्तित्व छदैछ ।

मिखाइल गोर्वाचोभद्वारा पुनर्संरचना (पेरेस्त्रोइका) र खुलापन (ग्लासनोस्त)जस्ता मान्यताहरु अघि सार्दै समाजवादको बाटो छोडेपछि सोभियत संघको पतन भयो । पुँजीवादी प्रणालिको नेतृत्व गरिरहेको अमेरिकी धुर्व एउटा महाशक्तिको रुपमा रहन पुग्यो र यसैलाई तत्कालीन अर्थशास्त्री, समाजशास्त्री र राजनितिक विज्ञानका अध्यताहरुले एक ध्रुवीय विश्वको संज्ञा दिए । अमेरिकाको विश्वमा एक धुर्वको रुपमा उदय भएपछि उसँग राजनीतिक, आर्थिक र फौजी हिसाबले प्रतिस्पर्धा गर्ने सामथ्र्य कोही नभएको जस्तो देखियो । पछिल्लो विकसित प्रविधि, मानव अधिकारको परिभाषा र रक्षा, गैरसरकारी संस्थाहरुमार्फत् तेस्रो विश्वका देशहरूको सामाजिक, राजनीतिक र आर्थिक संरचनाहरुको समायोजन, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व व्यापार संगठन जस्ता संस्थाहरुमा अमेरिकी प्रभाव र प्रत्येक्ष नेतृत्व स्थापित हुन पुग्यो । अन्तरास्ट्रिय भुक्तानको माध्यम डलर हुन गयो । विश्वका हजारौं स्थानहरुमा नेटो सेनालाई तैनाथ गरिदै लगियो । प्राकृतिक श्रोत र सम्पदा एबम् दक्ष मानवीय स्रोतमाथी अमेरिकि नियन्त्रण कायम हुँदै गयो । मानव अधिकार र प्राजातन्त्रको मसिहा नै अमेरिका हो, अंग्रेजी भाषा नै अरुभन्दा श्रेष्ठ र विश्वभाषा हो भन्ने विम्बहरु निर्माण हुन थाले । संसारभर चलिरहेका जातीय र वर्गीय मुक्ती आन्दोलनहरुलाई दमन गर्न ती आन्दोलनलाई आतंकबादको परिभाषा अन्तर्गत राखियो । अमेरिकी सभ्यता र तथाकथित गोराहरुबाहेक अरु सबै मूर्ख, अज्ञान र असभ्य हुने भएकोले अरुलाई पनि सभ्य र विकसित बनाउन अमेरिकी ढाचावमोजिम पुनर्संरचना गर्नुपर्ने भयो । मानौ बिकास हुनु भनेकै अमेरिकिकरण हुनु हो, विश्वको बिकास, रक्षा र भलाई गर्ने अन्तिम जिम्मा नै प्रकृतिले उनीहरुलाई नै दिएको छ !

सोभियत संघको विघटन र अमेरिकी विश्व व्यवस्थाको उदयलाई पुँजीवादी चिन्तकहरु मुख्यतः फ्रान्सिस फुकुयामाहरुले इतिहासको अन्त्य र अन्तिम मान्छेको रुपमा महिमामण्डित गरे । समाजवादी सत्ताको अस्थायीरुपमा भएको हारलाई उनीहरुले इतिहासको अन्त्य, विचारधाराको अन्त्य, निर्विचारधाराकरण वा पुनर्विचारधाराकरण भन्दै पुँजीवादको अन्त्यहीन विजयको रुपमा विजय उत्सव मनाए । उनीहरुका अनुसार अन्तिम मान्छे भन्नाले ८० को दशकपछि साम्राजवादीहरुले अगाडी लिएर आएको नवउदारवादी पुँजीवाद हो भन्ने अर्थ लगाए । यो नै अन्तिम र निर्विकल्प व्यवस्था हो र यो कहिल्यै मर्ने छैन । यो क्रम जब अगाडि बड्दै गयो तब संसारभरी समाजवादी र क्रान्तिकारी कम्युनिस्ट भनिएका पार्टी र नेताहरुले समेत एकध्रूवीय विश्वमा समाजवादी क्रान्ति गर्नै नसकिने वा शसस्त्र क्रान्ति त झन असंभव भएको भन्दै संसदीय प्रणालीमा शान्तिपूर्ण प्रतिस्पर्धाको लाइन समात्न पुगे र त्यसको नेपाली आयाम भनेको जबज र मदन भण्डारी थिए । उनले जवजरूपी पुँजीवादी प्रजातन्त्रको शिर्षक नै मार्सवादको सिर्जनात्मक बिकास गरौ, जडशुत्रवादको विरोध गरौ भन्दै सिर्जनात्मक विकास भनेको पुँजीवादी संसदीय व्यवस्था र जडशुत्रवादको विरोध भनेको वर्गसंघर्ष, बलप्रयोग र सर्वहारा राज्यसत्ताको परित्यागको बाटो लिन पुगे ।

२१ औ शताब्दीको पहिलो दशकसम्म आईपुग्दा अमेरिकाले आफ्नो प्रणालीसँग असहमत विचार, देश र शक्तिका विरुद्ध कि “हाम्रो पक्षमा कि त हाम्रा विरुद्ध “ भन्दै निकै ठूलठूला दमन र फासिवादी अभियान चलायो । इराक, इरान, सिरिया, अफगानिस्तानलगायतका देशहरुमा उसले गरेका आततायी आक्रमणहरु यो अभियानका ठोस उदाहरणहरु हुन । तर दोस्रो दशकसँगै स्थिती फेरिदै गएको छ । अमेरिकी साम्राज्यवादबिरुद्ध अरु पुँजीवादी शक्तिशालीहरुदेखि केही समाजवादी शक्तिहरुसमेत आर्थिक, प्राविधिक र सैन्य हिसाबले समेत टक्कर लिनसक्ने ठाउँमा आइपुगेका छन् । अमेरिकी डलरको विकल्पमा अन्य मुद्राको बिकल्प अगाडि आउनु, विश्व वैङ्क, आइयमएफ र विश्व व्यापारको बिकल्पहरु अगाडि आउनु, रसियन र कोरियनहरुहरु सैन्य र प्राविधिक दृष्टिले प्रतिस्पर्धी हुनु, अर्थतन्त्रका समस्टिगत सूचकमा चिनियाँहरु उदियमान विश्वशक्तिको रुपमा आउन खोज्नु, विश्वशक्तिको केन्द्र अब युरोप अमेरिकाबाट एशियातिर स्थानान्तरण हुने संभावना बढ्दै जानु र अमेरिकी समजव्यवस्थामा नयाँ – नयाँ संकटहरु मडारिदै जानु लगायतका बिशेषताहरुले अब विश्व एकध्रूवीय होइन कि बहुध्रूवीय विश्व र नयाँ शक्ति सन्तुलनको दिशातिर ढल्किदै गएको कुरा प्रस्टै छ र यो संकटलाई भरथेग गर्न र चीनलगायत अन्य उदियमान शक्तिहरुको उदयलाई रोक्नका लागि नै अमेरिकाले एमसिसी, हिद प्रशान्त रणनीति र एसपीपीजस्ता सैन्य साझेदारीमा आधारित कार्यक्रम ल्याइरहेको छ । यो नै उसको चरम संकटको संकेत पनि हो ।

यसरी विश्व एकध्रूवीय शक्ति सन्तुलनको ठाँउमा बहुध्रूवीय हुँदै जानु भनेको एकातिर पुँजीवादीहरुबीच हुने आपसी अन्तरविरोध र छिनाझप्टी प्रत्यक्ष सतहमा देखिदै जानु हो भने अर्कोतिर विश्व शक्तिसन्तुलनको क्रममा दलाल पुँजीवादी– नव उपनिशवादी उत्पीडनबाट पीडित देशहरुमा राष्ट्रियमुक्ती आन्दोलनहरु अगाडि आउने प्रबल संभावना पनि उत्तिकै हुन्छ ।

नाफा, सस्तो श्रम र बजारका लागि साम्राज्यवादी शक्तिहरुबीच हुने आपसी प्रतिद्वन्द्वीताका कारण उत्पीडित देशहरु मुक्त हुने एकातिर संभावना त छदैछ । पछिल्लो केही समय यता अन्तिम मान्छे मानिएको नवउदारवादी पुँजीवादमा समेत सम्हाल्न नसकिने गरी संकटका कोपिलाहरु हुर्किदै छन भने यो समग्र व्यवस्थाको विकल्पमा समाजवादमात्रै अन्तिम र मानव एबम् प्रकृति केन्द्रित व्यवस्था हुनसक्छ भन्ने कुरा स्थापित हुँदैछ । नवउदारवादी व्यवस्थाका समर्थक चिन्तकहरुदेखि पुँजीवादी प्रणालीका समर्थक वुद्दिजिवी, एकथरी समाजशास्त्रीहरु र अर्थशास्त्रीहरुले समेत यो सच्चाइलाई स्वीकार गरिरहेको देखिन्छ र विद्यमान उत्पादन सम्बन्ध अन्तर्गत यसको दिगो समाधान भेट्टाउनसमेत असंभव छ । आजको यो बाह्य परिस्थितिको सम्यक विश्लेषणसहित नेपालमा समाजवादी आन्दोलनका लागि आत्मगत तयारीको दिशामा ठोस पहल गर्नु नै अहिलेको आन्दोलनको सार्थकता सिद्ध हुनेछ । त्यसैले हामीले एउटै वाक्यमा भन्न सक्छौ व्याक टु नेचर ! व्याक टु मार्किसज्म ! !

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु