काठमाडौं महानगरमा धुमपान निषेध !

२०७९ भाद्र ३० गते, बिहीबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र आगामी असोज १ गतेदेखि धुमपान निषेध गरेको छ। महानगरपालिकाले बिहीबार एक सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ। सार्वजनिक स्थललाई धुमपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ।
कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाडौं महानगरपालिकालाई धुमपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ।
ललितपुर महानगरपालिकाले यसअघिनै सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थको सेवनमा प्रतिवन्ध लगाइसकेको छ। सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको सेवन गर्न नपाइने व्यवस्था रहेको छ भने दफा ५ मा सार्वजनिक निकायलाई धुम्रपान तथा सूर्ति सेवन निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ।

प्रतिक्रियाहरु