अन्तरसङ्घर्षका पाँच वर्ष

२०७९ भाद्र २६ गते, आईतवार

अनिल शर्मा

हामी महाधिवेशनको संघरमा छौँ । महाधिवेशन भनेको विचार, राजनीति, संगठनसहित वर्गसङ्घर्ष, जनसङ्घर्ष र अन्तरसङ्घर्षको सिंहावलोकन गर्ने र भावी मार्ग तयार गर्ने अवसर पनि हो । यो लेखमा ८औं महाधिवेशनदेखी ९औं महाधिवेशन वरपरको सङ्घर्षको सन्दर्भमा सामान्य चर्चा गरिनेछ ।

प्रचण्डसँग विद्रोह गर्ने समयमा मेची (मूलतः कोचिला) मा अझ यसो भनौँ लिम्बुवान ब्युरोमा इन्द्र आङ्बो ‘मौसम’ ले नै क्रान्तिकारी प्रवृत्तिको नेतृत्व गरेका थिए । तर एकातिर प्रचण्डसँग अर्कोतिर प्रदीप नेपाललगायतसँग उनको बाक्लो उठबस थियो । किरणसँगको सङ्घर्षमा उनी टिकेनन् र मेचीबाट शिवगढी भेलामा प्रतिनिधित्व भएन । होम खतिवडा र सुमन सिंह पौडेल हामीसँग थिए । सुमनसिंह काठमाडौं आएर विप्लव र प्रकाण्डलाई भेटेर क्रान्तिकारी प्रवृत्तिको रक्षा गर्ने सल्लाह गरेर फर्केपछि ध्रुविकरणको प्रक्रिया अघि बढ्यो । इलामका डम्बर मगर ‘अविनास’ र झापाका लक्ष्मी याख्या, टिका पोखरेल शुरुमा उभिए पनि समस्या भयो । अरु कतिपय खुलेका थिएनन् वा प्रचण्डतिरै थिए । दाङको प्रथम राष्ट्रिय भेलासम्म पुग्दा ताप्लेजुङको ठूलो पङ्ति पनि थपियो ।

मोरङ र सुनसरीबाट किरण, नरेश, प्रवेश राई, रामप्रसाद राई, त्रिलोचनलगायत थिए । युवा समूहमा राम्रै पकड थियो । रामप्रसाद राई र किरण राईबिचको टक्कर अस्वस्थ थियो । किरणलाई हामी इमान्दार भन्थ्यौं । तर रामप्रसाद राईले भने किरणलाई ‘रअ’ को मान्छे भन्थे । कोसी उच्च बाँधको विरुद्ध पार्टीले सङ्घर्ष गरिरहँदा किरण राईले कार्यकर्तालाई त्यसको विरुद्ध नजान दबाब दिएपछि शंका पैदा भएको थियो । धरानको पानमारा घटना र सङ्गितको गिरफ्तारीमा पनि शंका थपियो । शुरुदेखि नै सुदर्शनले बोकेर हिंडेका युगेन राई प्रतिबन्ध लाग्नासाथ पलायन भए । त्यसैगरी, लम्पट–राम पदम राई र छट्टू स्याल राजेन्द्र कार्की ‘नविन’ पनि पलायन भए । प्रतिबन्ध लाग्नासाथ सागर लिम्बु, कमला राई, दिव्य बरालगायत पलायन भए ।

पार्टी कार्यालयले शंकर अधिकारी र सागर लिम्बुलाई शंकास्पद भएकोले निगरानीसहित काम लगाउने भनेको थियो । प्रतिबन्ध लाग्नासाथ पलायन भएका सागर लिम्बु नेकपा र सरकारबिच वार्ता हुनासाथ खरानी धस्दै पार्टीमा फर्केर आए । कतिपय अवस्थामा भ्रम दिन सफल भए । तर गलत वस्तु पलायन हुनैपथ्र्यो । पलायन भए कतै टिकेनन् । गलत विचारले कहिले जातिवाद, कहिले क्षेत्रीयता र कहिले चुनावको बर्को ओढेर आफ्नो असलियत छोप्न खोज्छ तर सक्दैन । कोशीमा केन्द्रीय सदस्य शिलु, प्रज्वलन, सुमन सिंह, पुष्कर श्रेष्ठ, लक्ष्मणलगायत कमरेडहरुको भूमिका राम्रो रहेको हो । पुष्कर कोसी गएपछि प्रचण्ड समूहबाट विद्रोह गराएका २ जना कमरेडहरु त अहिले पनि केन्द्रीय समितिमा छन् । अरुण–३, विराटनगरको अवैध भारतीय कार्यालय र भोजपुर तथा उदयपुरको चुनावको खारेज सङ्घर्ष देशकै नेत्रृत्व गर्ने स्तरका थिए । त्यसैले सबैभन्दा बढी सत्ताको दमन पनि पूर्वले नै सामना गर्नुप¥यो । तर जनयुद्धको मुख्य पङ्ति पार्टीमा क्रियाशील रहेको कारण प्रतिरोध पनि भयो । उदयपुर, संखुवासभा, भोजपुर र सिन्धुलीले त कार्यकर्ता आपूर्तिमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरे । सर्लाहीमा कुमार पौडेलको हत्याले समस्या पैदा ग¥यो ।

केन्द्रीय सदस्य शिलु, प्रज्वलन, सुमन सिंह, दीपेश राई, लक्ष्मण पौडेल, पुष्प कोइराला, त्रिलोचन विक, सङ्गित लिम्बु, डिबी सिलवाल, राज बस्नेत, शशी राई, आदम कवारीलगायत जेल – हिरासतको मोर्चामा सफल रहे । अझै कैयौं सङ्घर्षरत छन् । निर्मल राई जनयुद्धमा नै गिरफ्तार भए पनि आत्मसमर्पण गरेर बास बसेको घर देखाउँदै हिँडेका सरमछाडा मनुवा हुन् । उनलाई केन्द्रीय समितिमा नलाग्न हामीले जोड गरेका थियौं । तर सुदर्शनको खल्तीबाट केन्द्रमा परे । अहिले उनी छुचुन्द्राको ताँतीमा मिसिएका छन् । छुचुन्द्राको गन्ध थाहा नपाउनेलाई जिवाणु सङ्क्रमण छ भन्ने बुझ्नुपर्छ ।

ताम्सालिङ राज्यमा हाम्रो चितवन र मकवानपुरबाहेक अरु कमजोर थियो । किरणसँग विद्रोह गर्दा मकवानपुरमा हामीतिर रहेका नियन कारवाहीमा परेका थिए । अरु जिल्लामा किरणको खासै प्रभाव थिएन । यद्यपि प्रचण्डसँग विद्रोह गर्दा नै सङ्गठन कमजोर थियो । ताम्सालिङमा रुपान्तरणको समस्या भइरह्यो ।

शिक्षक, गणतान्त्रिक सम्र्पक मञ्च, जनसांस्कृतिक महासंघ र सामना परिवार प्रचण्डसँग विद्रोह गर्दा हाम्रो पकडमा थिए । मजदुर सङ्गठनमा योगेन्द्र कुमालहरुको विशेष भूमिका थियो । गणतान्त्रिक सम्पर्क मञ्चले प्रचण्ड र किरण दुवैसँग विद्रोह गर्दा मुख्य भूमिका निर्वाह ग¥यो । असारे काका, राजु कार्की, सुरेश अधिकारी, उमा गुरुङ, रत्न मगरलगायतको सशक्त टोली थियो । भावनात्मक र क्रियाशीलता दुवै कोणाबाट प्रभावकारी टोली थियो । विचार, भावना र दौडधूप तीनवटै पक्षको संयोजन भएन भने आन्दोलन उठ्न सक्दैन र संकुचन हुँदै जान्छ ।

प्रतिबन्धको समयमा पदम राई र जिवन्त पलायन भए । उनीहरु अहिले पश्चाताप गर्दैछन् । अरु केही लडखडाउँदै हिंडेका पनि पलायन भए । सन्देश पौडेल, तीर्थ राई, सुदर्शनलगायतसँग ध्रुविकरण भयो । सुदर्शनमा क्रान्तिप्रतिको विस्वास घट्दै गएको छ । निर्वाहमुखी चेतना मात्रले जेनतेन थेगिरहेको बुझिन्थ्यो । रुपान्तरणको पूर्वशर्त क्रान्तिप्रतिको विस्वास हो । क्रान्तिप्रतिको अविस्वास र कार्यदिशा बुझ्ने समस्या मूल समस्याको रुपमा देखाप¥यो । तत्कालीन पिविएम जिवन्तले ‘पार्टी यसरी जान्छ भन्ने बुझेको भए त छोड्ने नै थिइन’ भन्दैछन् ।

गण्डकको मूल समस्या दुई लाइन सङ्घर्षमा मौनता वा पहल नलिनु हो । श्याम दाईहरुले प्रचण्डसँगको सङ्घर्षमा कथित अनुशासनको नाममा तलसम्म बहस लग्दै लगेनन् । अन्यत्र कित्ताकाँट भइसक्दा पनि गण्डकमा तलसम्म बहस नै गएन । सुदर्शनसँगको सङ्घर्षमा भने शिलुको नेत्रृत्वमा गण्डकी क्षेत्रले नकारात्मक इतिहासलाई सुल्टाएको छ । भीम रावल, योगेश भट्टराई प्रवृत्तिले आन्दोलनमा क्षति हुन्छ र अनैतिकता हुन्छ । गण्डकी र धौलागिरीमा जनयुद्धकालकै एउटा पङ्ति क्रियाशील छान्दैछ । लुम्बिनी, राप्ती र कर्णालीमा तलदेखि माथिसम्म राम्रो टोली रहेको छ ।

सुदुर–पश्चिममा नेत्रृत्वको समस्या देखा प¥यो । हरैया सुकुमबासी काण्डले थुप्रै लोभीपापी नेताहरुलाई खायो । कञ्चनले प्रचण्ड समूहका नेताहरुसँगको सङ्घर्षमा भावनात्मक र व्यवहारिक दुवै रुपले नेत्रृत्व गर्न सकेनन् । ओम पुनको पार्टीमा आगमन नै बेठिक रहेको केही साथीहरुको बुझाई थियो । वैचारिक स्तर कमजोर भएकाहरु सानो हावाको झोक्कामा नै ढल्छन् भन्ने कुरा प्रमाणित भयो । विवादै–विवादबाट आइरहेका पुन पनि टिकेनन् । यद्यपि प्रचण्डसँग लड्दै आएको मुख्य पङ्ति यथावत् रहेको छ । कञ्चन यो पार्टीमा आउँदा ३ वर्षदेखि पेचिलो सङ्घर्षबाट गुज्रेर पार्टी निर्माण गर्दै आइरहेको थियो । सुदर्शन त महाधिवेशनको मुखमा किरण कि विप्लव ? भन्दै अन्तिममा हामीतिर आएका हुन् । यो बिचमा ध्रुविकरणको प्रक्रिया क्रान्तितिर आउने र दक्षिण पन्थतिर जाने प्रक्रिया चलिरहेको छ र चलिरहने छ । ९औं महाधिवेशनको वरपर पनि ध्रुविकरण प्रक्रिया चलिरहने छ ।

लाइन सङ्घर्षको दृष्टिले १२ औं पूर्ण बैठक कोशेढुङ्गा बन्यो । सुदर्शनहरुको वाम खोल ओढेको दक्षिणपन्थ नाङ्गियो । त्यस प्रकारको वाम अवसरवादलाई पार्टीको मूल पङ्तिले समयमै चिन्यो र सशक्त प्रतिकार ग¥यो । सबै विषालु झारपातलाई उखेलेर फाल्नुपथ्र्यो । अझ केही इमान्दार साथीहरु भ्रममा छन् । उनीहरु फर्किने छन् । तुलोमा हेरेर कता पल्ला भारी हुन्छ त्यतै लाग्ने वा सबैलाई उस्तै हुन् भन्दै हिड्ने अवसरवादी प्रवृत्ति सही हुँदैन । नेता भनेको अन्तरसङ्घर्ष र वर्गसङ्घर्षले पैदा गरेका समस्या समाधान गर्न सक्ने तत्व हो । उसले सधैं क्रान्तिकारी प्रवृत्ति चिन्न सक्नुपर्छ र त्यसको रक्षा गर्न सक्नुपर्छ । यद्यपि प्रवृत्ति स्थायी हुँदैन । परिवर्तन भइरहन्छ । गुरुङ र वादललाई अधिभूतवादी दृष्टिले हेर्दा किरणले ठूलो धोका व्यहोर्नु परेको अनुभव हाम्रै अगाडि छ ।

कम्युनिस्ट पार्टी भनेको राजनीति, सङ्गठन, भावना सबै हो । तर ती सबैको नाभी (इपी–सेण्टर) वा गुरुत्व–केन्द्र सिद्धान्त हो । सैद्धान्तिक काम नगर्ने वा ध्यान नदिने, कार्यकर्ता र आफ्नै स्तर नउठाउने कम्युनिस्टले जुझारु पार्टी बनाउन सक्दैन । भावना, अनुभव र दौडधूप त बुर्जुवा नेताले पनि गर्छ । १२औं बैठक र त्यसपछि पैदा भएको समस्या हेर्दा वैचारिक समस्या नै आजको हाम्रो मुख्य समस्या हो भन्न करै लाग्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु