चीनमा ६.८ म्याग्निच्युडको भूकम्प : सात जनाको मृत्यु

२०७९ भाद्र २० गते, सोमबार

काठमाडौं । चीनको सिचुवान प्रान्तमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार सोमबार अपरान्ह करिब १ बजेतिर ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प जाँदा उनीहरूको मृत्यु भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । सिचुवान भूकम्पको उच्च जोखिम भएको चिनियाँ प्रान्त हो । सन् २००८ मा ८ दशमलव २ म्याग्निच्युडको भुकम्प जाँदा ६९ हजार मानिसको मृत्यु भएको थियो । सन् २०१३ मा सिचुवान प्रान्तको अर्को शहर यानमा ७ म्याग्निच्युडको भूकम्प जाँदा २ सय जनाको मृत्यु भएको थियो ।
सिचुवान प्रान्तले अहिले कोरोना महामारी र लामो खडेरीको पनि सामना गरिरहेको छ । सिचुवानको राजधानी छेङ्दुमा अहिले १ हजार जना सक्रिय संक्रमित रहेको भन्दै त्यहाँ लकडाउन गरिएको छ । भूकम्पका कारण सञ्चार सम्पर्क पनि विच्छेद भएको छ भने ठाउँठाउँमा गएको पहिरोका कारण यातायात सञ्जाल पनि विच्छेद भएको बताइएको छ । भूकम्पको केन्द्रविन्दु चेङदुबाट २२६ किलोमिटर दक्षिणपश्चिममा रहेको दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहरमा रहेको चाइना भूकम्प नेटकर्व सेन्टरले जनाएको छ ।
भूकम्पको धक्काले चेङदु र छिमेकी मेगा सिटी चोङकिङका भवनहरुमा क्षति पुगेको समाचारमा जनाइएको छ । भूकम्पको झड्काले गार्जे र यान क्षेत्रका केही विद्युत उत्पादनहरु बन्द गरिएको चिनियाँ प्रसारकले जनाएको छ । पाँच हजार भन्दा बढी उद्दारकर्मीहरु प्रभावित क्षेत्रमा खटाइएको त्यहाँको समाचार संस्था एएफपीले जनाएको छ ।
भूकम्पलगत्तै अग भवनहरुबाट सर्वसाधारण भाग्दै गरेका दृष्यहरु टेलिभिजनले प्रशारण गरेका थिए ।

प्रतिक्रियाहरु