कम्युनिष्ट शासनको अन्त्य गर्ने प्रणेताको अवसान हुँदा

२०७९ भाद्र २० गते, सोमबार

डा. केशव देवकोटा

विश्वमा उदाहरणीयरुपमा चलेको झण्डै ७० वर्षे कम्युनिष्ट शासन र सोभियत संघको अन्त्य गर्ने मिखाइल गोर्वाचोभको हालै निधन भएको छ, जसकाबारेमा विश्वमै चर्चा छ । उनलाई पश्चिमाहरुले प्रशंसा गरेका छन्् भने धेरैले आलोचना पनि गरेका छन्् । सन् १९२२ डिसेम्बर ३० मा स्थापना भएको सोभियत संघ सन् १९९१ डिसेम्बर २६ मा बिघटन भएको थियो । सन् १९५३ को मार्च एकमा स्टालिनको निधन भएपछि मार्च सातमा सत्ता र शक्तिमा आएका मालेन्कोभ मन्त्रिपरिषद्को अध्यक्ष र पार्टी प्रमुख बनेका थिए । जसले प्रभावकारी काम गर्न नसक्दा सन् १९५३ को सेप्टेम्बरमै ख्रुश्चेभको उदय भएको थियो । त्यसपछिबाटै स्टालिन कालमा ऐन, कानून र नीति नियमहरुमा परिवर्तन थालिएको थियो । त्यसैगरी शिक्षामा पनि नयाँ पाठ्यक्रम लागू गर्दै परिवर्तनको थालनी गरिएको थियो । त्यसपछि स्टालिन पक्षका नेताहरुलाई आक्रमणको निशाना बनाउन थालियो । तत्कालै २० जनाभन्दा बढीलाई मृत्युदण्ड दिइयो । सन् १९५४ मा गोप्य पुलिसलाई पुनर्गठन गरेर राज्य सुरक्षा समिति (केजिबी) नामाकरण गरिएको थियो । ख्रुश्चेभले सन् १९५५ को जुलाईमा जेनेभामा तत्कालीन अमेरिकी राष्ट्रपति आइजनहावरलाई भेटेका थिए र त्यहीँबाट उनको दक्षिणपन्थी राजनीतिक यात्रा शुरु भएको मानिन्छ । त्यसपछि आन्तरिक मात्र नभएर सोभियत संघका अन्तर्राष्ट्रिय नीतिहरुमा पनि परिवर्तन थालियो । सन् १९५६ फेब्रुअरीको २० औं पार्टी कंग्रेसको बन्दसत्रमा ख्रुश्चेभले स्टालिनमाथि खुलेरै चर्को प्रहार गरेका थिए । सन् १९३४ पछि देश चलाउने स्टालिन शैलीको आलोचना गरिएको थियो । यसपछिबाटै रुससँग चीनलगायतका विश्वका कम्युनिष्ट पार्टी र सरकारहरुको सम्बन्ध बिग्रन थालेको थियो । सन् १९६४ को फेब्रुअरीबाट ख्रुश्चेभलाई हटाउने षड्यन्त्र भयो । जसमा लियोनिद ब्रेज्नेभ, निकोले पोडगोर्नी र केजीबीका पूर्वप्रमुख अलेक्जेन्डर शेलेपिनको भूमिका रहेको देखिन्छ । त्यसपछि ब्रेझनेभको युग शुरु भएको थियो । सन् १९६६ मा भएको पार्टीको २३ औं कंग्रेसबाट ब्रेझनेभ पार्टीको महासचिव हुँदै सत्ता र शक्तिमा अगाडि बढेका थिए । सन् १९८२ नोभेम्बर १० मा ब्रेझनेभको मृत्यु भएपछि उनको उत्तराधिकारी कोन्स्टान्टिन चेरनेन्को भए तापनि युरी एन्ड्रोपोभ पार्टी नेताकारुपमा उनको उत्तराधिकारी बनेको पाइन्छ । चेरनेन्कोको मृत्युपछि मिखाइल गोर्वाचोभको उदय भएको थियो । जो ५४ वर्षको उमेरमा सन् १९८५ मा सत्तामा आएका थिए । उनले सत्तामा आउनासाथ पेरीस्त्रोइका (पुनर्निर्माण र पुनर्संरचना) र ग्लास्नोस्त (खुलापन र अभिव्यक्ति स्वतन्त्रता) भनिने सुधारको थालनी गरेका थिए । यी नीति र कार्यक्रमहरुनै सोभियत संघको पतनका प्रमुख कारण बने । त्यतिबेलासम्ममा सोभियत संघको अर्थतन्त्र ध्वस्त भएको थियो । कम्युनिष्ट पार्टीका सिद्धात र पार्टी संगठन अस्तब्यस्त भैसकेको थियो । त्यतिबेलाका १५ वटा गणराज्यमा अलग हुने मनस्थिति तयार भैसकेको थियो । सात वर्षभन्दा कम समय सत्तामा रहे पनि गोर्वाचोभले सोभियत संघमा राजनीतिक परिवर्तनको रोमाञ्चक खेल खेलेको देखिन्छ । सन् १९९१ को अगष्टमा उनका विरुद्धमा भएको विद्रोहको अन्ततः सोही वर्षको डिसेम्बर २५ मा उनको राजीनामासँगै पटाक्षेप भएको थियो । उनले राजीनामा गरेको भोलिपल्टै सोभियत संघ बिघटन पनि भयो । सन् १९५२ मा कम्युनिष्ट पार्टी अफ सोभियत संघको सदस्यता लिएका उनी सन् १९८० मा उक्त पार्टीको पूर्ण पोलिटव्यूरो सदस्य भैसकेका थिए । सोभियत संघको बिघटनका प्रणेता मिखाइल गोर्वाचोभको गतसाता मंगलबार (भदौ १४ गते) ९१ बर्षको उमेरमा निधन भएको छ । उनको निधनको समाचारलाई विश्वका प्रमुख सञ्चार संस्थाहरुले प्रमुखता दिए । कसैले आलोचना गरे भने कसैले प्रशंसा पनि गरेका छन्् । सार्बजनिक भएका अन्तर्राष्ट्रिय समाचारअनुसार उनलाई रक्तपातबिना नै शीतयुद्धको अन्त्य गर्न सफल तर सोभियत संघको पतन रोक्न असफल नेताकारुपमा चित्रण गरिएको छ । संयुक्त राज्य अमेरिकासँग हतियार कटौती सम्झौता र पश्चिमा शक्तिराष्ट्रहरुसँगको साझेदारीमा बिभाजित युरोपलाई एकताको सूत्रमा आबद्ध गर्न तथा जर्मनीको एकीकरणमा उनको योगदान रहेको मानिन्छ । अमेरिकाका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगन र जर्ज बुशसँगका शिखरवार्ता र आणविक हातहतियारको दुई देशीय होडबाजी घटाउन मद्दत गरेकाले उनी विश्व राजनीतिक रंगमञ्चमा सधैँ चर्चाको चुलीमा रहेका थिए । उनले देशको आन्तरिक सुधारका निम्ति थालेका कामका कारण अन्ततः विशाल सोभियत संघ टुक्रिन पुगेको थियो । उनैबाट कम्युनिष्ट सोभियत राज्यको पतन, पूर्वी युरोपेली राष्ट्रहरुलाई रुसी प्रभावबाट मुक्त गर्ने काम भएको थियो । गोर्वाचोभको निधनमा हालका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उहाँलाई बीसौं शताब्दीका महान् नेताको संज्ञा दिएको देखिएको छ ।

त्यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले गोर्वाचोभलाई उल्लेखनीय दृष्टि भएको व्यक्ति दुर्लभ नेता भनेको पाइन्छ । जो बाइडेनले गोर्भाचोभको सम्झना गर्दै उनले खुलापन र पुनर्संरचना (ग्लास्नोस्त र पेरेस्त्रोइका) केवल नाराकोरुपमा होइन, तर सोभियत यूनियनका जनताका लागि धेरै वर्षको अलगाव र अभावपछि अगाडिको मार्गको रुपमा विश्वास गरेको टिप्पणी गरेको पाइन्छ । त्यसैगरी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने राजनेताकारुपमा गोर्वाचोभलाई सम्झेको पाइएको छ । त्यसैगरी इजरायलका राष्ट्रपति आइज्याक हर्जोग, जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टाइनमेयर, चान्सलर ओलाफ स्कोल्ज, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ, निवर्तमान बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, जापानका प्रधानमन्त्री फुमियो किसिदा, अमेरिकाका पूर्वविदेशमन्त्री कोन्डोलिजा राइसलगायतले गोर्वाचोभको योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि दिएको पाइएको छ । यसरी उनी विश्वकै कम्युनिष्ट बिरोधीहरुका उदाहरणीय नेता बनेका छन्् । गोर्वाचोभलाई सोभियत संघकालीन कम्युनिष्ट शासित युरोपेली राष्ट्रहरुमा प्रजातन्त्र पुनस्र्थापना गर्ने नेताका रुपमा समेत स्मरण गरिएको छ । कतिपयले उनलाई सन् १९९१ मा सोभियत संघको पतनका लागि दोषी ठह¥याएका छन्् । रुसी राष्ट्रपति पुटिनले गोर्वाचोभले विश्व इतिहासमा गहिरो प्रभाव पारेको टिप्पणी गरेका छन्् । पुटिनले ठूलो मात्रामा विदेश नीति, आर्थिक र सामाजिक चुनौतीकाबीच कठीन र नाटकीय परिवर्तनकाबीच गोर्वाचोभले देशको नेतृत्व गरेको स्मरण पनि गरेको पाइन्छ । समाजवादी सिद्धान्तका हिमायतीहरुले भने शीतयुद्धको अन्त्य गरेर गोर्वाचोभले विश्वको समाजवादी राजनीतिलाई थप कमजोर पारेको बताएका छन्् । गोर्वाचोभको निधनपछि विश्वका विभिन्न मुलुकमा राजनीतिक लेखाजोखाहरु हुन थालेका छन्् । वास्तवमा नेपालमा पनि नयाँ गोर्वाचोभहरुको उदय भैसकेको छ । जसले एकातिर देशलाई कमजोर बनाउँदै बिघटनमा पु¥याउने प्रयास गरेका छन्् भने अर्कातिर अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिलाई प्रोत्साहन गरेको देखिएको छ । सोभियत संघको पतनपछि विश्वको कम्युनिष्ट आन्दोलन नै रक्षात्मक हुँदै विभिन्न धारामा बाँडिएको छ । नेपालमा हाल कतिपय कम्युनिष्ट नामधारी पार्टीहरुलेनै देशीय सामन्तवाद र अन्तर्राष्ट्रिय साम्राज्यवादको पक्षपोषण गर्ने गरेको देखिएको छ । कतिपयले कम्युनिष्ट आन्दोलनलाई भ्रष्टीकरण गर्दै र सोभियत नेता स्टालिनको आलोचना गर्दै कम्युनिष्ट राजनीतिनै परित्याग गरेको अवस्था छ । सोभियत संघको स्थापनापछिको करिव ७० बर्षको कम्युनिष्ट शासनको इतिहास यतिबेला विश्वभरकै कम्युनिष्टहरुका लागि राम्रो पाठशाला भएको छ । त्यसैले गोर्वाचोभको जीवन इतिहास पनि खासगरी कम्युनिष्ट राजनीति गर्नेहरुका लागि ब्याख्या र बिश्लेषण लायक विषय भएको छ । बल प्रयोगले मात्र पनि जनपक्षीय राजनीति अगाडि बढ्न नसक्ने र खुल्ला र उदार राजनीतिले पनि पतनको बाटो लिने कुराहरु सोभियत संघको इतिहासबाट सिक्न सकिने भएको छ ।

सन् १९९१ अघि र केही पछिसम्म पनि नेपालमा रुसी कम्युनिष्टहरुको पनि उपस्थिति थियो । जसले पछिल्ला रुसी विचारहरुको प्रतिनिधित्व गरेका थिए । तर, सोभियत संघको पतनपछि उनीहरुमध्ये कतिपय दक्षिणपन्थी पार्टीहरुमा प्रबेश गरेर सत्ता र शक्तिमा पुगेका छन्् भने कतिपय कम्युनिष्ट पार्टीमा प्रबेश गरेको देखिएको छ । नेपालमा हालसम्म पनि कतिपय कम्युनिष्ट पार्टीहरुमा पुनर्निर्माण र पुनर्संरचना, खुलापन र स्वतन्त्रताजस्ता कुराहरुको प्रभाव रहेको छ । खासगरी सोभियत संघका स्टालिन पछिका नेताहरुले पश्चिमा प्रायोजित बहुदलीय राजनीतिलाई अवलम्बन गर्दै गएका कारण उनीहरको पतन भएको देखिएको छ । हाल नेपालमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार रहेको छ । तर, सत्ता गठबन्धनमा कम्युनिष्ट पार्टीहरुको बाहुल्यता रहेको छ । तर, उनीहरुले कम्युनिष्ट पार्टीको संरक्षण पनि गरिरहेका छैनन् भने कम्युनिष्ट नीतिहरुको कार्यान्वयन गर्ने प्रयास पनि गरिरहेका छैनन् । कम्युनिष्ट राजनीतिका कारण चर्चामा आएका उनीहरु दक्षिणपन्थी राजनीतितर्फ आकर्षित मात्र नभएर अभ्यस्त हुँदै गएको देखिएको छ । पछिल्लो समयमा खासगरी ०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालको कम्युनिष्ट राजनीतिमा आएको उतारचढावका बारेमा मिहिन ढंगले मूल्यांकन गरिनुपर्ने अवस्था रहेको छ । हालसम्म पनि विश्वमा कतिपय कम्युनिष्ट राष्ट्रहरु रहेका छन्् । कम्युनिष्ट पार्टीको संख्या अनगिन्ती रहेको छ । तर, कम्युनिष्ट राजनीति सही ढंगले अगाडि बढिरहेको छैन । यस्तो अवस्थामा सबैले सोभियत संघका पछिल्ला नेताहरुलाई संझन सक्नुपर्ने देखिएको छ । जसले कम्युनिष्टको आबरणमा कम्युनिष्ट राजनीतिलाईनै सखाव बनाउने काम गरेका थिए । अन्तर्राष्ट्रियरुपमा साम्राज्यवादी शक्तिसँगको संलग्नताले विश्वमा चलेका विभिन्न कम्युनिष्ट आन्दोलनहरु सखाव भएका छन्् । जुन आज सबैका लागि व्याख्या र विश्लेषणका विषय भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु