नासाको ‘आर्टेमिस १’ रकेट प्रक्षेपण तत्कालको लागि रद्द

२०७९ भाद्र १४ गते, मंगलवार

काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमामा मानव पठाउने मिसनको पहिलो उडान हाललाई रद्द गरेको छ । नासाले मिसनको पहिलो रकेट ‘आर्टेमिस १’ पठाउने तयारी गरेको थियो । रकेट फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट स्थानीय समयअनुसार सोमबार बिहान ८ बजेर ३३ मिनेटमा चन्द्रमाका लागि उडान भर्ने तय भएको थियो । तर, उडान भर्नुभन्दा करिब दुई घण्टाअघि नासाका इन्जिनियरले रकेटमा प्राविधिक गडबडी भेटेपछि उडान रद्द गरिएको हो । आफ्ना इन्जिनियरहरूले गडबडीको डाटा संकलन गरिरहेको र गडबडी सच्चाईएपछि मिसनको पहिलो उडान हुने नासाले उल्लेख गरेको छ ।
स्पेन लन्च सिस्टम (एस.एल.एस) नाम दिइएको यो रकेट नासाको अहिलेसम्मको सबैभन्दा शक्तिशाली र ठूलो यान भएको जनाइएको छ । आगामी शुक्रबार यसको प्रक्षेपणको प्रयास गरिनेछ । परिक्षणको लागि यो यान मानव बिना नै चन्द्रमाका लागि उडान भर्दैछ । गत ५० वर्षमा मानिसहरूलाई चन्द्रमाको सतहमा पु¥याइएको छैन भने एपोलो ११ पछि कुनै पनि मानवसहितको यान चन्द्रमामा अवतरण गरेको छैन ।
सन् २०२४ र २०२५ को लागि निर्धारित ‘आर्टेमिस २’ र ‘आर्टेमिस ३’ मा अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा लैजानुअघि तिनीहरुको गतिको पहिलो परीक्षण यो यानले गर्ने जनाएको छ । यो यानको यात्रा ४२ दिनसम्म चल्नेछ भने यसले चन्द्रमाको वरिपरी यात्रा गरी पृथ्वीमा फर्किने छ । यान कुल १ दशमलव ३ मिलियन माइल यात्रा गर्दै अक्टोबर १० मा प्रशान्त महासागरको सान डिएगोको तटमा खस्नेछ ।

प्रतिक्रियाहरु