पूर्व प्रधानमन्त्री रजाकलाई १२ वर्ष जेल !

२०७९ भाद्र ८ गते, बुधबार


काठमाडौं । मलेसियाका पूर्व द्दप्रधानमन्त्री नजिब रजाकलाई त्यहाँको अदालतले भ्रष्टाचार मुद्दामा १२ वर्ष जेल सजाय सुनाएको छ । मंगलबार मलेसियाको संघीय अदालतले रजाकलाई सम्पत्ति शुद्धीकरण, शक्तिको दुरुपयोग र भ्रष्टाचार मुद्दामा १२ वर्ष जेल सजाय सुनाएको हो । ६९ वर्षीय रजाकलाई मलेसियाको तल्लो अदालतले दोषी ठहर गरेको थियो । तर उनी धरौटीमै बाहिर थिए । साथै उनको पुनरावेदन पनि विचाराधीन थियो । उनीविरुद्ध वान एमडीबीअन्तर्गतको एसआरसी इन्टरनेसनलसँग अवैधानिक रूपमा १ करोड अमेरिकी डलर लिएको आरोप समेत लागेको थियो । मंगलबार संघीय अदालतले त्यही मुद्दामा सुनुवाइ गरेको हो । अदालतले रजाकको पुनरावेदन खारेज गरेको हो । उनलाई १२ वर्ष जेल सजायका साथै ४ करोड ६० लाख अमेरिकी डलर जरिवानासमेत सुनाएको छ । प्रधानन्यायाधीश तेंग्कु माइमन तुआन म्याटले नजिबको पुनरावेदन सर्वसम्मतिले खारेज गरेको बताएकी थिइन् ।
अभियोजनकर्ताहरूले नजिब सहसंस्थापक रहेको वान एमडीबीबाट ४ अर्ब ५० करोड अमेरिकी डलर हिनामिना गरिएको बताएका थिए । त्यसमध्ये १ अर्ब अमेरिकी डलर नजिबको खातामा भेटिएको उनीहरूले प्रमाण पेस गरेका थिए । नजिबका वकिलले साउदी शाही परिवारबाट उक्त रकम प्राप्त भएको र राज्यकोष दुरुपयोग नगरेको जिकिर गरेका थिए । साथै उनीहरूले आर्थिक सल्लाहकारले झुक्याएको समेत बताएका थिए । डनजिबकी पत्नी रोसमाह मान्सोरलाई समेत सम्पत्ति शुद्धीकरण र करछलीको आरोप लागेको छ । उनले भने आफू निर्दोष रहेको बताउँदै आएकी छिन् । उनको मुद्दामा उच्च अदालतले आगामी सेप्टेम्बर १ मा फैसला सुनाउँदै छ ।

प्रतिक्रियाहरु