राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा प्रभाकर

२०७९ श्रावण २४ गते, मंगलवार

काठमाडौं । नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकरलाई नियुक्त गरिएको जनाएको छ । क्यानले भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रभाकरलाई सोमबार प्रशिक्षकमा नियुक्त गरेको हो । नेपाली क्रिकेट टोलीको नयाँ प्रशिक्षकमा नियुक्त भएका प्रभाकरसँग अफगानिस्तान, रणजी ट्रफीमा दिल्ली, राजस्थान र उत्तर प्रदेश टिमको प्रशिक्षक भई जिम्मेवारी सम्हालेको अनुभव छ । प्रभाकरलाई एक वर्षका लागि प्रशिक्षकको रुपमा अनुबन्ध गरिएको क्यानले जनाएको छ ।
सन् १९९९ मा खेल मिलेमतो गरेको विवादमा मुछिएका प्रभाकरलाई त्यतिबेला भारतीय टिममा खेल्न प्रतिबन्धसमेत लगाइएको थियो । यस्तै, प्रभाकरलाई दिल्ली क्रिकेट टिमले खेलाडी र छनोटकर्ताको विषयमा आलोचना गरेको भन्दै प्रशिक्षकबाट पनि हटाएको रेकर्ड छ । त्यसपछि प्रभाकर क्रिकेटबाट भारतीय राजनीतिमा प्रवेश गर्न खोजेका थिए । तर, सफल भएनन् ।
गत साउन ४ गते नेपाली टिमका तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि मुख्य प्रशिक्षक पद खाली थियो। सोमबार क्यानले प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

प्रतिक्रियाहरु