काठमाडौँ उपत्यकामा पुनः ‘नो हर्न’ अभियान

२०७९ श्रावण २२ गते, आईतवार


काठमाडौँ । उपत्यकामा आजदेखि नो हर्न कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडी बढाइएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रमुख आतिथ्यमा आज एक कार्यक्रम गरी नो हर्न अभियानलाई पुनः सुरु गरिएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले नो हर्न लेखिएको पहेँलो स्टिकर एक अर्काको सवारी साधनमा टासेँर कार्यक्रमको समुद्घाटन गरेका थिए ।
नो हर्न अभियान सफल बनाउनका साथै सडक प्रयोगकर्ताहरुमा सचेतना फैलाउनकालागि आजबाट पद्मकन्या बहुमुखी क्याम्पसकाएक सय जना विद्यार्थीहरू १५ दिनका लागि ट्राफिक प्रहरीसँगै सडकमा खटिएका छन् ।
हर्नले ध्वनी प्रदुषण मात्र नभई व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले नो हर्न कार्यक्रमलाई निरन्तरता दिनका लागि यो कार्यक्रम पुनः सुरु गरिएको काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले बताए ।
काठमाडौँ उपत्यकामा ध्वनी प्रदुषण नियन्त्रणका लागि २०७४ साल वैशाख १ गतेबाट नो हर्न लागु गरिएको थियो । जस अनुसार अत्यावश्यक पर्दा बाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको छ ।
कार्यक्रम रामशाहपथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्राङ्गणबाट शुरुवात भएको थियो साथैकाठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी तथा भोलन्टियर र पद्मकन्या क्यामप्सका प्राध्यापक र विद्दयार्थीहरुले सिंहदरबार चोकमा गइ सार्वजनिक तथा निजी सवारी साधनहरुमा नो हर्न लेखिएको स्टिकर टाँसेका थिए । उक्त कार्यक्रम काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, बागबजार स्थित पद्मकन्या बहुमुखी क्याम्पस र धापसी स्थित कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलले संयुक्त आयोजना गरेको हो । कार्यक्रममा करिब दुई सय जनाको सहभागिता रहेको थियो ।

यसैबीच , ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एक हप्तामा १७ हजार ४९३ सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई काठमाडौँ उपत्यका ट्राफिक तथा त्यस मातहतका कार्यालयले कारबाही गरेको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी कारबाहीमा मादक पदार्थ सेवन गरी सवारी चालक छन् । यही साउन १५ देखि २१ गतेसम्ममा मादकपदार्थ सेवन गरी सवारी चलाउनेको सङ्ख्या एक हजार ७४ छ ।
ट्राफिक प्रहरी कार्यालयले कारबाहीमा पर्ने सवारी चालकको वर्गीकरण गर्दै सूची बनाउने गरेको छ । मापसे गरी सवारी साधन चलाउने एक हजार ७४, लेन मिच्ने ६५९, रेड लाइटमा सवारी चलाउने ५७४, जथाभावी रुपमा नम्बर प्लेट बनाउने २४२ र अन्य गरी १४ हजार ९४४ चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । तथ्याङ्क अनुसार शुक्रबार मादकपदार्थ सेवन गरी सवारी साधन चलाउनेको सङ्ख्या सबैभन्दा बढी छ भने सोमबार सबैभन्दा कम छ । शुक्रबार मादकपदार्थ सेवन गरी सवारी चलाउने २३२ तथा सोमबार ११५ चालक रहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार