अगष्ट ६ र ९ : विश्वमा अबिस्मरणीय त्रासद कालो दिन

२०७९ श्रावण २१ गते, शनिबार
लोकनारायण सुबेदी



विश्व इतिहासमा दोश्रो विश्व युद्धको त्यो अन्तिम क्षण अर्थात १९४५ अगष्ट ६ र ९ का दुई दिन मानबताका बिरुद्ध पहिलो पटक जापानमाथि बिध्वंशकारी आणबिक अस्त्र प्रयोग गरिएको दुर्दान्त र अबिस्मरणाीय दिनकोरुपमा अंकित छन् । तिनै दुर्ई दिन हुन् — बीसौ शताब्दीको विश्वमा मानिसलाई आणबिक घाउ लागेको अपूर्ब क्रुरतम दिन पनि । अगष्ट ६ को त्यो भयावह, आततायी कालो दिन जुन दिन क्षणभरमै जापानको हिरोशिमा शहर खरानीमा परिणत भएको र डेढ लाख मानिस एकै चिहान बनेको दिन थियो ।
आजभन्दा ७६ बर्ष पहिला अगष्ट महिनाका ती दुई दिन मानबताको इतिहासमा कलंक र मानबता बिरोधी त्रासद कालो दिनकोरुपमा विश्वले देख्नु र भोग्नु परेको थियो । वास्तवमा घना मानब बस्तीमा परमाणु बम जस्तो अत्यन्तै घातक र खतरनाक हतियारको प्रयोग अमेरिकाले त्यस दिन गरेको थियो । त्यसैले ती अगष्ट ६ र ९ दिनले अमेरिका र जापान बीचको शत्रुताको चरम घृणाको दिनलाई मात्र सम्झना गराउँदैन, आणबिक तथा परमाणिबिक शस्त्रास्त्र मानब सभ्यता, सँस्कृति र मानब जातिको निमित्त कत्तिको घातक छ भन्ने कुरा पनि उजागर गर्दछन् ती दुई दिनका घटनाले । पहिलो आणबिक बम अगष्ट ६ का दिन खसालिदा पूरै हिरोशिमा शहर त्यतिबेला तहसनहस भएर तातो खरानीमा परिणत भएको थियो । तत्काल १ लाख मानिस एकै निमेषमा कालकलिबत भएका थिए भने त्यसको असरले हजारौ मानिसको मृत्यु थपिएको थियो । अनि त्यसको लगत्तै अर्थात ३ दिन पछि अगष्ट ९ दिन जापानको अर्को शहर नागाशाकीमा अर्को आणबिक बम प्रहार गरिएको थियो । त्यसमा पनि ५०औँ हजार निर्दोष मानिसहरु कालकलबित भएका थिए ।
त्यस अमानबीय र कहालीलाग्दो आणबिक प्रहारयता जापानले युद्धका घाउहरु र जापानी जनताको घोर अपमानलाई पुर्दै ठूलो प्रगति गरेको छ । तर, अझै पनि जापानमा अमेरिकी सैनिक अखण्डा त्यही बेलादेखि राखिएको छ । यद्यपि अहिले हिरोशिमाको त्यो बर्बादीमाथि शान्ति संग्राहलय खडा गरी शान्ति पार्ककोरुपमा कायम गरिएको छ । बर्षेनी जापानीहरु त्यहाँ त्यो क्रुर आणबिक युद्धमा मारिएका आफ्ना प्रियजन र पूर्खाहरुको सम्झनामा प्रार्थना गर्न र आणबिक शस्त्रास्त्रको बिरोध गर्न जाने गर्दछन् ‘हिरोेशिमा दिवस’का दिन !
वास्तवमा ६ अगष्टका दिन अमेरिकाको फाइटर बिमान – बी – २९ ले जमिनको सतहदेखि झण्डै ३१००० फीटको उच्चाई माथिबाट हिरोशिमा शहरमा परमाणुबम खसालेको थियो । त्यतिबेला हिरोशिमा शहरका मानिसलाई त्यो परमाण बम बिस्फोट यति भयानक लाग्यो कि आकाशमा कुनै अर्को सूर्य उदाएको छ । हेर्दा हेर्दै लाखौ लाख मानिस धुँवासँग बिलाए । हुन पनि आजभन्दा ७६ बर्ष अगाडिको त्यो भयावह र प्रलयकारी घटना मानब इतिहासको सबैभन्दा क्रुरतम् र एउटा भयंकर त्रासद घटनाकोरुपमा विश्वमा अंकित छ । हिरोशिमामाथि आक्रमण गर्ने त्यो परमाणु अस्त्रको ‘कोड’ नाम ‘लिटिल ब्वाई’ थियो । तर, त्यो ‘सानो केटा’ले जापान र मानबताको इतिहासलाई अत्यन्तै ठूला र गहिरो चोट लगायो । त्यो बम दोश्रो विश्व युद्धको क्रममा अमेरिकाको ‘मेनहटन प्रोजेक्ट’ अन्तर्गत अमेरिकाको ‘लासअलामोश’मा निर्माण गरिएको थियो । झण्डै ४००० किलो ग्राम तौलको त्यो संहारकारी बमको लम्बाई तीन मिटर र ब्यास (गोलाई) ७१ सेन्टिमिटरसम्मको थियो भनिन्छ । त्यस बमले आफ्नो बिस्फोटक क्षमता ‘यूरेनियम – २३५ को न्यूक्लियर फिशन प्रोसेस’ – जसलाई ‘नाभिकीय बिखण्डन प्रकृया’ भनिन्छ – बाट प्राप्त गरेको थियो । त्यसको बिध्वंशक क्षमता १३—१८ किलोटन टीएनटी (ट्राइनाइट्रोटालुइन) बराबरको मानिएको थियो ।
अहिलेसम्म पनि त्यो परमाणु बम खसालिएको हिरोशिमा र नागाशाकीमा यकिन कति मानिस मारिए भन्ने आधिकारिक र औपचारिक कुनै सत्यतथ्य बाहिर नआएको या नल्याइएकोले यस बारेको अन्दाज र अनुमानमा पनि बिबादमा नै छ । तर, हिरोशिमा शहरमा त्यतिबेलाको जनसंख्या ३ लाख ५० हजार रहेको तथ्यांक थियो । त्यो जनसंख्यामध्ये आधाभन्दा केही कम अर्थात् १ लाख ४० हजारदेखि ५० हजारसम्म त्यतिबेला मारिएको र मृत्यु भएको मानिएको छ । ९ अगष्टका दिन नागाशाकीमा ४० हजार देखि ८० हजारसम्म मानिस ‘फ्याट म्यान’ नामको अर्को परमाणु बमद्वारा मारिएको अनुमान छ । परमाणु बमको तत्कालीन असर र पछिसम्म त्यसको रेडिएशन फैलिएका कारणले हजारौं हजार जापानीहरु बिकलाङ्ग भएर रहेका या मारिएका या बाँचेका पनि दुःखपूर्ण जीवनको बोकिरहेका थिए । रेडिएशनले गर्भमा पनि धेरै पछिसम्म असर पारेको अध्ययनहरूले बताएको छ ।
त्यो घातक परमाणु बम जापानी निर्दोष जनतामाथि खसाल्ने अमानबीय निर्णय अमेरिकाले त्यतिबेला जुन गरेको थियो त्यसप्रति अहिलेसम्म उसले कुनै पश्चाताप गरेको र माफी मागेको छैन । बरु त्यसलाई सही नै ठहराउँदै आएको छ । त्यसै बेलादेखि जापानमा अमेरिकी सैनिक अखडा पनि राखिएको हो र त्यो अहिलेसम्म कायमै छ । यद्यपि हिरोशिमा पुग्ने र त्यहाँ मारिएका मानिसहरुप्रति श्रद्धाञ्जली प्रकट गर्ने काम भने यस अघिका अमेरिकी राष्ट्रपति बाराक ओबामाले झण्डै ९ बर्ष जति अघि हिरोशिमा परमाणु बम खसालेको ७० बर्ष पछि गरेका हुन् ।
अहिले त विश्वको राजनीतिक रंगमञ्चमा लामो समयदेखि अमेरिका र जापान एउटै ध्रुबमा उभिएका छन् । तर इतिहाले अगष्ट ६ र ९ को जापानमाथि खसालिएको ती प्रलयकारी र बिध्वंशक परमाणु बमलाई कुनै दिन पनि सही ठहराउने छैन र त्यसलाई मानब इतिहासको एउटा कालो दिन र कलंककै रुपमा भने लिइराख्ने छ । अनि यस्तो त्रासद घटना दोहोरिनु हुँदैन भन्ने मानबीय आवाज विश्वमा उठिरहने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु