नेकपाद्वारा अमेरिकालाई साम्राज्यवादी गतिविधि राेक्न आग्रह

२०७९ श्रावण १९ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभागले अमेरिकालाई विभिन्न बहानामा द्वन्द्व र अशान्ति पैदा गर्ने साम्राज्यवादी गतिविधि राेक्न आग्रह गरेको छ । नेपाल कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभागका सचिव आमुलले एक प्रेस विज्ञप्ति जारी गरि विश्वका सबैजसो देशहरुले ताइवानलाई चीनको भूभाग मानिरहेका सन्दर्भमा एक चीन नीति विपरित अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेकोप्रति खेद प्रकट गरेका छन् ।
आमुलद्वारा विज्ञप्तिमा भनिएको छ- `यो भ्रमणले चीन र ताइवान बिच थप द्वन्द्व मात्र चुलिएको छैन, एक स्वाधीन राष्ट्रमाथि अमेरिकी साम्राज्यवादले आफ्नाे पुरानो चरित्र फेरि नाङ्गो रूपमा विश्व सामु देखाएको छ ।
विश्वका सबैजसो देशहरुले ताइवानलाई चीनको भूभाग मानिरहेका सन्दर्भमा एक चीन नीति विपरित भएको यस्तो गतिविधिप्रति नेपाल कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभाग खेद प्रकट गर्दछ ।´

यसैबीच, नेपालका अन्य कम्युनिष्ट पार्टीहरुले एक चीन नीतिमा नेपाल उभिनुपर्ने धाराणा राखेका छन् । विहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कम्युनिष्ट पार्टीका वक्ताहरुले नेपाल एक चीन नीतिमा अडिग रहनुपर्ने बताएका हुन् ।अमेरिकाको संसदकी सभामुख न्यान्सी पेलोसीले बुधबार ताइवानको भ्रमण गरेको विषयलाई नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरुले अमेरिकाको यो भ्रमण एक चीन नीति विपरित् भएको बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले अमेरिकाले चीनविरोधी गतिविधिहरु गरेको यो पहिलो पटक नभएको बताए । उनले अमेरिकी संसदको सभामुखले ताइवानको प्रमुख शहर ताइपेईको भ्रमण गर्नु एक चीन नीतिविरुद्ध भएको भन्दै नेपालले एक चीन नीतिको पक्षमा रहनुपर्ने बताए । अध्यक्ष सुवेदीले नेपाल कम्युनिष्ट पार्टीले नेपालमा जबसम्म सामन्तवाद र साम्राज्यवाद रहन्छ तबसम्म विकास सम्भव नहुने उल्लेख गर्दै आएको भन्दै अमेरिकाले आईपीएस र एमसीसीलगायतका कार्यक्रम अघि सारेर चीनविरुद्ध गतिविधि गरिरहेको बताए । उनले अमेरिका चीनको बढ्दो शक्ति देखेर आत्तिएको भन्दै विभिन्न राष्ट्रमा घुसेर चीनविरुद्धका गतिविधि गरिहरेको बताए । त्यस्तै नेकपाका अध्यक्ष ऋषि कट्टेलले नेपाललाई अमेरिकी सैन्य अखडा बनाउन नदिने र नेपालबाट चीनविरोधी गतिविधि गर्न नदिने कुरामा नेपाल कम्युनिष्ट पार्टी प्रतिबद्ध रहेको बताए । उनले चीनलाई घेर्ने अमेरिकी रणनीतिलाई सफल गर्न नदिने पक्षमा आफू रहेको बताए । अध्यक्ष कट्टेलले नेकपा एक चीन नीतिको पक्षमा आफूलाई दृढताका साथ अघि बढाउने स्पष्ट पारे । उनले अहिलेको सरकारका वर्ष दिनका गतिविधिले इण्डो अमेरिकी हितमा समर्पित भएको संकेत गरेको आरोप लगाए । उनले सरकार नेपालको हीतलाई छोडेर शक्तिको हीतमा समर्पित रहेको बताए । अध्यक्ष कट्टेलले प्रशान्त क्षेत्रीय रणनीतिक अन्तर्गतको हेड क्वार्टर नेपाललाई बनाउन नुवाकोट र पाल्पामा ठूलो मात्रामा जमीन किन्न लागेको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु