चीनद्वारा ताइवानको सीमा क्षेत्रमा क्षेप्यास्त्र प्रहार

२०७९ श्रावण १९ गते, बिहीबार

। चीनले बिहिबार ताइवानको उत्तर–पूर्वी र दक्षिण–पश्चिम सीमा क्षेत्रमा ब्यालेस्टिक मिसाइलहरू (क्षेप्यास्त्रहरु) प्रक्षेपण गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण सके लगत्तै चीनले ताइवान नजिकैको समुन्द्रमा क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । पेलोसीलाई ताइवानको भ्रमण नगर्न चीनले चेतावनी दिएपनि उनले मंगलवार र बुधवार ताइवानको भ्रमण गरेकी थिइन् । चीनले ताइवानलाई आफ्नो अभिन्न भूभाग मान्दै आएको छ भने ताइवानले आफूलाई स्वतन्त्र देश मान्ने गरेको छ । पेसोसीको भ्रमण एक चीन नीति बिरुद्ध भएको चीनको दाबी छ । बिहिबार चीनले गरेको सैन्य तथा मिसाइल प्रक्षेपणको अभ्यास अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको बीबीसीले जनाएको छ । यसैगरी ताइवानले पनि चीनले समुन्द्रमा धेरै व्यालेस्टिक मिसाइलहरु प्रक्षेपण गरेको जनाएको छ । दुरीको हिसावले पनि चीनले ताइवानको सबैभन्दा नजिकको क्षेत्रमा सैन्य अभ्यास गरेको जनाइएको छ । पेलोसीको भ्रमणको मौका छोपेर चीनले ताइवान नजिकैको क्षेत्रमा २० वटा भन्दा बढी लडाकु विमान परिचालन गरेको थियो । अमेरिकाले पनि ताइवानको सीमा क्षेत्रमा युद्ध पोत तैनाथ गरेको थियो । चीनले क्षेप्यास्त्र प्रक्षेपण गरेपछि त्यसको प्रतिक्रियामा सम्बन्धित रक्षा प्रणाली सक्रिय बनाइएको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । चीनको यो सैन्य अभ्यास आइतबारसम्म जारी रहने अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु