क्रान्तिभित्रको सुख चिनाउने एक उर्जाशील गीत –“भोग्नलाई त”

नारायण शर्मा २०७९ श्रावण १७ गते, मंगलवार



केही मानिसहरुले क्रान्तिलार्ई डरलाग्दो हाउगुजीको रुपमा चित्रित गर्ने गर्छन् । क्रान्तिलाई दुःख, कष्ट र अप्ठाराहरुको पहाडका रुपमा मात्र बुझिरहेका हुन्छन् एकथरी मानिसहरु । तर संघर्ष, आन्दोलन र क्रान्तिमा दुखै दुःखको पहाड मात्र हुँदैन । बुझ्न चिन्न र अनुभूत गर्न सक्ने हो भने क्रान्तिभित्रै सुखको सागर पनि भेट्न सकिन्छ । सुख के हो ? खुशी के हो ? यो मानिसले आ–आफ्नो चेतनास्तर र दृष्टिकोण अनुसार अनुभूति गर्ने विषय हो । निश्चित दर्शन, ज्ञान र चेतनाकै अभावमा धेरै मानिसहरुले क्रान्तिभित्र छिपेको सुखको सागर देख्न सक्दैनन् । क्रान्तिभित्र लुकेको सुख र खुशी चिनाउने एउटा उर्जाशील गीत आएको छ–नेपाली सांगीतिक बसारमा । नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ को शब्द, रचना, चिरन पुनको संगीत र नारायण दंगालको संगीत संयोजनमा आएको “भोग्नलाई त” बोलको उक्त गीतमा योगेश काजी र शारदा रसाइललिे स्वर दिएका छन् । गीतमा महासमरको यात्रामा रहेका अभियात्रीले त्यहीभित्र अनुभूत गर्ने सुख र खुशीलाई सरलीकृत रुपमा उतारिएको छ ः
जहाजमा उड्नु, गाडीमा गुड्नु
साथीभाईसँग रसरंगमा डुब्नु
सबै सबै सुख नै हुन
न्यायका लागि जोखिममा खेल्नु
सत्यका लागि विपत्ति झेल्नु
संघर्षको सुख प्रिय लाग्छ
भोग्नलाई त सुख अनेकौं छन्
जीवनमा भोग्ने संघर्षको सुख
प्रिय लाग्छ मलाई……………
हो, कसैका निम्ति रसरंगमा डुब्नु नै सुखको उच्चतम विन्दु हुन सक्छ । एकथरी मानिसहरुले धन दौलतलाई नै सुख र खुशीको मुख्य कारक मान्दछन् । तर सबै खुशीहरु, सबै सुखहरु पैसाले किन्न सकिंदैन । पैसाले मात्र सबै मानिसहरुलाई खुशी र सुखी बनाउन सकिदैन । पैसा त मानिसले नै सिर्जना गरेको विनिमयको एक माध्यम न हो ! पैसा नै साध्य होइन, त्यो एक साधन मात्र हो । पैसाका कारण मनमा उत्पन्न हुने खुशी क्षणिक हुन्छ । पैसा सकिएसँगै त्यो खुशी र सुख पनि सकिन्छ । तर आफूले गरेको कामबाट अरुको मुहारमा देखिने खुशीले आफ्नो मनमा पैदा गराउने खुशी र सुख त्यो दीर्घकालीन प्रकृतिको हुन्छ । न्यायपूर्ण र समतामूलक समाज निर्माणको महायात्रामा हिंडिरहेको यात्रीका निम्ति त्यही संघर्ष भित्र, त्यही आन्दोलनभित्र खुशीको सागर हुन्छ । हो, त्यो यात्रा निकै अप्ठ्यारो र जोखिमपूर्ण अवस्था हुन्छ तर त्यो जोखिमसँग पैठीजोरी खेल्दै अघि बढ्नुको आनन्द छुट्टै हुन्छ । त्यो यात्रा करोडौं दिन, दुःखी, असाह्य र पीडितजनहरुको सुदिन ल्याउन, उनीहरुको मुहारमा खुशी ल्याउन थालिएको यात्रा हो । त्यसैले वास्तविक क्रान्तिकारीहरुले कहिल्यै पनि हरेस खाँदैनन् । निरास हुँदैनन् उनीहरु । त्यही जोखिमभित्र, त्यही विपत्तिभित्रबाट पनि क्रान्ति पश्चात्को समतामूलक र न्यायपूर्ण समाजको सुन्दर तस्वीर देखिरहेका हुन्छन् उनीहरु । गीतमा त्यही वास्तविकता बोलिएको छ ः
उन्मादी विलास रमझममा भुल्नु
प्रियतम प्रियतमा अंगालोमा झुल्नु
यी सारा सबै सुख नै हुन
मुक्तिको लागि आगोमा कुद्नु
लक्ष्यको लागि हुरिमा उड्नु
संघर्षको सुख प्रिय लाग्छ
भोग्नलाई त……………….
सुख र खुशी अनुभूति गर्ने मनहरु चेतना र दृष्टिकोण अनुसार फरक फरक हुने गर्छन । कसैका लागि विलासी रमझममा भुल्नु नै सुख हुन सक्छ । कसैका लागि अरुलाई शोषण गरेर कालोधन थुपार्दा पनि खुशी मिल्न सक्छ, सुख मिल्न सक्छ । तर एक सचेत मानिस त्यसरी सुखी र खुशी रहन सक्दैन । मानिसलाई प्राणीहरु मध्येको सर्वश्रेष्ठ प्राणी मानिन्छ । मानिसमा हुने सोच्न, बुझ्न सक्ने क्षमताकै कारण उ सर्वश्रेष्ठ प्राणी गनिएको हो । आफ्नो लागि मात्र त जुनसुकै प्राणी पनि बाँच्ने गर्दछ । सचेत मानव भैसकेपछि अरुको निम्ति, समाजको निम्ति, देशको निम्ति बाँच्ने र केही गर्ने हिसावले सोच्नु पर्दछ । त्यस्तो सोचाई राख्यांै भने हामीले गर्ने हरेक काम भित्रै सुख र खुशी पाउन सक्छौं । हामीले देखेका छौं–नीति मध्येको सर्वश्रेष्ठ नीति मानिने राजनीतिक फाँटका नेताहरु जब सत्ता र शक्तिमा पुग्छन् तब उनीहरु मध्ये प्रायःको जीवनशैलीमा आमूल परिवर्तन आउने गर्छ । हिजो संघर्षका बेलामा जनताका झुग्गी झुपडीहरुमा रमाउने, उनीहरुको मन, उन्मादी विलास रमझममा भुल्न पुग्छ । सत्ता र शक्तिमा पुगिसकेपछि । सुख र खुशी अनुभूति गर्ने उनीहरुको शैली र प्रवृत्ति पनि फेरिन पुग्छ । त्यो उनीहरुले अपनाउँदै आएको विचार दर्शन मै परिवर्तन आएर उत्पन्न भएको भाव हो । जब मानिसको दृष्टिकोण र विचार मै फरक आउँछ सुख र खुशी अनुभूति गर्ने तरिकामा पनि फरक आउ थाल्छ । हिजो पैदलयात्रा गर्दै जनताको झुपडीमा पुगेर आटोपिठो खाँदा सुख र खुशीको अनुभूति गर्ने नेता, आज चौरासी व्यञ्जनको खान्कीमा मात्र खुशी र सुखी देखिन्छ । प्राडो, पंजेरो, हेलिकोप्टर र जहाजको यात्रा नै उसका लागि प्रिय बन्न पुग्छ । उसको खुशी त्यही हुन्छ । सत्ता शक्तिमा पुगेर पनि श्रमजीवी जनताकै बीचमा गएर घुलमिल हुनु, उनीहरुसँगै काम गर्नुमा सुख र खुशी होइन हिनताबोध हुन्छ उनीहरुलाई । तर सबै नेताहरु त्यस्ता हुन्छन् भन्ने होइन । गीतका लेखक स्वयं पनि क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका एक शिखर नेता हुन् । गीतका शब्दहरुमा मात्र होइन, आफ्नो जीवन व्यवहारमा पनि उनले अहिलेसम्म जनमुक्तिको अभियान भित्रैको सुख र खुशीलाई प्रिय मानेको देखिन्छ । यस्तै अहिलेकै परिवेशमा हेर्ने हो भने पनि हर्क साम्पाङ राई जस्ता, जनताकै बीचमा, जनतासँगै काम गर्दा सुखी र खुशी हुने मेयर पनि छन् यै समाजमा । स्वतन्त्रबाट उम्मेदवार बनेर विजयी भएका उनी जनतासँगै गिट्टी कुटिरहेका हुन्छन्, पाइप बोकिरहेका हुन्छन, फोहोर संकलन गरिरहेका हुन्छन् । उनी त्यसैमा सुखी र खुशी देखिन्छन् । हिजो संघर्षको बेलाको जीवनशैली र आज धरानको मेयरमा निर्वाचित भैसकेपछिको उनको जीवनशैलीमा फरक देखिंदैन । त्यसैले चिन्न सक्ने हो भने सबै भन्दा प्रिय सुख र खुशी श्रमजीवी जनताको बीचमा रहँदा हुन्छ । तिनै श्रमजीवी जनताको मुक्तिका लागि संघर्षको मैदानमा होमिंदा हुन्छ । जनमुक्तिका लागि आगोमा कुँद्दा, समतामूलक समाज निर्माणका लागि संघर्षको हुरीमा होमिंदा जुन आत्मसन्तुष्टि, खुशी र सुख मिल्छ त्यो नै सबै भन्दा प्रिय हुन्छ । वास्तविक जननेताका लागि, समाजको हरेक अगुवाका निम्ति त्यस्तो सुख नै वास्तविक सुख बन्नु पर्दछ । गीत “भोग्नेलाई त” ले मूलतः त्यही सन्देश प्रवाह गरेको छ ।
गीतमा सरल शब्दहरुमा गम्भीर भावलाई बडो कुशलतापूर्वक उतारेका छन् रचनाकारले । कुनै पनि गीतका शब्दभावहरु जतिसुकै उच्च भए पनि त्यसले न्यायपूर्ण संगीत र स्वर पाउन सकेन भने त्यो गीत पूर्ण बन्न सक्दैन । गीत “भोग्नेलाई त” मा सबै विधाको संजोग मिलेको देखिन्छ । जुन उच्च क्रान्तिकारी भावका साथ रचनाकारले गीतका शब्दहरु कोरेका छन् त्यसको मूल मर्मलाई बुझेरै संगीतकारले ती शब्दमा संगीत भरेका छन् । संगीतकार स्वयं पनि प्रगतिशील सांस्कृतिक आन्दोलन एवं क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि क्रियाशील रहेका व्यतित्व भएरै हुनुपर्छ गीतमा उनले न्यायपूर्ण संगीत दिएका छन् । यो गीत निर्माणका बेला राज्यले नेकपा माथि प्रतिबन्ध लगाएको थियो । रचनाकार संगीतकार भूमिगत रुपमा एउटै मिसनमा थिए । “हाम्रो पार्टीको आठौं केन्द्रीय समितिको बैठकको दौरानमा प्रतिबन्धकै बेला २०७७ सालको शुरुवाततिरै यो गीत मलाई दिनुभएको थियो महासचिव कमरेडले ।” –संगीतकार चिरन पुन भन्छन्–“त्यो बेला रिकर्ड गर्ने परिस्थिति थिएन । समय परिस्थिति मिलाउँदा–मिलाउँदै अहिले मात्र सार्वजनिक गर्न सक्यौं ।”–गीतका शब्दहरु देख्दा नै सरल तर गम्भीर भाव बोकेका लागेर आफूले संगीत भरेको पुनले प्रष्ट पारे । “प्रगतिशील, क्रान्तिकारी गीत भन्ने वित्तिकै वम, बारुद्ध, राइफल, हान्ने, मार्ने भाव दिने शब्द हुनुपर्छ भन्ने मान्यता पनि राख्ने गरेको पाइन्छ । तर महासचिव विप्लवद्वारा लिखित यो गीतका शब्दहरु जनताले बुझ्न सक्ने सरल भाषामा लेखिएको थियो ।” संगीतकार पुनले भने –“हरेक क्रान्तिकारीहरुलाई संघर्षभित्रको सुख नै प्रिय हुन्छ–त्यही यथार्थता बोलेको छ यो गीतले ।” गीतको संगीत संयोजक र गायक गायिकाको कामबाट आफू पूर्णतयाः सन्तुष्ट रहेको समेत संगीतकार पुनले बताए । संगीत संयोजक नारायण दंगालले पनि संगीतको संयोजन बडो कुशलतापूर्वक गरेका छन् । गायक योगेश काजी र गायिका शारदा रसाइलीको स्वरले पनि पूर्ण न्याय गरेको छ गीत प्रति । सबैको संयोजन राम्रो मिलेको छ । रचनाकार, संगीतकार, संगीत संयोजक, गायक, गायिका सबैको एकीकृत कलाबाट एउटा सुन्दर कर्णप्रिय जनगीत निर्माण भएको छ । जनसंगीतको पंक्तिमा एउटा अर्को क्रान्तिकारीभावको सुन्दर उर्जाशील गीत थपिएको छ ।
सूचना प्रविधिको उच्चतम विकास हुँदै गैरहेको वर्तमान समयमा गीत÷संगीतलाई सुन्न मात्र होइन हेर्न पनि चाहान्छन् श्रोताहरु । गीत जुन रुपमा सुन्दर बनेको छ त्यसको भाव अनुुसारका नृत्य, अभिनयलाई पनि दृष्यांकन गरेर भिजुअल सहित ल्याएको भए गीत अझ सुन्दर र सार्थक बन्न सक्थ्यो भन्ने भाव गीत सुन्ने जो कोहीको मनमा पनि उब्जन पुग्छ । दर्शकस्रोताको उक्त गुनासोलाई अस्वाभाविक मान्न सकिंदैन । देशको प्रगतिशील सांस्कृतिक आन्दोलनमा मात्र होइन राजनैतिक आन्दोलनमा पनि ठूलो अर्थ र महत्व राख्दछन् यसप्रकारका गीतहरुले । व्यवसायीकताका नाममा छाडा, अश्लिल र पाश्चात्य गीत संगीतको बोलाबाला रहेको नेपालको वर्तमान सांगीतिक बजारमा क्रान्तिकारी भाव बोकेको यसप्रकारका उर्जाशील गीत आउनु जनसंगीतप्रेमी सम्पूर्णका निम्ति हर्षकै कुरा हो । आगामी दिनमा पनि सर्जकबाट यसप्रकारका सिर्जनाहरुले निरन्तरता पाइराखुन । गीतका सर्जक, संगीतकार, संगीत संयोजक, गायक गायिका लगायत “भोग्नेलाई त” गीत निर्माण युनिटका सम्पूर्ण सदस्यहरुलाई बधाईका साथ यो गीत सफलताको हार्दिक शुभकामना ।
आखिर कस्तो छ त क्रान्ति भित्रको सुख चिनाउने “भोग्नेलाई त” गीत ?
–अब चिरन पुन अफिसियल युटुब च्यानलमा गएर सुनौं र हेरौं !

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

दाहाल यज्ञनिधि पुरस्कार महावीर पुनलाई

२०७९ श्रावण २६ गते, बिहीबार

मुक्तक संग्रह

२०७९ श्रावण २४ गते, मंगलवार