रणनैतिक संयुक्त मोर्चा सार्थक बनोस्

२०७९ श्रावण १५ गते, आईतवार

नेपाल कम्युनिस्ट पार्टी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा (माओवादी समाजवादी) ले रणनैतिक संयुक्त मोर्चालाई अगाडि बढाउने भएका छन्् । यही साउन ८ गते वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालय थापागाउँमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड, नेकपाका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिब आहुति र नेकपा (माओवादी समाजवादी) का कर्णजित बुढाथोकी ‘सुशील’ लगायतको बैठकले संसदीय व्यवस्था, संसद्वादी दल र नेताका कारण राष्ट्र र राष्ट्रियता नै संकटमा पर्दै गइरहेको समयमा रणनैतिक संयुक्त मोर्चामार्फत राष्ट्रिय स्वाधीनता एवं जनअधिकार रक्षाको संयुक्त जनसंघर्ष अघि बढाउने निर्णय गरेका छन्, जुन देश र जनताको लागि खुशीको बिषय हो । बिगतमा यी ४ कम्युनिष्ट पार्टीलगायत नेकपा (क्रान्तिकारी माओवादी) सहितको रणनैतिक संयुक्त मोर्चाले एमसीसीलगायतका बिषयमा संघर्ष चर्काएको थियो तर पछिल्लो समय नेकपा (क्रान्तिकारी माओवादी) को उदासिनताका कारण रणनैतिक संयुक्त मोर्चा निष्क्रिय भएको थियो । रणनैतिक संयुक्त मोर्चालाई अगाडि बढाउन नेपाल कम्युनिस्ट पार्टीलगायत ४ कम्युनिष्ट पार्टीले जोड बल गरे पनि नेकपा (क्रान्तिकारी माओवादी) सो मोर्चाबाट भागेपछि नेपाल कम्युनिस्ट पार्टी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा (माओवादी समाजवादी) ले नेकपा (क्रान्तिकारी माओवादी) को उक्त कार्यलाई कार्यगत एकता र संयुक्त मोर्चाको अभ्यासमा देखापरेको भडुवा चिन्तन र षड्यन्त्रकारी शैलीको संज्ञा दिँदै रणनैतिक संयुक्त मोर्चालाई अगाडि बढाउने निर्णय गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीलगायत चार कम्युनिष्ट पार्टीले विगतमा कार्यगत एकता र संयुक्त मोर्चाको अभ्यासमा देखापरेको भडुवा चिन्तन र षड्यन्त्रकारी शैलीविरुद्ध संयुक्त संघर्ष गर्दै क्रान्तिकारी कम्युनिस्ट, वामपन्थी, देशभक्त र सच्चा लोकतन्त्रवादी शक्ति एवं समूहलाई यस कार्यगत एकता प्रक्रियामा सामेल हुन र राष्ट्रिय स्वाधीनता एवं जनअधिकार रक्षाको संयुक्त जनसंघर्षमा सामेल हुन विशेष अपिलसमेत गरेका छन् । ती पार्टीले रणनैतिक संयुक्त मोर्चाको उद्देश्य दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था र राज्यसत्ताको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु रहेको जनाएका छन् भने मोर्चाले उद्देश्य प्राप्त गर्ने ध्येय पूरा गर्न तत्कालका लागि देश एवं जनताका समस्याहरु समाधान गर्न राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुमा निरन्तर जनपरिचालन र संघर्ष गर्नुपर्ने बताउँदै कार्यगत एकतामा आधारित गठबन्धनहरु, विभिन्न जनवर्गका न्यायपूर्ण संघर्ष एवं सन्दर्भहरुलाई समेत नीतिगत तथा व्यवहारिक नेतृत्व दिन निरन्तर लागिपर्ने जनाएको छ । जुन ज्यादै महत्वपूर्ण विषय हो । यसर्थ, देश र जनतालाई संसदीय व्यवस्थाको चंगुलबाट मुक्त पार्न रणनैतिक संयुक्त मोर्चाले उद्घोष गरेको आन्दोलनलाई आमक्रान्तिकारी दल, नेता, शक्ति र सचेत नागरिकहरुले साथ र सहयोग गर्नु अपरिहार्य भएको छ । अन्यथा संसद्वादी दलहरुले देश र जनतालाई भड्खालोमा हाल्ने निश्चित छ ।

तसर्थ, आमसचेत नागरिक नेपाल कम्युनिस्ट पार्टीको पहलमा बनेको रणनैतिक संयुक्त मोर्चालाई सार्थक बनाउन कटिबद्ध र प्रतिबद्ध हुनुको विकल्प छैन । किनकि संसदीय व्यवस्था विघटन गरेर वैज्ञानिक समाजवाद स्थापना नगरेसम्म देश र जनताको मुक्ति सम्भव छैन । फेरि पनि देश र जनहितको पक्षमा सिन्कोसमेत भाँच्न नसक्ने संसदीय व्यवस्थाको गोलचक्करमा फस्ने हो भने देश र जनताको भविष्य चौपट हुने निश्चित छ । तसर्थ, आमक्रान्तिकारी दल, नेता, शक्ति र सचेत नागरिकहरु रणनैतिक संयुक्त मोर्चामा सामेल हुनैपर्छ । त्यही मोर्चाको बलबाट मात्र संसदीय व्यवस्थाको जरो उखेलेर देशमा वैज्ञानिक समाजवाद स्थापना गर्न सम्भव छ । अन्यथा, देश र जनताको भविष्य अन्धकार हुनेछ, चेतना भया ।

प्रतिक्रियाहरु