रुस र युक्रेन युद्ध ४ महिना पूरा : एक करोड ३० लाख युक्रेनी विस्थापित

२०७९ असार १० गते, शुक्रबार

काठमाडौं । गत फेब्रुअरी २४ मा सुरु भएको रुस र युक्रेन युद्ध चार महिना पूरा भएको छ । रुसले युक्रेनमाथि फेब्रुअरी २४ पहिलो सैनिक हमला गरेको थियो । यसबीचमा दुवैतर्फ गरी हजारौं सैनिक मारिएका छन् भने घाइतेहरुको संख्या त्यो भन्दा कैयौ गुणा बढी छ । युक्रेनको राजधानी किभसहि लगभग सबै शहरहरु खण्डहरमा परिणत भएका छन् । ८० लाख युक्रेनीले देश छाडेका छन् भने विस्थापित हुने युक्रेनीहरुको संख्या एक करोड ३० लाख माथि छ। युद्धबाट भएको आर्थिक क्षतिको त हिसाब नै छैन् ।
अहिलेसम्म युक्रेनले ६ सय अर्ब डलर बराबरको क्षति ब्यहोर्नु परेको आँकलन गरिएको छ । युद्धको आर्थिक असर युरोप, अमेरिका हुँदै विश्वभर परेको छ । विश्वका १ अर्ब ६० करोड मानिसमा युद्धको प्रत्यक्ष अप्रत्यक्ष मारमा परेको एक अध्ययनले देखाएको छ । रुसी आक्रमण पछिल्ला दिनमा दक्षिण पूर्वी युक्रेनमा केन्द्रित छ । जहाँबाट रुस तत्कालपछि नहट्ने रणनीतिमा छ । चार महिना पूरा भइसक्दा पनि यो युद्धको अन्त्य कसरी र कहिले हुन्छ भन्ने कुनै संकेत देखिएको छैन् । बरु रुसको अर्को देश लिथुआनियासँग तनाव बढेको छ । रुसले कुनै पनि लिथुआनियामाथि आक्रमण गर्न सक्ने आशंकामा पश्चिमा देशहरु छन् । त्यसो भयो भने युद्ध झन् विस्तार हुने र त्यसले अन्य देशहरुलाई पनि प्रत्यक्ष युद्धमा तान्ने खतरा बढाएको छ ।

प्रतिक्रियाहरु