प्रगतिशील कलाकारद्वारा एउटै साझा चौतारीमा संगठित हुने संकेत

२०७९ असार ८ गते, बुधबार

काठमाडौं । विश्व संगीत दिवसको अवसर पारेर प्रगतिशील जनसंगीतकर्मीहरुले सांगीतिक कार्यक्रम सम्पन्न गर्दै एउटै साझा चौतारीमा संगठित हुने संकेत दिएका छन। असार ७ गते विश्व संगीत दिवसको अवसर पारेर देश र श्रमजीवी जनताको मुक्तिका लागि लामो समयदेखि जनसंगीतको फाँटबाट योगदान पु¥याउँदै आएका जनकलाकारहरुले सांगीतिक कार्यक्रम गर्दै एउटै साझा चौतारीमा संगठित हुने संकेत दिएका हुन् । उक्त सांगीतिक कार्यक्रममा जनगायक जीवन शर्मा, मणि थापा, माधव प्रधान, उदय श्रेष्ठ र माइला लामा लगायतका वरिष्ठ जनसंगीतकर्मीहरुले जनसंगीतको बेजोड, संयुक्त प्रस्तुति दिदै एउटै मञ्चबाट आफूहरु जनसंगीतकर्मीहरुको छाता संगठन निर्माणमा जुटेको र अब त्यो छिट्टै घोषणा गरिने समेत उद्घोष गरेका थिए ।
कार्यक्रममा न कसैले अध्यक्षता नै गरेको थियो , न त त्यहाँ कुनै उद्घोषक नै थिए । जनगायक जीवन शर्माले कार्यक्रमको चिनारी दिंदै छोटो भनाई राखे । झण्डै डेढ दर्जन जनकलाकार मञ्चमा सँगै उभिएर एउटै स्वरमा अन्तर्राष्ट्रिय गीत गाए सँगै कार्यक्रम अगाडि बढ्यो । एउटा जनकलाकार मञ्चमा आएर प्रस्तुति दिन्थे । आफ्नो प्रस्तुति सकेपछि उनैले अर्को कलाकारलाई मञ्चमा बोलाउँदै आफू विदा हुन्थे । साँच्चै, नयाँ शैलीको कार्यक्रम प्रस्तुत गरेका थिए । असार ७ गते जनसंगीतकर्मीहरुले इन्छुक प्रतिष्ठान, मैदीदेवी काठमाडौंको सभाहलमा ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका संस्थापक अध्यक्ष जनगायक जीवन शर्माले आफ्नै रचना र संगीतका २ वटा गीतहरु प्रस्तुत गरे । “म हिंडेको मेरो गाउँको बाटो मुस्कुरायो”– कार्यक्रममा जनगायक जीवन शर्माले प्रस्तुत गरेको नयाँ गीत थियो । सहभागीजनहरुको चाहानालाई मध्येनजर गरेरै हुनुपर्छ शर्माले आफ्नो कालजयी गीत “सिमली छायाँमा” पनि प्रस्तुत गर्न छुटाएनन् । शर्माको यो गीतमा कार्यक्रममा सहभागी झण्डै पूरै मास रमाई रमाई नाँचेका थिए ।
कार्यक्रममा प्रत्येक जनकलाकारहरुका प्रस्तुतिहरु उत्तिकै रोचक र आकर्षक खालका थिए । कलाकारका ती गीतहरुमा देशको माटो जोगाउन आह्वान गरिएको थियो । बाटो बिराउँदै गैरहेको देशको वाम राजनैतिक नेतृत्वलाई सशक्त खबरदारी गरिएको थियो । क्रान्तिको अभिभारा अझै पूरा नभएको यथार्थता बोलेका थिए गीतहरुले । कार्यक्रममा जनकलाकारहरुले जनताका आँसु, रगत र पसिनाबाट कोरिएका जनमुक्तिका गीतहरु प्रस्तुत गरेका थिए ।
रक्तिमकी उपाध्यक्ष वरिष्ठ जनगायिका निलिमा पुनले जीवन शर्माको शब्द र संगीतमा रहेकोे “आँसु झार्दै आँखाबाट” बोलको पुरानो मार्मिक गीत प्रस्तुत गरिन । यो गीत वरिष्ठ जनसंगीतकर्मी मणि थापाद्वारा लेखिएको चर्चित गीत “फोक्ल्याण्डको टापुबाट” को प्रतिउत्तर थियो । बाध्यता र विवशताको भुमरीमा परेर विदेशी सेनामा भर्ती भई फोक्ल्याण्डको टापुमा लडाइमा पुगेको नेपाली युवाको घरमा रहेकी जहानको मनमा खेल्ने कारुणिक भावना बोलेको थियो यो गीतले ।
कार्यक्रममा वरिष्ठ जनसंगीतकर्मी माधव प्रधानले एल्बममा जेवी टुुहुरेको स्वरमा रहेको चर्चित प्रगतिशील गीत “बसाई हिंड्नेको ताँतीले” प्रस्तुत गरे । अर्का वरिष्ठ जनगायक उदय श्रेष्ठले “ओझेलमा परेको रातो फुल” बोलको गीत प्रस्तुत गरे । जनसंगीतकर्मी माइला लामाले “देशको मुहार फेरिएन कहिले नि” बोलको गीतमार्फत् बोलि फेरिरहने नेताहरुलाई जनसंगीतको मैदानबाट खबरदारी गरे ।
जनगायिका लक्ष्मी गुरुङले “त्यो एक्ले बर के होला भर” बोलको गीत प्रस्तुत गरिन । शहिदहरुको सम्मानमा रचिएको “सलाम तिमीलाई” बोलको गीत जनगायिका केसरी घर्ती ‘सलिना’ ले प्रस्तुत गरिन । जनगायक प्रदीप देवानले मणि थापाद्वारा लेखिएको “अरुण तरेर नाना तमोर तरेर” बोलेको चर्चित गीत प्रस्तुत गरे । जनकलाकार सुशिल सिंह ठकुरीले “माछी र पानी” बोलको गीत प्रस्तुत गरे । अर्का जनसंगीतकर्मी रमण धामीले ध्रुव ज्ञवालीको शब्दमा रहेको “भेटेर तिमीलाई सोधु सोधु लाग्छ” बोलको पुरानो प्रगतिशील गीत गाए । जनगायिका निर्मला घिसिङले आस्था नेपालीको शब्दमा रहेको “काँडाहरुको बीचमा हाँसेर फुल फुल्छ” बोलको गीत गाइन । जनसंगीतकर्मी अनिस योञ्जनले शिला योगीको शब्दमा रहेको “बाटो अघि बाटो पछि” बोलको गीत प्रस्तुत गरे ।
युवा जनगायक आरोह नेपालीले आफ्नै शब्द र संगीतमा रहेको “देशको माया मुटुमा साँचेर” बोलको टप्पा गीत प्रस्तुत गरे । रक्तिम सांस्कृतिक अभियानका पूर्व उपाध्यक्ष हाल सामना सांस्कृतिक परिवारसँग आबद्ध रहेका जनसंगीतकर्मी चिरन पुनले कार्यक्रममा राष्ट्रघाती एमसीसीका विरुद्ध रचिएको “राष्ट्रघाती एमसीसी हाम्लाई चाहिंदैन” बोलको आफ्नै रचना संगीतको गीत प्रस्तुत गरे । कार्यक्रममा सबै कलाकारहरुको प्रस्तुति सशक्त रहेको थियो ।
जनसंगीतकर्मीहरुको उक्त संयुक्त सांगीतिक प्रस्तुतिले देशको कम्युनिस्ट आन्दोलनमा क्रियाशील योद्धाहरुमा नयाँ उत्साह र उर्जा प्रदान गरेको छ । यसप्रकारका कार्यक्रमहरुलाई आगामी दिनमा पनि उनीहरुले निरन्तरता दिने बताएका छन् । उनीहरुको उक्त भनाईबाट प्रगतिशील सांस्कृतिक आन्दोलनमा नयाँ आशा संचार भएको अनुभूति गरिएको छ ।
प्रगतिशील सांस्कृतिक आन्दोलनका हस्तिहरु एवं विभिन्न सांस्कृतिक सङ्गठनका प्रतिनिधीहरु बिच २०७९ असार ४ गतेका दिन काठमाडौंमा सम्पन्न प्रारम्भिक छलफलले सो संयुक्त कार्यक्रम तय गरेको थियो । छलफलमा प्रगतिशील जनसङ्गितकर्मीहरुको साझा मोर्चा निर्माणका लागि थप पहलकदमी र सकृयता अगाडि बढाउने समझदारी समेत गरिएको थियो ।
छलफल कार्यक्रममा वरिष्ठ जनसास्कृतिककर्मीहरु र विभिन्न प्रगतिशील सांस्कृतिक सङ्गठनको सहभागीता रहेको थियो । रक्तिम सांस्कृतिक अभियानका सस्थापक अध्यक्ष जनगायक जीवन शर्मा, वरिष्ठ जनसङ्गितकर्मीहरु मणि थापा, माधव प्रधान, उदय श्रेष्ठ र चिरन पुनको छलफल कार्यक्रममा सहभागीता रहेको थियो ।
जनसङ्गितकर्मिहरुको साझा मोर्चा निर्माण गर्ने उदेश्यले आयोजित सो छलफल कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष नारायण शर्मा, उपाध्यक्ष निलिमा पुन, महासचिव लक्ष्मी रिजाल उदय र सदस्य धन बहादुर थापा, प्रगतिशील जनसङ्गितकर्मीहरु प्रदिप देवान,लक्ष्मी गुरुङ, मोहित श्रेष्ठ, केसरी घर्ती, महेश नेपाली आरोह, रमण थामी, अनिश योन्जन, सुनिलसिंह ठकुरी , बिहानी बि .क., सन्तोष गुरुङ्ग लगायतका जनसङ्गितकर्मीहरुको सहभागीता रहेको थियो । छलफल कार्यक्रममा रक्तिम सहित जनसास्कृतिक महासंघ, सामना परिवार लगायत विभिन्न पाच प्रगतिशील सांस्कृतिक सङ्गठनहरुको सस्थागत सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण जनसङ्गितकर्मी चिरन पुनले गरेका थिए ।

प्रतिक्रियाहरु