नेपाल कम्युनिस्ट पार्टी दोलखाको १५ औं पूर्ण बैठक सम्पन्न

२०७९ असार ८ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दोलखाको १५ औं पूर्ण बैठक असार १ र २ गते सम्पन्न भएको छ । सो पार्टीका केन्द्रीय सदस्य एवम् दोलखा जिल्ला इन्चार्ज प्रेम दर्नाल (विकल्प) को प्रमुख आतिथ्यतामा भएको उक्त बैठकमा विशेष कमिटी सदस्य यादव दाहाल, विशेष कमिटी सदस्य एवम् केन्द्रीय अर्थ विभाग सदस्य सन्जिप नेपाली, जनगणतान्त्रिक सम्पर्क मन्चका केन्द्रीय सदस्य राजु कार्की अतिथि थिए । उक्त बैठक दोलखा जिल्ला सेक्रेटरी अर्जुन योगीको अध्यक्षतामा र जिल्ला कमिटीका सदस्यहरूको सहभागितामा सम्पन्न भएको थियो ।उक्त बैठकमा रिपोर्टको संश्लेषण एवम् केन्द्रीय समितिको निर्णय तथा निष्कर्षलाई सम्प्रेषण गर्दै इन्चार्ज प्रेम दर्नाल (विकल्प) ले एकीकृत जनक्रान्तिको बैज्ञानिक कार्यदिशा मार्फत नेपालमा जसरी पनि बैज्ञानिक समाजवाद स्थापना गरिछाड्ने बताए । उनले आजको बिश्व वहुध्रवीय भएको व्याख्या गर्दै साम्राज्यवाद र एकीकृत जनक्रान्ति बीचको अन्तर्विरोध आमनेसामने टकराईरहेको स्थितिमा राष्ट्रघाती MCC र SPP का विरुद्धमा कडा संघर्ष गर्नुपर्ने बताए ।
उनले चुनावको कार्यनीतिको सवाललाई संसदवाद देख्ने र एकीकृत जनक्रान्तिबाट पलायन हुने कन्चन र सुदर्शनलाई इतिहासले माफी नदिने बताए । मन्तव्यका क्रममा उनले कन्चन र सुदर्शन क्रान्ति विरोधी तत्वलाई खुशी बनाउने बाटोमा लागेको बताए ।
मार्क्सवादीहरूको लागि चुनावको प्रयोग या बहिष्कार भनेको दीर्घकालीन होइन तत्कालीन संघर्षको नीति हो । क्रान्तिकारी कार्यनितीले अनिवार्य रणनीतिको सेवा गरेको हुन्छ तर उनीहरुमा देखापरेको राजनैतिक, साङ्गठनिक, आर्थिक एवं सांस्कृतिक अराजकता मूलत: मालेमावादी क्रान्तिकारी विचार/दृष्टिकोणमा विचलित भएर एकीकृत जनक्रान्तिबाट नै पलायन भएको बताए ।
त्यस्तै एकथरी कम्युनिष्ट भनिने धार क्रान्तिलाई बिसाएर दीर्घकालीन रूपले नै संसदवादी बनेको र अर्कोथरी क्रान्ति-क्रान्ति चाहिं भन्ने तर बेला नभएको तर्क गर्दछन् । बैठकलाई सम्वोधनको क्रममा उनले ‘देश र जनताको हितलाई केन्द्र भागमा राखेर वैज्ञानिक समाजवाद स्थापनाको लक्ष्यमा क्रान्तिको अन्वेषण र प्रयोग गर्दै अघि बढेकोले नेपाल कम्युनिस्ट पार्टी कुनैपनि हालतमा संसदवादी नहुने’ बताए ।

बैठकमा विशेष कमिटी सदस्य क. यादव दाहालले देश र जनताको जीवनमा आएको चौतर्फी संकटले क्रान्तिको उचाइ बढ्दै गएको र क्रान्तिकारी पार्टीले आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्नुपर्ने बताए । विशेष कमिटी एवम् केन्द्रीय अर्थ विभाग सदस्य क. सन्जिप नेपालीले क्रान्तिकारीहरुले कम्युनिष्ट मूल्य, मान्यता, विधि र पद्धतिलाई जीवन-व्यवहारमा दृढतापूर्वक प्रयोग गर्नुपर्ने बताए । जनगणतान्त्रिक सम्पर्क मन्चका केन्द्रीय सदस्य क. राजु कार्कीले जनताको सुखदुःखमा साथ दिने पार्टीले अपराधीहरुलाई कारबाही गरेर पिडितलाइ न्याय प्रदान गर्ने योजनालाई कार्यान्वयन गरेर अघि बढ्नुपर्ने आफ्नो भनाई राखेका थिए ।
उक्त बैठकमा दोलखा जिल्ला सेक्रेटरी अर्जुन योगीले पार्टीभित्र भएका गलत तत्वहरु पार्टीबाट भागेकाले अब एकीकृत जनक्रान्तिको गति तिब्र रुपमा अगाडि बढ्ने बताए । उनले प्रतिक्रान्तिकारी, फुटवादी, अराजकतावादीहरुलाई परास्त गर्दै क्रान्तिलाई विजयको मन्जिल सम्म पुर्याउने बताए । त्यसैगरी विगतका कामहरूको सही मूल्याङ्कन गरी राजनैतिक, आर्थिक, संगठन र संघर्षका क्षेत्रहरुमा जिल्ला सेक्रेटरी अर्जुनले पेश गर्नुभएको वस्तुवादी योजना र कार्यक्रमहरुमा व्यापक छलफल गरी सही निष्कर्षमा पुगेको बताइएको छ ।
उक्त बैठकले असार महिनामा सदस्यता नविकरण सक्ने, साउन महिनामा वडा, गाउपालिका सम्मेलन सक्ने र भदौ १० र ११ गते एतिहासिक छैटौं जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ ।
बैठकले राष्ट्रियता, जनतन्त्र, जनजीविकाका पक्षमा सशक्त आन्दोलन गर्ने, MCC/SPP को विरुद्धमा निर्मम संघर्ष गर्ने, मिटर ब्याजीविरुद्ध सशक्त संघर्ष गर्ने, क्रान्तिकारी धुर्वीकरण र एकीकरणमा बिशेष जोड दिने निर्णय गरेको छ ।


त्यस्तै नेपाल कम्युनिस्ट पार्टी, दोलखा जिल्ला समितिले जेठ २५ गते किसान बिरोध प्रदर्शन, जेट ३० गते MCC विरुद्ध प्रदर्शन, असार २ गते राजबन्दी रिहाइको पक्षमा प्रदर्शन, असार ५ गते जिल्ला सचिवालय सदस्य कमरेड जय बहादुर थामी र जिल्ला सदस्य कमरेड नन्दु थामीको नेतृत्वमा चर्को महंगी र भाडाबृद्धि विरुद्धको प्रदर्शनमा सयौं नेता, कार्यकर्ताको उपस्थिति सहित भव्यरुपमा सम्पन्न गरेको छ ।


राष्ट्रघाती MCC सम्झौताले राम्रोसँग निदाउन नसकेका नेपालीहरुका निम्ति एसपीपी SPP जस्तो राष्ट्रघाती सैन्य सम्झौताको कारण राष्ट्रिय स्वाधिनताको मुद्दा जीवन मरणको संघर्ष बन्न पुगेको छ । देशभक्तिपूर्ण संघर्षलाई निर्णयक बनाउनुपर्ने यस्तो संवेदनशील परिस्थितिमा दोलखाली जनता चुप लागेर बस्न नहुने र देशभक्तिपूर्ण संघर्ष र क्रान्तिमा योगदान पुर्याउन नेपाल कम्युनिष्ट पार्टी दोलखाले देशभक्त एवम् प्रगतिशील शक्ति सबैलाई हार्दिक अपिलसमेत गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु