‘क्रान्तिभन्दा अरु सोचिदैन’

२०७९ असार ७ गते, मंगलवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाङको ८ औँ पूर्ण बैठक सम्पन्न भएको छ । सोमबार दाङको घोराहीमा सम्पन्न बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज शितलले बाचुन्जेलसम्म क्रान्तिभन्दा अरु नसोच्ने बताए । नेता शितलले जीवनभर आफुले निस्वार्थ ढंगले क्रान्ति भन्दा अरु केही नसोचेको बताउँदै सम्पूर्ण जीवन आफुले क्रान्तिमै खर्चिने बताए । एक फरक प्रसङ्गमा बोल्दै नेता शितलले पार्टीबाट रुपान्तरण हुन नचाहने अराजक तत्वहरुले पार्टी विभाजनको हल्ला मच्चाएको समेत बताए । उनले भने,– ‘कम्युनिस्ट पार्टीमा छलफल बहस हुनु स्वभाविक हो तर पार्टीमा कुनै वैचारिक मतभिन्नता नभएरै छुट्टै झोला बोकेर हिड्नु हुँदैन ।’
धर्मेन्द्र-सुदर्शनहरु रुपान्तरण हुन नचाहेर गल्तीबाट बच्न पार्टीबाट भागेको नेता शितलको भनाइ थियो । नेता शितलले धर्मेन्द्र-सुदर्शनहरुले क्रान्ति गर्नलाई पार्टी फुटाएको नभएर पार्टीमा आर्थिक अराजकता लगायतका गल्ती गरेकाले कार्वाही परिन्छ भन्ने डरले छुट्टै झोला बोकेर हिडेकाले भुलबस, भ्रमवस उक्त पार्टीमा गएका इमानदार क्रान्तिकारी नेता-कार्यकर्ताहरुलाई पार्टीमा फर्किन अपिल समेत गरे । सोमबार सम्पन्न नेकपा दाङको ८ औँ पूर्ण बैठकले राष्ट्रघाती एमसीसी सम्झौता, एसपीपी सम्झौता, राष्ट्रघात, जनघात, चर्को महङ्गी लगायतका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले जिल्लाव्यापी प्रशिक्षण कार्यक्रम संचालन गर्ने जसअन्तर्गत असार ९ गते देउखुरी, असार १० गते घोराही र असार ११ गते तुलसीपुरमा प्रशिक्षण कार्यक्रम गर्ने जनाएको छ । यस्तै बैठकले असोज १ गतेदेखि काठमाडौंमा हुने पार्टीको नवौं महाधिवेशन केन्द्रित कार्यक्रम अन्तर्गत श्रावण महिनासम्म सेल कमिटी, वडा कमिटीका भेला सम्मेलनहरु गर्ने, भदौ ५ गतेसम्म पालिका सम्मेलन गर्ने, भदौ ६-१५ गतेसम्म जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।
बैठकमा नेकपा विशेष कमिटी सेक्रेटरी सुन्दर, सदस्य द्वय सम्झना र विक्रम, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन, केन्द्रीय सचिव तिलकको आतिथ्यता रहेको थियो । ८ औं पूर्ण बैठकको सञ्चालन तथा अध्यक्षता नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु