सडक खन्दा ऐतिहासिक सिक्का भेटियो

२०७९ असार ५ गते, आईतवार


काठमाडौं । सडक ट्रयाक खन्ने क्रममा दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरमा परम्परागत सिक्का भेटिएका छन् ।गोटीखोलाबाट सीमरामा सडकको नयाँ ट्रयाक खोल्ने क्रममा डोजर चालकले ती सिक्का भेट्टाएका थिए । त्यहाँ दुईवटा डोजरले सडक खनिरहेका थिए । सिक्का भेट्टाएपछि दुवै चालकले भागबण्डा गर्ने सहमति गरेका थिए । चालक सुवास चौधरी र राजन खड्काले त्यहाँ जेसिभी चलाएका थिए । उनीहरूमध्ये सुवासले सडक खन्ने क्रममा ती सिक्का भेट्टाएका थिए । तर सिक्का राजनले पनि आफ्नो भागमा पार्नुपर्ने माग गरेपछि सुवासले नदिँदा यो कुरा बाहिर आएको हो। त्यसपछि राजनले सम्बन्धित जग्गावालालाई जानकारी दिए । तुलसीपुर–४ रक्षाचौर निवासी शोभा भण्डारीको जग्गामा उक्त सिक्का भेटिएको हो । त्यसपछि जग्गाधनीले त्यहाँ सिक्का भेटिएको कुरा प्रहरीलाई जानकारी गराएका थिए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार ५३७ सिक्का भेटिएका छन् । तीमध्ये ७६ वटा एक रुपैयाँ लेखेका भारतीय सिक्का र ४६१ वटा श्री ३ लेखिएका नेपाली सिक्का रहेका छन् । ती सिक्का तुलसीपुर–१५ निवासी सुवासले घर लगेका थिए । सिक्का भेटिएको कुरा जग्गाधनीले प्रहरीलाई खबर गरेपछि प्रहरीले अनुसन्धान गर्दा सुवासकै घरमा लुकाइ राखेको अवस्थामा बरामद गरेको हो । अनुसन्धनकै क्रममा सातवटा सिक्टा घरमा भुइँमा खसेको अवस्थामा भेटिएपछि ती सिक्का खोजतलास गर्न सहज भएको थियो । सिक्कामा विसं १८०० तथा पृथ्वीनारायण शाह लेखिएको प्रहरीले बताएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । भेटिएका सिक्का सम्बन्धित निकायमा पठाउने प्रहरी निरीक्षक शाहीले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु