सुन्दर संसारको सपना देख्ने क्रान्तिकारी यायावर चे

२०७९ जेष्ठ ३१ गते, मंगलवार
लोकनारायण सुबेदी

अर्नेष्टो चे ग्वेभारा लिञ्च– यो लामो नाम नै आफैमा एउटा नमूनाको उदाहरण जस्तो छ । यो बिश्वब्यापी त छँदैछ, यसले एउटा मानबीय पहिचान दिन्छ । अर्नेष्टो मूल नाम हो, यो उनका हजुरबाको सम्मानमा राखिएको नाम हो । डन अर्नेष्टो चेका पिताको नाम । चेका पिताले क्यूवाली क्रान्तिका कालखण्डमा राखिदिएको नाम हो ‘चे’जसको अर्थ हुन्छ ‘प्रिय’ । हुन त क्यूबाली जनताले हरेक प्रिय चीज महसुश गर्नका लागि यो ‘चे’ शब्दको प्रयोग गर्ने गर्दछन् । ग्वेभारा शब्द चेलाई उनका पिताको तर्फबाट मिल्यो । अनि यस परिबारमा आमाको उपनामलाई पनि आफ्नो नामसँग जोडिने गर्दछ । चेका मावलाका हजुर बा लिञ्च समुदायका थिए । यसरी बनेको थियो पूरा नाम – अर्नेष्टो चे ग्वेभारा लिञ्च । उनको जन्म १४ जून १९२८ मा भएको थियो । उनका योगदानहरु अनेक र महत्वपूर्ण छन् । तीमध्ये केही कुरा मात्र यहाँ उल्लेख गरिएका छन्् ।
अर्जेण्टिनी मूलका यी क्यूबाली क्रान्तिकारीको नाम मुखमा आउनासाथ जुन छबी मनमा बन्दछ त्यो एउटा रिसाहा यूवाको छबि लाग्दछ । यद्यपि चेको पूरा जीवन एउटा रोमाञ्चकारी कबिता जस्तै रहेको छ । जसमा जीवनलाई महसुश गर्न सकिने सुनसान प्रकृतिको रहेको छ भने दुखान्त त्रासदीहरुको अन्तहीन शिलशिला जस्तोपनि । अनि संघर्षका बीचमा आफन्तहरुसँगका शान्तिका पलहरुपनि यसमा सामेल छन् । चेको यस बिबिधतापूर्ण जीवनलाई अनेक किसिमले चित्रित गर्ने गरिएको पाइन्छ र गर्न सकिन्छ पनि । तर यस सन्दर्भमा सबैभन्दा मजाको कुरा होला चेका बिरोधीहरुको उनका प्रतिको राय । कुनै ब्यक्तित्वलाई जान्न र बुझ्न एउटा राम्रो माध्यमा उसका बिपक्षीहरुको उसप्रतिको राय पनि हो । चेकाबारेमा यस प्रकारको रायहरु निकै अनौठो पनि छन् ।
क्यूबाको सफल क्रान्ति पछि चे ग्वेभारा क्यूबाली राष्ट्रिय बैंकको अध्यक्ष बनेका थिए । त्यस अबसरमा जुलाई १९६० मा अमेरिकी ‘न्यूज एण्ड वल्र्ड रिपोर्ट’ मा भनिएको थियो – ‘अर्नेष्टो चे ग्वेभारा नै क्याष्ट्रो सरकारका मस्तिष्क हुन् । ग्वेभारा क्यूबाली होइनन्, अर्जेण्टिनी हुन् । उनी स्वभावले कुनै भावुक ल्याटिन–अमेरिकी पनि होइनन् । तर ठण्डा मस्तिष्कले सोच बिचार गर्ने कम्युनिष्ट हुन् । यी ग्वेभारा फिडेल या राउल क्याष्ट्रो होइनन् । ग्वेभारा र उनका कम्युनिष्ट सहायकहरुकालागि क्यूबा मिशनको एक घटना मात्र हुन् र त्यो मिशनहो – ल्याटिन अमेरिकाका अधिकांश हिस्सामा कम्युनिष्ट सत्ता स्थापना गर्नका लागि क्यूबालाई एउटा किल्लाकोरुपमा बिकसित र खडा गर्नु’ ।
साम्राज्यबादका जुन प्रबक्ताले यी पंक्तिहरु लेखे उनलाई फेलिक्स ग्रीनले आफ्नो एउटा किताबमा ‘दुश्मन’भनेका छन् । यसको दोश्रो पक्ष के छ भने चेका घनघोर बिचारधारात्मक शत्रुहरु पनि उनीसँग प्रभावित थिए । चेमा आफ्ना बिरोधीहरुलाई आफ्नो प्रसंशाकालागि बाध्य तुल्याउने गुण थियो । चेको जीवन यसै कुराको उदाहरण हो कि एउटा ब्यक्ति जो सारा बिश्वकै शोषित पीडित जनताको मुक्तिको क्रान्तिकारी संघर्षमा होमिएको र जुधिरहेको छ कसरी जनताका शत्रुहरुबाट पनि मान्यता र आदर हासिल गर्न सक्तछ । यो आदर सम्मान हमेशकालागि कायम रहन्छ र यस कारण चेको स्मृति क्रान्तिकारी मनहरुमा चीर स्थायी जस्तै बन्छ ।
यहाँ के उल्लेख गरिनु आबश्यक लाग्दछ भने ८ अक्टोबर १९६७ मा छापामार र बोलिभियाको सैनिक टुकुडीका बीच घमसान लडाई चल्यो । चे गम्भीररुपमा घाइते भए । उनलाई बन्दी बनाइयो । सैनिक कमाण्डर पराडो सालमनले चेलाई तुरुन्तै चिनिहाल्यो । उसले सन्देश पठायो ‘५०० केसाण्डो’ यो कोडको अर्थ थियो ‘चेलाई पक्राउ गरियो’ । उनलाई कडा सुरक्षा र निगरानीकासाथ हीग्वेरा पठाइयो । बिहान हुने बित्तिकै बोलेभियाका ठूला सैनिक हस्तिहरु र अमेरिकी गुप्तचर संस्था सीआईएका एजेण्टहरु हिग्वेरा पुगिसकेका थिए ।


तीमध्येका एकजना एजेण्ट डा. गोञ्जालेजे चेसँग सोधे – तिमी के सोचिरहेका छौ ? । चेले मजाले उत्तर दिए – ‘म क्रान्तिको अमरत्वकाबारेमा सोचिरहेको छु’ । वास्तवमा यी चेका अन्तिम शब्दहरु थिए । चेका यी अन्तिम शब्दकासाथ क्यूबा आजको एउटा उदाहरण बनेर रहेको छ बिश्वका हर क्रान्तिकारीकालागि । क्यूबामा क्रान्तिको जुन बाटो तय गरियो त्यो बिश्वका अरु मुलुकहरुकालागि सही छ कि गलत?भौगोलिकरुपले ठूला देशहरुकाक्रान्तिकाअवधारणा क्यूबा जस्ता साना देशबाट उदाहरण बन्न सक्तैनन् ? अनि क्यूवाको क्रान्ति जुन परिस्थितिमा घटित भयो त्यसलाई सारा संसारले आधा शताब्दी पछाडि छोडेर आएको हो ?
यी सारा प्रश्नहरु आफ्नो ठाउँमा सही हुन सक्छन् र यी पनि सत्यताको एउटा प्रभावकारी पक्ष हुन सक्छन् कि हिंसारहित क्रान्तिहरु प्नि कुनै बेला आफैमा एउटा अनौठो उदाहरण बन्न पनि सक्लान् ? । तर आज जुन ब्यक्तित्वका बारेमा हामी कुरा गरिरहेका छौं उनी यस्ता प्रश्नहरुसँग सारा जीवनभर जुधिरहे र लगातार त्यसको जबाफ पनि दिदै रहे । उनले हिंसाको बाटो अख्तियार गरेका थिए । तर त्यसको चयन अनायास गरेका थिएनन् । अर्नेष्टो चे ग्वेभारा लिञ्चको जीवनको आरम्भिक हिस्सा यसको साक्षी रहेको छ ।
यस्ता ब्यक्तिको मनमा आफ्ना जनताप्रति जीवन्तताको महसुश र तिनको मुक्तिको निम्ति सफलताको कामना रहनु, हुनु कुनै अनौठो कुरा भएन । चेको मनमा यही आकांक्षा उनको यूवा अबस्थादेखि नै थियो नै । यद्यपि चेले आफु स्वयंले आफ्नी पूर्ब प्रेमिकालाई लेखेको एउटा पत्रमा स्वीकारेका छन् कि शुरु शुरुमा उनी केवल एउटा जोखिम उठाउन तत्पर हुने ब्यक्तिबादी यूवा थिए । फिडेल क्याष्ट्रोले चेलाई बदलिदिए । उनलाई महान उदेश्य दिए । जुन उदेश्यले अर्नेष्टो चेलाई परिबर्तन गरिदियो । चेको सम्पूर्ण जीवन रहस्यमय जस्तो लाग्दछ र उनकाबारेमा कयौ किसिमका हल्लाहरु प्नि लगातार फैलिदै फैलाइदै रहे, खाशगरी अमेरिकी पूँजीवादी पिछलग्गुहरुको तर्फबाट ।
चेकाबारेमा यो झूटो कुरा लगातार गरिदै रह्यो कि उनी भावुक छैनन् । चेले यो कुरा कयौं पटक भनेर होइन, गरेर झूटो साबित पनि गरिदिए । उनी आफ्ना मित्रहरु, परिचितहरु, परिबार र खाशगरी बालबच्चाहरुकाप्रति गहिरो समवेदना राख्ने गर्दथे १९६० मा चेले आफ्ना अर्जेण्टिाइनी मित्र अल्बर्टो, जोसँग चेले पूरै ल्याटिन अमेरिकाको मोटरसाइकल यात्रा गरेका थिए, सँग भनेका थिए ः ‘म यहाँ आरामसँग बसेको छु, मेरा मित्रहरु बोलिभिया समेत अन्य स्थानहरुमा मेरा गुरिल्ला प्रयोगलाई गलत तरीकाले लागु गर्दै मरिरहेका छन्’ । स्पष्ट छ कि चे गुरिल्ला युद्धको योजनालाई न्यूनतम हिंसाकारुपमा देख्ने गर्दथे ।
साम्राज्यबादका बिरुद्ध सारा संसारमा चलिरहेका आन्दोनलहरुको एकजुटताका लागि सघन यात्रा गरिसकेपछि चे १४ मार्च १९६५ का दिन क्यूवाको राजधानी हवाना फर्किए । त्यसपछि सार्वजनिकरुपले कतै देखा परेनन् । झण्डै एक महिना पछि फिडेल क्याष्ट्रोले यस बारेका केवल यत्ति कुरा भने कि उनी हर हमेशा त्यही ठाउँमा रहन्छन् जहाँ क्रान्तिका लागि उनको सबैभन्दा बढी आवश्यकता पर्दछ र लाभदायक हुन्छ । यसबाट कुनतथ्य स्पष्टसँग उजागर हुन्छ भने चे क्यूबामा रहेका छ्रैनन् ।तर कहाँ छन् त ? यस प्रश्नको उत्तर पूँजीवादी समाचारपत्रहरुले बेग्ला बेग्लै किसिमले दिइरहेका थिए ।
चेले क्यूवा यसकारणले छोडे किनकि उनी हतियारबन्द बनेर साम्राज्यबादहरुका बिरुद्ध संघर्ष गर्न चाहन्थे । यसलाई उनी आफ्नो सर्बोच्च कत्र्तब्य मान्दथे । १९५७मा चे एक अपरिचित अर्जेण्टिनी डक्टर थिए, जो परिस्थितिबश मेक्सिकोमा पुगेका थिए । फिडेल क्याष्ट्रोको नेतृत्वमा सक्रिय क्रान्तिकारीहरुसँग उनको भेट भएको थियो । १९६५ चे बिजयी क्यूबाका एकजना प्रमुख नेता र क्रान्तिकारी सरकारका एक महत्वपूर्ण हस्ति बनेका थिए । त्यहाँबाट अब नया ँक्रान्तिकारी क्रिया–कलापको खोजीमा उनी क्यूबा छोडेर अचानक बाहिर गए । अझ राम्रो र सुन्दर संसारको सपना देख्ने गरेका यी यायाबर नोभेम्बर १९६६को पहिलो सातामा छद्म नामबाट बोलिभिया पुगे र त्यहाँ एउटा स्थानमा छापामार आन्दोलनको अखडा स्थापित गरे ।
चे आज यो संसारमा हुन्थे भने शायद अहिले पनि यही कुरालाई निरन्तरता दिइरहेका हुन्थे । अपेक्षा के गरिनु पर्दछ भने सर्बहारा बर्गका जनताका पक्षमा खडा भएका प्रगतिशील, जनबादी समुदायलाई यो कुरा सम्झना हुनु पर्दछ कि उसले सच्चा सर्बहारा अन्तर्राष्ट्रियताबादतर्फ आफ्नो कदम अझ दृढताकासाथ बढाउने छ । यही नै चेकालागि साच्चो अर्थमा क्रान्तिकारी अभिबादन पनि हुनसक्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु